अस्ट्रेलियामा संघर्षका कथाहरु ! “पेट्रोलपम्पको कथा”

“ल भाई! मेरो चिनेको भाईलाई भन्देको छु, फोन गर्छ होला, यदि गरेन भने मैले दिएको नम्बरमा मेसेज गर्नु” भनेर घरबेटी दाईले भने। “काम चाहिँ पेट्रोल पम्पमा कस्टमर सर्भीस हो, सकिहाल्छौ होला, तर अलिक टाढा छ, हिंडेर आधी घण्टा होला, तर बसमा त ५ मिनेट मात्र हो” भनेर दाईले भन्दै गर्दा भाउजुले शंका ब्यक्त गरिन: “के साँच्चि त्यो भाईले काम देला त? सबै शिफ्ट प्याकड़ होला, कसको शिफ्ट काटेर देला र”? तर दाई ढुक्क देखिए, “होईन, मैले भनेपछि दिन्छ, मैले आफैले आफ्नो शिफ्ट काटेर त्यसलाई दिएको हो, मेरो लागि त त्यसले यत्ति नगर्ला र”?

मैले दाईको सदाशयतालाई हृदय देखी नै नमन गरें, म ढुक्क भएँ। सन २०१५ को कुरो, अस्ट्रेलिया आईपुगेको एक हप्तापनि पुगेको थिएन। काम पाएमा घण्टाको त्यस्तै १६ हो कि १७ डलर थियो। आएको १ हप्तामैं काम शुरू गर्न सकियो भनें त, यूनिभर्सिटीको फि तिर्न सकिएला कि भनेर मनमनै गुन्दै, १ सेमेस्टरको जम्मा ‘फि’ लाई जम्मा हप्ताले भाग गरेर हप्तामा कमाउनै पर्ने रकम कति हुने रैछ भनेर मनमनै हिसाब गरें। विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टाको दरले हिसाब गर्दा पनि, फि तिर्न अझै ७-८ हजार अपुग देखियो, तैपनी म काम पाउने खुसीले पुलकित थिएँ।


बेलूकी सम्म कुरें, कुनै फोन आएन। काम पाउने शतप्रतिशत पक्का भएकाले गमट्री (काम खोज्न प्रयोग हुने वेबसाइट/एप) हेर्न पनि छोडिसकेको थिएँ। काम पछिको अर्को मुख्य कुरा भनेेको रूम थियो। म त कामको सट्टामा रूम खोजिरहेको थिएँ ।

मनमनै रमाईरहेको थिएँ, काम पाउन गारहो हुन्छ भंथे तर खै! मलाई त धेरै कुरनुनै परेन भनेर मक्ख थिएँ। बेलूकीतिर सिडनीमा यसो भर्खरै चिनजान भएका अर्का एक दाईलाई मैले काम पाएको भनेर सुनाएँ। दाई खुसी भएर बधाई देलान सोचेको त दाईको भावभंगिमा हठात परिवर्तन पो देखियो, साउतीको स्वरमा उनले हप्काए: “कहाँ भाई, यसरी काम पाएको क़ुरा अरुलाई सुनाउनु हुन्न नि, यहाँ त अरूले तपाईले काम पाएको सुने पछि “काम नपावोस” भनेर प्रार्थना पो गर्न सक्छन भाई”! म त छक्क परें, छक्क भन्दापनि मलाई त निकै डर लाग्यो, एकैचोटी मेरो पढ़ाई को १ सेमेस्टर को फि १५,८०० धरापमा परे जस्तो लाग्यो।

तैपनी यस्ता बकम्फुसे र अन्धविश्वासका क़ुरा देखी डराउँदीन भनेर मन दरिलो बनाएँ। दाईले अझै सोधे, “भाई तपाईंलाई कामको कुरो गर्दा अरु कोही पनि नजिक थियो कि एक्लै हुनुहुन्थ्यो?” मैले संकेत बुझिसकेको थिएँ, त्यसैले कोही थिएनन दाई भनेर भनें।

