पिकनिक र त्यो थाली

उज्ज्वल भाट WI, USA, ३ जुलाई २०२१

धूमिल सपनाझैँ लाग्ने त्यो बसन्त ऋतुको कुनै घमाईलो दिन, खै कुन खुसियाली थियो या कुनै कार्यक्रम तर मलाई धमिलो सम्झना छ त्यो प्लास्टिकको मसिनो डोरीवाला झोला ढाडमा भिरेर धूलोमैं लटपटिदै बयस्कहरुको टोलीमा टुकुर टुकुर बनभोज खान हिंडेको।

बनभोज खाने टोली थियो, अरुणोदय मा.वि. (त्यतिखेर मा.वि. भइसकेको थिएन) का शिक्षक र विद्यार्थीहरुको। शायद, कुनै छुट्टीको समय हुनुपर्छ, स्कूलको बनभोज खाने टोलीमा म आफ्नो प्रिय सुर्कने झोलामा, एउटा स्टीलको थाल, अलिकति चामल र दाल लिएर छतीवन तर्फ जादैं थिएँ।

डनलपमा टेपरिकार्डर घनकाईएको थियो, पुरै टोली नाचगान गर्दै, जंगलभित्रको डनलपले बनाएको लिकवाला बाटोमा धूलो उड़ाऊँदै छतिवन तर्फ लाग्यो। अहिले सम्झन पनि निकै सकस हुन्छ, शायद म त्यस्तै ५ बर्षजतिको मात्र भएको हुनाले पनि होला, हाम्रो टोली जमरा तरेर छतिवन प्रबेश गर्दा, मैले कसरी जमरा, रानी कुलो र अरु २-३ खोलाहरु तरें मलाई याद छैन। फाल्गुनको महिना हुनुपर्छ नदीमा पानी बढ़िसकेको थिएन, त्यसैले शायद, डनलपमा चढ़ें या कसैले मलाई बोक्यो।

पिकनिक शुरू भयो, जंगलको बीचमा एउटा सानो पोखरी जस्तो भएको ठाउँको नजिक चूल्हो तयार भयो। वरिपरि सिसौ र खयरका रुखहरु अनि बयरका झाड़ीहरु थिए भने बीचमा सानो मैदान अनि पोखरी थियो। टोलीमा अरुणोदय मा. वि. का आदरणीय शिक्षकहरु कर्ण ब. थापा सर, रेग्मी सर, मण्डल सर, सिद्दीकी सर लगायत अरु पनि हुनुहुन्थ्यो। सिनियर विद्यार्थीहरु मध्येबाट कर्ण ब. बम दाजु र शान्ति होटलकी छोरी नन्दकला दिदी मात्र मलाई याद छ। नाचगान भयो, थापासरको क्यामेरा पनि थियो, फोटो खिच्दाको त्यो खिचिक्क आवाज र त्यो फ्ल्यास लाईटको चम्किलो प्रकाश हेरीरहूँ जस्तो लाग्ने समय थियो।

फोटो: कर्ण ब. थापा
छतिवनमा पिकनिक अरुणोदय मा .वि.का शिक्षक विद्यार्थीको-२०३६ साल फागुन ८ , प्र अ.गगन सिँह थापाको राजिनामा पछिका प्र.अ . महेन्द्र मन्डल , खड्ग के.सी ,मोहम्मद सिद्दिक हुसेन र म (कर्ण ब. थापा)।महेन्द्र मन्डल र म बक्सिङ को पोजमा।धुमिल छाया मात्रा।क्यामरा-अग्फा।

कर्ण बम दाजु निकै चलता-फिर्ता हुनुहुन्थ्यो, हीरो हुनुहुन्थ्यो त्यो टोलीको। उनै, बम दाजुले त्यहीं एउटा कछुवा पनि पक्रनु भयो, नदीमा हो कि पोखरीमा हो, मलाई त्यो याद छैन, तर कछुवा पकड़ेपछि ताली र होहल्ला को हूटिंगले जंगल थर्कमान भयो। जेहोस, कछुवाको मासु पनि पिकनिकमा खाईयो। बसन्तको आगमनको स्वागतार्थ सिसम (सिसौ)का रुखहरुले नयाँ हरिया पालुवा फेर्दै थिए भने, बिभिन्न फूल र बिरुवाहरुले फेर्न लागेका कलिला मुनाहरु बाट निस्केको बास्नाले रंगमंगगिएको जंगललाई कोईलीको कुहु-कुहुले अझै बहार भरेको थियो। खानपीन सकिएपछि, भांडा-कुंडा सफा गरिसकेपछि, त्यहाँ एकछिन सरहरुको दोहोरी चल्यो, टेपरिकार्डरको गीतमा नाचगान पनि चल्यो, हँसि मजाक भयो, तर म बबुरोलाई यी सबको आनन्ददायक  रसस्वादन कसरी गर्ने थाहै थिएन। म त केवल भुइँमा बसेर सब हेरीरहेको थिएँ, मलाई कसैको चासो थिएन नै र कसैलाई मेरो चासो पनि थिएन होला, सब आफ्नै धूनमा मस्त थियौं।

बिस्तारै, छायाँहरु लामा हुँदै आए, बिहान चर्न हिँडेका गाईगोरु गाउँतिर फ़र्कन थाले, हाम्रो टोलीले पनि घर फर्कने सुर-सार कस्यो। भांडा-कुंडा लगायत अन्य सामग्रीहरु डनलपमा लोड गरियो, र फर्कने बेलामा टोली कटाँसे बजार हुँदै जाने भयो। यही क्रममा एउटा घटना घट्यो, जुन आज पर्यन्त मेरो मस्तिष्कमा डेरा जमाईरहेको छ। त्यो पल संझदा म अझै पनि हांसौं या बिस्मित होऊँ, केहि भेउ पाउन सक्दिन।