बिहान भयो, कुनै फोन आएन, ठुलो आशाका साथ, घरबेटी दाईले दिएको नम्बरमा मेसेज गरें, अँग्रेजीमा! नम्बर दिनेको नाम र काम दिलाइदिन अनुनय सहित!
भोलिपल्ट बिहान भयो, मेसेजको रिप्लाई आयो, “हाललाई काम नभएको” बेहोरा सहितको ! मलाई १५,८०० भोल्टको झड़का लाग्यो, करेन्टको झड़काले मान्छे ढलाउँछ तर यो झड़काले मलाई दर्होग़री उभ्यायो। अस्ट्रेलियाका संघर्षका कथाहरु मध्ये यो पहिलो झड़का थियो, जसले पछि खानुपर्ने अनेकौं हन्डरहरुका निम्ति ऊर्जा दिएको थियो।

अन्त्यमा, यस्ता थुप्रै कथाहरुको भुक्तभोगी भइसकेपछि आज पनि म रनभुल्लमा छु कि “के सांच्ची नै ति घरबेटी दाईले पेट्रोलपम्प को म्यानेजरलाई मेरो निम्ति काम भनिदिएका थिए त?” या त केवल औपचारिकता मात्र पूरा गरेका थिए, जुन अक्सर यहाँ हुने गर्छ। वा कतै अर्का दाई ले भनेझैँ भित्ताका पनि कान थिए, जसले मेरो काम चोरे!

अब त यस्ता क़ुरा नयाँ लाग्दैनन यहाँ !

अस्तु !!

-सुखलाल

१३ सेप्टेम्बर २०२१

एन्जोय फुटबल , रेस्पेक्ट अल !”अ ब्युटिफुल गेम अन अर्थ”

-अशोक शर्मा, सिडनी

कोरोनाको कहरबीच प्रतियोगिता होला-नहोला भन्ने दुबिधा भैरहेको बेलामा साबिकको आयोजक अर्जेंटीनाले आयोजकबाट हात झिकेर निराश भएका फुटबल प्रेमिहरुलाई ब्राजीलले आयोजना गर्नेभएपछि निकै हर्षित बनाएको थियो। अन्ततः विश्वकप फुटबल प्रतियोगिताभन्दा पनि निकै लामो ईतिहास भएको कोपा अमेरिका फूटबल प्रतियोगिता सकिएको छ। निकै नै लामो समयको प्रतीक्षा पछि अर्जेन्टीना र लियोनल मेस्सीका प्रसंशकहरुमा खुशियाली संगै राहत पनि भएको छ। राहत यस कारण कि यो पुस्ताका दुई उत्कृष्ट खेलाडी रोनाल्डो र मेस्सी मध्ये रोनाल्डोले पहिले नै आफ्नो देश पोर्चुगलको तर्फबाट युरोकप जितिसकेका थिए भने मेस्सी ले सिनिएर खेल तर्फ आफ्नो देश अर्जेन्टिना बाट धेरै पटक फाइनल पुगेर पनि असफल भएका थिए। यी दुईमध्ये को महान खेलाडी भन्ने होडबाजीमा मेस्सी समर्थकलाई सोही उपलब्धिको आधारमा रोनाल्डो समर्थक द्वारा होच्याउने गरिएको थियो । अबउप्रान्त, यो कुरामा चाहिँ पूर्णविराम लागेको छ।

ब्यक्तिगत रुपमा भन्नुपर्दा, म यी दुबै महान खेलाडी लाई मन पराउछु, किनकी फुटबल खेल मेरो (धेरैको जस्तै) सानै देखिको प्यारो अनि आत्मिय खेल हो । पोर्चुगल युरोकपमा फ्रान्स विरुद्ध फाइनल खेल्दा, पोर्चुगलले जितोस भन्ने कामना मैले पनि गरेको थिएँ र पोर्चुगलले जित्यो पनि, सबै रोनाल्डो समर्थक सङ्गै म फुटबल प्रेमी पनि खुशी भएको थिएँ । तेस्तै आज म अर्जेन्टिना ले जित्दा मेस्सिको लागि खुशी भएँ। 
मेरो बिचारमा यी दुई समकालीन फुटबलका अब्बल खेलाडिहरुले आफ्नो देशबाट ठूलो प्रतियोगिता जित्नु भनेको फुटबल खेलकै जित हुनु हो।
अब कुरा गरौं केही सामाजिक सन्जाल मा ब्यक्त गरिएका कुराहरु । मेरा मनपर्ने साहित्यकार मध्यका एक बुद्धिसागर दाइको फेसबुक पेजमा देखेको केही पङ्क्तिहरु  :


खेलाडिको भागमा सबै खेल लेखिएको हुँदैन ।
र, सबै खेलको भाग्यमा मेस्सी लेखिएको हुँदैन ।।

कति मिठो प्रसंसा अनि सद्भाव झल्किन्छ उक्त पंक्तिहरुमा। उहाँ मेस्सिको ठूलो प्रसंसक हो भनेर जो कोहिले पनि बुझ्न सक्छ।
तेसैगरी सङ्गितकार/गायक काली प्रसाद बास्कोटाज्यु को फेसबुक पेजमा उहाँले मेस्सिले ट्रफी उचालेको भिडियो सेयर गर्दै बुद्धिसागर दाईलाई Mention पनि गर्नुभएको थियो।
यस्ता थुप्रै प्रसंसक हुनुहुन्छ तर उहाँहरु मेरो मनपर्ने अनि फेसबुकमा देखेर राखेको हु।
उहाँहरुले मेस्सी मनपर्ने भएर आफ्नो खुशी सङ्गै मेस्सिको तारिफ गर्नुभएको हो। तर बुझ्नुपर्ने कुरा के भने, यसमा रोनाल्डो अर्थात अरु कुनै खेलाडी प्रती नकारात्मकता अथवा घृणा छैन तैपनी बुझ्नेहरुले धेरै बुझ्दिन्छन पक्कै पनि ।
जस्तै: एउटा साबुनको बिज्ञापन गर्दा, तेसमा अर्को साबुनलाइ नराम्रो भन्न पाइदैन । पाइन्छ त केबल आफ्नो साबुनको सकेजती तारिफ गर्न।
त्यसैले आफुलाइ मेस्सी वा रोनाल्डो जो मनपर्छ खुलेर तारिफ गरौं तर अर्कोलाइ पनि सम्मान गरौं ।
आज यो लेख्दा कोपा अमेरिका को फाइनल भएर मैले मेस्सी लाई केन्द्रमा राखेको जस्तो लाग्न सक्छ। तर म के भन्न सक्छु भने, रोनाल्डो मात्र हैन पाएको मौकामा मेस्सिका फ्यानहरुले पनि खेदो खन्न छोड्दैनन।यसको मतलब सबै प्रशंसक त्यस्तै हुन्छ भन्न खोजेको होईन।
फुटबल जस्तो सन्सारमै धेरैको लोकप्रिय खेल, मनपराउने हामिजस्ता दर्शकहरुलाइ त एति मनपर्छ भने, एकपटक सोच्नुस मेस्सी/रोनाल्डो जस्ता थुप्रै खेलाडिहरु जसले आफ्नो सारा जीवन नै फुटबललाई दिएका हुन्छन । उनिहरुलाइ अझैकती माया अनि सद्भाव/लगाब होला यो खेलप्रती ।

फुटबल खेललाइ घृणा हैन, माया अनि सदभाबको खेल बनाउने काम गरौं । आउनुहोस सबै खेलाडिहरुलाई सम्मान गरौं , जसले गर्दा यो खेल यति रोमान्चक भएको छ ।
एन्जोइ फुटबल , रेस्पेक्ट अल ।अ ब्युटिफुल गेम अन अर्थ ।

१४ जुलाई २०२१ 

ला लतक !!