घटना तब घट्यो, जब टोली अनुशासित ढंगले धूलो उडाउँदै, उहि रौनकताका साथ फर्किरहेको थियो, अचानक टेपरिकार्डर बन्द भयो, अनि आयो नन्दकला दिदीको चर्को आवाज: “मेरो थाल साँटियो, खोज्नु पर्यो”। टोलीको बीचमा धूलोभित्र एकसुरले हिंडीरहेको, सानु, नबडेको गाण्टे म, नन्दकला दिदीको आवाजले एकछिन त झंसँग भएँ, तर म ढुकक थिएँ कि मेरो झोलाभित्र मेरै थाली छ।
थाल साटिएको पक्का भएपछि पूरा पिकनिक टोली गोलो घेरा लगाएर बस्यो, नन्दकला दीदीले एकएक ग़री सबको झोला खोलेर चेक गर्न थालिन। म पनि मेरो पालो कुर्दै बसिरहेको थिएँ, मेरो पालो पनि आयो, तर खै के भएर हो, दिदिले मेरो झोला चेक नगरी अर्को मान्छेको झोला चेक गर्न गईन। सबैको चेक भयो, अहँ थाली भेटीएन। मेरो मनमा ढ़यांगरो बज्न थाल्यो, यसो अलिक पर गएर, बिस्तारै झोला खोलेर यसो हेर्छु त, मेरो जस्तै थाली तर थालीमा ‘बिष्णु’ लेखेको रैछ। लौन, यो त हाम्रो थाली त होईन, उता हेर्छु: नन्दकला दीदी हाम्रै थाली हातमा नचाउँदै, मेरो ‘बिष्णु’ लेखेको थाली साटियो भन्दैछिन। ए, आमा हौ, यो के भयो, मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो। अब, बित्यास पर्ने भयो, मेरो बाल दिमागले केहि सोचनै सकेन, अब त मलाई चोर बाँची (दोष) लाउँछन भन्ने लाग्यो। मलाई के गरुं-के गरुं भयो, फेरि मलाई कसैले चेक पनि गर्ने होईन, सोधेको पनि होईन, मलाई त डरले पिसाब आउला जस्तो भयो। धूईंपत्ताल खोजी भयो, होहल्ला मच्चियो, तर थाली भेटिएन, भेटिने कुरै थिएन, थाली त मसँग थियो।

म असमञ्जस अवस्थामा उभीरहें, मलाई कसैले सोध्दा पनि सोधेन, मैले भन्दा पनि भनिन, म डरले थुरथुर कामदै चुपचाप उभीरहें। केहि समयको गल्फत्ति पछि, थाली नभेटिने निश्चित भयो। अहिलेको भाषामा भन्ने हो भने थाली साटिएको घटना Unsolved Mysteries जस्तै भयो। बनभोज टोली फर्कियो, कटाँसे बजारको बाटो हुँदै, उहि पुरानै भावभंगीमा गीत घनकाउँदै- धूलो उडाउँदै, मग्नमस्त भएर। पिकनिक सकियो, म घर आईपुगें, बास्तवमा म बाँचेर आएं, चोर हुनबाट बाँचेर।

साँझपख आमाले पत्ता लाउनुभयो कि, यो थाली त हाम्रो होईन, हाम्रो थाली त बाक्लो थियो, यो त निकै पातलो छ। मलाई केरकार गर्न थालियो, अनुसन्धानको क्रममा बुवाले थप सुराक पत्ता लगाउनु भयो, “थालीमा ‘बिष्णु’ लेखेको छ, यो कसको थाली साँटेर ल्याईस”? म चुईंक्क बोलिन। भलै पातलो भएपनि थालीको सट्टा थाली नै आएको हुनाले ममाथि थप कारबाही त भएन तर केहि बर्ष बितेपछि बिस्तारै मैले त्यो घटना बर्णन गर्न थालें। तर, आज सम्म पनि मैले यो बुझिन कि त्यो दिन म किन डराएं हुँला? जबकि, मेरो थाली नन्दकला दीदीको हातमा थियो र दीदीको थाली मेरो झोलामा। मलाई, चोर दोष लाउँछन भन्ने यत्ति डर थियो की अब त मेरो नाम नै चोर राखिन्छ होला भन्नेसम्म मैले सोंचेको थिएँ। अहिले सम्झदा हाँसो लागेर आउँछ, पछि ठुलो भएपछि नन्दकला दिदीलाई पनि त्यो घटना सुनाएँ, दिदीले त मलाई त्यो पिकनिकमा याद नै गर्नुभएको रहेनछ। तिमि निकै सानो थियौ, तिम्रो त हामीलाई केहि यादै थिएन भन्नुभयो।

झन्डै, आज ४० बर्षपछि आदरणीय कर्ण ब. थापा सरले त्यो पिकनिकको बेला खिचेको फ़ोटो फेसबुकमा राख्नुभयो, अनि यादहरु सररर रिवाइन्ड भएर आए। अरुहरुको लागि त त्यो सामान्य पिकनिक थियो होला, केहि त्यस्तो उल्लेखनीय यादहरु पनि छैनन होलान। तर, मेरो लागि त्यो २०३६ साल फाल्गुन ८ गतेको पिकनिक सदैव स्मरणीय रह्यो, र त्यो ‘बिष्णु’ लेखेको थाली पनि।

धन्यबाद ।

Leave a comment