बल राज भाट, कैलाली, नेपाल १ जुन , २०२१ 

उल्टो जोते पनि हुन्छ,सुल्टो जोते पनि हुन्छ

तान पलास्टिक्को छ्डकी तनक्क, अनि ला लतक

लाटा छ्न यी गोरु ,भेडो छ यिनको रिथी

घुमा छालाको चप्का तनक्क,अनि ला लतक।।

खुवाउनु छैन तैले, बचाउनु छैन मैले

गड्या फलामे हलो गडक्क ,अनि ला लतक

खेत जोतिए भैगो,अन्न फले भैगो हाम्रो

चढ मइ का डाडामा मचक्क,अनि ला लतक।

मागेर जोत्नु पाइने,हल गोरु पाए पछि

पटेला ले मार डल्ला पुचुक्क,अनि ला लतक

अर्को पल्ट पाइने हैन यस्ता गोरु कुदाउन

बाहा फर्काइ जोत खसक्क,अनि ला लतक।

बाझो रह्य अर्का बर्ष बाल मतलब नमान

यसै बर्ष फलन्या गरि भसक्क,अनि ला लतक।

आउदैन पालो फर्केर उधारो खान पाउनेको

बसा तिनलाई ठसक्क, अनि ला लतक।।ल

नेता र बजेट

बल राज भाट, कैलाली, नेपाल मे ३०, २०२१ 

नेता र बजेटछोराछोरी जे पो गरून् छैन प दरकार,

वृद्धभत्ता लागू गर्ने मनमोहन सरकार ।

मैले बाढ्या भनी कन भुँडी घसाड्डा छन् ।

भोट पाउला भनी कन कुडा पसाड्डा छन

रिन गाडी बिदेश बाट कनिका छड्डाछन

तल्ला मुल्ला प्रभुका ती गोडामा पड्डाछ्न।

जनतालाई बिस्वासै छैन बात मात्रै हरन्याको।

लोकतन्त्र भनिकन ढुकुटी भरन्याको।।

जै देश समुन्द्र छैन जहाज चलाउनलाइ

कम्पनी खोल्याका यिन्ले झोले रिझाउनलाइ

त्यति रुप्या किन फाल्यो रेलको बाटो खोल्न्या

गाडी खसी मान्छे मद्दा छैन कोहि बोल्न्या।।

बर्ष बर्ष टालो हाल्ला खाल्टा पुरन्या भनी

जनता मद्दा ठोक्की कन पुरन्या हुनो धनी।।

काम गर्न्यालाइ कर लगाइ ठसक्क माद्दा छ्न।

आफ्नाइ मान्छे खोजि खोजी अगाडी साद्दाछ्न।

गरीबका छोरा छोरी खाडी बाइग्या भागी

कति त युद्धमा मर्या यिनका साथ लागि।

निका ले देश छोडी बाइग्या ,सराप लागिजाउ

फुच्रा कन फाल्न जनता एकपल्ट जागिजाउ।।

पिकनिक र त्यो थाली

उज्ज्वल भाट WI, USA, ३ जुलाई २०२१

धूमिल सपनाझैँ लाग्ने त्यो बसन्त ऋतुको कुनै घमाईलो दिन, खै कुन खुसियाली थियो या कुनै कार्यक्रम तर मलाई धमिलो सम्झना छ त्यो प्लास्टिकको मसिनो डोरीवाला झोला ढाडमा भिरेर धूलोमैं लटपटिदै बयस्कहरुको टोलीमा टुकुर टुकुर बनभोज खान हिंडेको।

बनभोज खाने टोली थियो, अरुणोदय मा.वि. (त्यतिखेर मा.वि. भइसकेको थिएन) का शिक्षक र विद्यार्थीहरुको। शायद, कुनै छुट्टीको समय हुनुपर्छ, स्कूलको बनभोज खाने टोलीमा म आफ्नो प्रिय सुर्कने झोलामा, एउटा स्टीलको थाल, अलिकति चामल र दाल लिएर छतीवन तर्फ जादैं थिएँ।

डनलपमा टेपरिकार्डर घनकाईएको थियो, पुरै टोली नाचगान गर्दै, जंगलभित्रको डनलपले बनाएको लिकवाला बाटोमा धूलो उड़ाऊँदै छतिवन तर्फ लाग्यो। अहिले सम्झन पनि निकै सकस हुन्छ, शायद म त्यस्तै ५ बर्षजतिको मात्र भएको हुनाले पनि होला, हाम्रो टोली जमरा तरेर छतिवन प्रबेश गर्दा, मैले कसरी जमरा, रानी कुलो र अरु २-३ खोलाहरु तरें मलाई याद छैन। फाल्गुनको महिना हुनुपर्छ नदीमा पानी बढ़िसकेको थिएन, त्यसैले शायद, डनलपमा चढ़ें या कसैले मलाई बोक्यो।

पिकनिक शुरू भयो, जंगलको बीचमा एउटा सानो पोखरी जस्तो भएको ठाउँको नजिक चूल्हो तयार भयो। वरिपरि सिसौ र खयरका रुखहरु अनि बयरका झाड़ीहरु थिए भने बीचमा सानो मैदान अनि पोखरी थियो। टोलीमा अरुणोदय मा. वि. का आदरणीय शिक्षकहरु कर्ण ब. थापा सर, रेग्मी सर, मण्डल सर, सिद्दीकी सर लगायत अरु पनि हुनुहुन्थ्यो। सिनियर विद्यार्थीहरु मध्येबाट कर्ण ब. बम दाजु र शान्ति होटलकी छोरी नन्दकला दिदी मात्र मलाई याद छ। नाचगान भयो, थापासरको क्यामेरा पनि थियो, फोटो खिच्दाको त्यो खिचिक्क आवाज र त्यो फ्ल्यास लाईटको चम्किलो प्रकाश हेरीरहूँ जस्तो लाग्ने समय थियो।

फोटो: कर्ण ब. थापा
छतिवनमा पिकनिक अरुणोदय मा .वि.का शिक्षक विद्यार्थीको-२०३६ साल फागुन ८ , प्र अ.गगन सिँह थापाको राजिनामा पछिका प्र.अ . महेन्द्र मन्डल , खड्ग के.सी ,मोहम्मद सिद्दिक हुसेन र म (कर्ण ब. थापा)।महेन्द्र मन्डल र म बक्सिङ को पोजमा।धुमिल छाया मात्रा।क्यामरा-अग्फा।

कर्ण बम दाजु निकै चलता-फिर्ता हुनुहुन्थ्यो, हीरो हुनुहुन्थ्यो त्यो टोलीको। उनै, बम दाजुले त्यहीं एउटा कछुवा पनि पक्रनु भयो, नदीमा हो कि पोखरीमा हो, मलाई त्यो याद छैन, तर कछुवा पकड़ेपछि ताली र होहल्ला को हूटिंगले जंगल थर्कमान भयो। जेहोस, कछुवाको मासु पनि पिकनिकमा खाईयो। बसन्तको आगमनको स्वागतार्थ सिसम (सिसौ)का रुखहरुले नयाँ हरिया पालुवा फेर्दै थिए भने, बिभिन्न फूल र बिरुवाहरुले फेर्न लागेका कलिला मुनाहरु बाट निस्केको बास्नाले रंगमंगगिएको जंगललाई कोईलीको कुहु-कुहुले अझै बहार भरेको थियो। खानपीन सकिएपछि, भांडा-कुंडा सफा गरिसकेपछि, त्यहाँ एकछिन सरहरुको दोहोरी चल्यो, टेपरिकार्डरको गीतमा नाचगान पनि चल्यो, हँसि मजाक भयो, तर म बबुरोलाई यी सबको आनन्ददायक  रसस्वादन कसरी गर्ने थाहै थिएन। म त केवल भुइँमा बसेर सब हेरीरहेको थिएँ, मलाई कसैको चासो थिएन नै र कसैलाई मेरो चासो पनि थिएन होला, सब आफ्नै धूनमा मस्त थियौं।

बिस्तारै, छायाँहरु लामा हुँदै आए, बिहान चर्न हिँडेका गाईगोरु गाउँतिर फ़र्कन थाले, हाम्रो टोलीले पनि घर फर्कने सुर-सार कस्यो। भांडा-कुंडा लगायत अन्य सामग्रीहरु डनलपमा लोड गरियो, र फर्कने बेलामा टोली कटाँसे बजार हुँदै जाने भयो। यही क्रममा एउटा घटना घट्यो, जुन आज पर्यन्त मेरो मस्तिष्कमा डेरा जमाईरहेको छ। त्यो पल संझदा म अझै पनि हांसौं या बिस्मित होऊँ, केहि भेउ पाउन सक्दिन।

घटना तब घट्यो, जब टोली अनुशासित ढंगले धूलो उडाउँदै, उहि रौनकताका साथ फर्किरहेको थियो, अचानक टेपरिकार्डर बन्द भयो, अनि आयो नन्दकला दिदीको चर्को आवाज: “मेरो थाल साँटियो, खोज्नु पर्यो”। टोलीको बीचमा धूलोभित्र एकसुरले हिंडीरहेको, सानु, नबडेको गाण्टे म, नन्दकला दिदीको आवाजले एकछिन त झंसँग भएँ, तर म ढुकक थिएँ कि मेरो झोलाभित्र मेरै थाली छ।
थाल साटिएको पक्का भएपछि पूरा पिकनिक टोली गोलो घेरा लगाएर बस्यो, नन्दकला दीदीले एकएक ग़री सबको झोला खोलेर चेक गर्न थालिन। म पनि मेरो पालो कुर्दै बसिरहेको थिएँ, मेरो पालो पनि आयो, तर खै के भएर हो, दिदिले मेरो झोला चेक नगरी अर्को मान्छेको झोला चेक गर्न गईन। सबैको चेक भयो, अहँ थाली भेटीएन। मेरो मनमा ढ़यांगरो बज्न थाल्यो, यसो अलिक पर गएर, बिस्तारै झोला खोलेर यसो हेर्छु त, मेरो जस्तै थाली तर थालीमा ‘बिष्णु’ लेखेको रैछ। लौन, यो त हाम्रो थाली त होईन, उता हेर्छु: नन्दकला दीदी हाम्रै थाली हातमा नचाउँदै, मेरो ‘बिष्णु’ लेखेको थाली साटियो भन्दैछिन। ए, आमा हौ, यो के भयो, मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो। अब, बित्यास पर्ने भयो, मेरो बाल दिमागले केहि सोचनै सकेन, अब त मलाई चोर बाँची (दोष) लाउँछन भन्ने लाग्यो। मलाई के गरुं-के गरुं भयो, फेरि मलाई कसैले चेक पनि गर्ने होईन, सोधेको पनि होईन, मलाई त डरले पिसाब आउला जस्तो भयो। धूईंपत्ताल खोजी भयो, होहल्ला मच्चियो, तर थाली भेटिएन, भेटिने कुरै थिएन, थाली त मसँग थियो।

म असमञ्जस अवस्थामा उभीरहें, मलाई कसैले सोध्दा पनि सोधेन, मैले भन्दा पनि भनिन, म डरले थुरथुर कामदै चुपचाप उभीरहें। केहि समयको गल्फत्ति पछि, थाली नभेटिने निश्चित भयो। अहिलेको भाषामा भन्ने हो भने थाली साटिएको घटना Unsolved Mysteries जस्तै भयो। बनभोज टोली फर्कियो, कटाँसे बजारको बाटो हुँदै, उहि पुरानै भावभंगीमा गीत घनकाउँदै- धूलो उडाउँदै, मग्नमस्त भएर। पिकनिक सकियो, म घर आईपुगें, बास्तवमा म बाँचेर आएं, चोर हुनबाट बाँचेर।

साँझपख आमाले पत्ता लाउनुभयो कि, यो थाली त हाम्रो होईन, हाम्रो थाली त बाक्लो थियो, यो त निकै पातलो छ। मलाई केरकार गर्न थालियो, अनुसन्धानको क्रममा बुवाले थप सुराक पत्ता लगाउनु भयो, “थालीमा ‘बिष्णु’ लेखेको छ, यो कसको थाली साँटेर ल्याईस”? म चुईंक्क बोलिन। भलै पातलो भएपनि थालीको सट्टा थाली नै आएको हुनाले ममाथि थप कारबाही त भएन तर केहि बर्ष बितेपछि बिस्तारै मैले त्यो घटना बर्णन गर्न थालें। तर, आज सम्म पनि मैले यो बुझिन कि त्यो दिन म किन डराएं हुँला? जबकि, मेरो थाली नन्दकला दीदीको हातमा थियो र दीदीको थाली मेरो झोलामा। मलाई, चोर दोष लाउँछन भन्ने यत्ति डर थियो की अब त मेरो नाम नै चोर राखिन्छ होला भन्नेसम्म मैले सोंचेको थिएँ। अहिले सम्झदा हाँसो लागेर आउँछ, पछि ठुलो भएपछि नन्दकला दिदीलाई पनि त्यो घटना सुनाएँ, दिदीले त मलाई त्यो पिकनिकमा याद नै गर्नुभएको रहेनछ। तिमि निकै सानो थियौ, तिम्रो त हामीलाई केहि यादै थिएन भन्नुभयो।

झन्डै, आज ४० बर्षपछि आदरणीय कर्ण ब. थापा सरले त्यो पिकनिकको बेला खिचेको फ़ोटो फेसबुकमा राख्नुभयो, अनि यादहरु सररर रिवाइन्ड भएर आए। अरुहरुको लागि त त्यो सामान्य पिकनिक थियो होला, केहि त्यस्तो उल्लेखनीय यादहरु पनि छैनन होलान। तर, मेरो लागि त्यो २०३६ साल फाल्गुन ८ गतेको पिकनिक सदैव स्मरणीय रह्यो, र त्यो ‘बिष्णु’ लेखेको थाली पनि।

धन्यबाद ।

रेडियोमा फुटबल कमेन्ट्री सुन्दाका ति दिनहरु !

तिनताक, सारा गाउँमैं टीभी थिएन, बिजुलीनै थिएन त टीभी कसरी हुने? तदनुसार, १९९७ तिरको कुरो, बर्खाको समय थियो, धान रोपीसकिएको थियो, स्कूल पनि बिदा थियो क्यारे ! हंगकंगलाई चाईनाले फिर्ता लिईसकिएको थिएन, म त्यतिबेला ७ मा पढथें, फुटबलमा रुचि हुनुका साथै, फुटबल संबधि जानकारीहरुमा राम्रै चासो जागिसकेको थियो।

तराई तिर, धान रोपीसके पछि किसानको लागि गर्नुपर्ने खासै धेरै काम हुदैनन, त्यही हो धान बढ्दै गएको हेर्ने, धानको खेतमा पानी लगाउने, कुलो सफा गर्ने, अनि राँगा चराउन बन जाने !

यस्तै, बरखे मौसमको घमाइलो दिनमा काठमांडू मा आयोजना भैरहेको SAAF Football Championship को पहिलो म्याच रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने भयो। त्यस्तै, बेलूकी 3-4 बजे तिरको समयमा म्याच थियो। समय त प्रसस्त थियो, अब घरमैं कमैया भएका हुनाले काम त केहि गर्नुपरथेन, तैपनी कामनै गर्नुपर्ने ग़री म ठुलो भइसकेको पनि थिइन। सबै क़ुरा त मिल्यो तर रेडियोको जुगाड़मा अलिक सोच्नुपर्ने भयो। बाजेको रेडियो सुन्ने बिचार थियो, तर समाचार, बिबिसि र अन्य समाचारमूलक कार्यक्रम बाहेक अन्य कार्यक्रम झुक्केर पनि नसुन्ने बाजेले फुटबलको लाईभ कमेन्ट्री सुनलान र म पनि सुंनुला भन्ने सोच्नु कल्पनाभन्दा बाहिरको कुरो थियो। कहिलेकाहीं, बाजे आफ्नै सुरमा केहि कर्ममा ब्यस्त भएको बेला, रेडियोमा कुनै गीत-संगीत वाला कार्यक्रम बजीरहेको छ भने पनि, हामी रेडियो नजिक पुग्नासाथ रेडियो बन्द गरीदिने बाजेको बानी थियो।
तर मलाई फुटबल सुन्नु थियो। संयोगबश, बाजेको त्यो दिन दिउँसो कतै जाने काम परेछ, रेडियो सुन्न त पाइने भयो तर मामला गड़बड़ कहाँ हुन्छ भने, बाजे चाहिँ कतै जाने बेलामा रेडियो दराज भित्र राखेर ताला ठोकेर जाने ! तर, कसो-कसो बाजेको आँखा छलेर दराजभित्र राखिसकेको रेडियो निकालेर खाट मुनि लुकाई चाबी जस्ताको त्यस्तै बाजेको कोटको खलतीमा राखिदिएँ !

केहि छिनमा बाजे पुरै ठगलाईफ वाला स्टाइलमा रेडियो कसैले सुन्न नपाउने भए भन्ने सोचेर गए। तर, बाजे जाने बित्तिकै मैले महा-ठग लाईफ स्टाइलमा रेडियो निकालेर फुटबल सुन्न बसें।

केहिबेरमा फुटबल सुरु भयो, नेपाल र पाकिस्तान को बीच लीगचरणको पहिलो म्याच थियो। दीपक अमात्य, देवनारायण चौधरी, हरि खड्का, बालगोपाल महर्जन, राजू पुलामी, उपेन्द्रमान सिंह जस्ता स्टार खेलाड़ीले भरिएको टीमले स्वाभाविकत: पाकिस्तानी टिमलाई पुरै दबाबमा राखेर खेल्यो।

कमेन्ट्री दशरथ रंगशालाबाट स्व. पाण्डव सुनुवारले गरिरहेका थिए, नेपालले बल अगाडि बढाएको सुन्ना साथ जिउ सिरिंग हुन्थ्यो, गोल हुन्छ की जस्तो लाग्थयो। तर, हाफ टाईम भन्दा अगाडि नै, पाकिस्तानको खै के मोहम्मद भन्नेले गोल ठोक्यो।
त्यसपछि पनि नेपालले आफ्नो चिरपरिचित शैली अनुसार निकै पेल्यो, गोल हान्ने भरमगदुर प्रयास गर्यो, तर ति प्रयासहरु सबै ब्यर्थ साबित भए, 67 होकि 68 मिनटमा नेपालले अर्को गोल खायो। अब नजिते पनि, 1 गोल त गर्छ की भनेर कान ठाड़ा पारेर पुरै खेल सुनें तर, नेपाल पराजित भयो त्यो दिन। बिस्मातको मन भयो, पहिलो पटक फुटबल लाईभ सुनेको दिन थियो।

लीगचरणको अर्को खेलमा श्रीलंकासँग त नेपालले 3 गोल खायो, रोशन परेरा भन्नेले ह्याट्रिक गर्यो। मेरो बिचारमा राजू शाक्यले नेपालको कप्तानी छोडेपछि नेपालले दीपक अमात्यको कप्तानीमा खेलेका केहि सुरूवाती खेल हुनुपर्छ ति खेलहरु।
पछि, त्यो प्रतियोगितामा भारतका आई एम विजयन भन्ने खेलाडी निकै चमके। भाईचुंग भूटिया भन्ने युवा खेलाड़ी त्यतिबेलै चमके! नेपाली प्रष्ट बोल्ने नेपाली मूलका दार्जीलिंगे खेलाड़ी काठमांडूमा त सेलिब्रेटी नै भए।

पछि त्यो प्रतियोगिता भारतले मालदीव्सलाई हराएर जीत्यो। सेमीफाइनलमा मालदीव्स र श्रीलंकाका खेलाड़ीबीच खेल समाप्तिसँगै झड़प भयो, जून निकै दुःखद थियो।
नेपाल र पाकिस्तानबीच को फुटबल खेल पछि मैले कुनै पनि खेलको कमेंट्री सुनिन क्यारे ! १९९८ मा त टीभी आई सकेको थियो घरमा ब्याटरी चार्ज गरेर हेर्नुपर्ने, वर्ल्डकप त्यसैमा हेरियो।

धन्यबाद
दिनांक १८ मार्च, २०२१, सिडनी