जसै छोट्का थारूको निकै कड़ा प्रहार मेरो टाउकोमा बज्रयो, मैले केहि पनि देखिन, निकै पर चम्किलो पंहेलो प्रकाश सिवाय मेरो वरीपरी केहि थिएन। एकसुरको ट्वाँssssssss आवाज बाहेक मैले केहि सुनिरहेको थिईन, होईन मत बेहोश भएछु कि भनेर होशमा आउन प्रयत्न गरें। अहँ, प्रयास निरर्थक भयो, चलमलाउने कोशिश गरें, शरीर निकै हलूँगो लाग्यो, मानौं शून्यतामा पौड़ी खेलिरहेको जस्तो। एकपटक म्याऊँ गरें, आफ्नै आवाज आफैं सुनिन, हैन यो के भयो? एकैछिनमा दृश्यहरु देखिए, निकै गजबको दृश्य, म त उडिरहेको रहेछु, छोट्का थारूको बुकरा भित्र-भित्रै, छाना मुनि !
निकै रमाईलो लागिरहेको थियो, सोचें अब मलाई कसैले पक्रन सक्ने छैन, जिन्दगी झन गजबको हुने भयो। उसै त राजकुमारको जिन्दगी बाँचीरहेको थिएँ, अब त बादशाह नै भएँ। तर यो कल्पनाको उड़ान छिट्टै नै दुर्घटनाग्रस्त भयो, तल चूल्होको नजिक छोट्काले अचानोमा केहि ढवांग गर्दै केहि काट्यो, यता छोट्की निभिसकेको चूल्होलाई पुनः बाल्ने प्रयत्न गर्दै थिई। गौर गरेर हेर्दा त अचानोमा भर्खरै मेरै पाखुरालाई जिउबाट छिनाइएको रैछ। मलाई निकै अचम्म लाग्यो, यो के भैरहेछ? जब भुइँमा लडिरहेको मेरो जिउ, अनि टाउकोबाट रगत बगिरहेको देखें, तब लाग्यो….म त मरीसकेको रहेछु। त्यसपछि, मेरा दृश्यहरु फेरिन थाले, म त्यहीं पुगें, जहाँ हाम्री आमाले हामीलाई अनाथ बनाएर जानु भएको थियो।
मानिसहरु बस्न छोडिसकेको घरको एउटा कुनामा हाम्रो पनि घर थियो। हामी भन्नाले म, दाई अनि साना-साना दुई बहिनी, सबैभन्दा सानी बहिनिको त अझै आँखा खुलिसकेका थिएनन भने दाई अलि-अलि हिड्ने भईसकेको थियो। म चाहिँ यसो घस्रेर, यता उता गर्ने भएको थिएँ। बुवा को हुनहुन्थ्यो, हामीलाई थाह थिएन, बास्तवमा बुवा भन्ने चीज हामीलाई थाह पनि थिएन।
चिसो मौसम, एक साँझ आमा खानेकुरा जोहो गर्न अलिक उज्यालैमा निस्किनु भयो, हामी ४ भाई-बहिनी खेलेर बस्यौं। खाने समय हुन लाग्यो, भोक बढ़दै गयो तर आमा आउनु भएन, बहिनीहरु भोकले म्याऊँ-म्याऊँ गर्न थाले, आधा रात बित्यो, अहँ ! आमा आउनु भएन। म रून थालेँ, एकातिर बहिनीहरुको एकोहोरो रूवाई मिश्रित म्याऊँ-म्याऊँ अर्को तिर मेरो रूवाई देखेर दाई पनि रुन थाल्यो। तर, आमा आउनु भएन, बिहान भयो, हामी पर्खिरह्यौ, दिउँसो भयो, फेरि साँझ पर्यो, आमा आउनुभएन। आमा किन आउनुभएन वा आमालाई के भयो, हामीले केहि सोचेनौ, भोक निकै बढ्दै गयो, साना बहिनीहरु कराउँदा-कराउँदा थाकेर सुतिसकेका थिए। रात पर्यो, अनि बिहान भयो, भोलिपल्ट पनि हामीले पर्खियौं, तर आमा आउनुभएन ! अर्को दिन बिहान हामीले बाहिर निस्किने निर्णय गर्यौं।
सुरूमा दाई, अनि म निस्कियौं, बाहिर कोही नदेखेपछि बहिनीहरुलाई पनि घिसार्दै-तान्दै बाहिर ल्यायौं । दिन बढ्दै गयो, मान्छे हिंडेको चाल थाह पाएर होला, बहिनीहरुले आमा आउनुभयो सोचेर फेरि म्याऊँ-म्याऊँ गर्न थाले। बटुवाहरु हेर्थे अनि जान्थे, हामी दिनभरी घाममा पल्टीरह्यौ, आमा अझै आउनुभएन। साँझ पर्न थाल्यो, हामी बसेको नजिक किरा- फट्यांग्राहरु आउन थाले। हामीलाई त यिनीहरु हाम्रा खानेक़ुरा हुन भन्ने थाह थिएन। केहि फट्यांग्राहरु दाईको मुखभित्र पसेछन अनि चपाउँदा त थाह भयो कि यिनीहरु हाम्रा खाना रहेछन। त्यो साँझ, दाईले ७-८ वटा फट्यांग्राहरु पक्रयो, अनि पालै-पालो हामीलाई खुवायो।
भोलि पल्ट देखी त, हाम्रो दिनभरीको काम भनेको फट्यांग्रा समात्नु हुन थाल्यो। म बहिनिहरुलाई हेरेर बस्थें भने, दाई अलिक पर सम्म गएर किरा- फट्यांग्रा समातेर ल्याउन थाल्यो। केहि हप्ता पछि त, बहिनीहरुका आँखा पनि खुलिसकेका थिए भने म दाई सँगै शिकारमा जाने भइसकेको थिएँ। हामी धेरै टाढा जादैन थियौं, नजिक-नजिक नै किरा समाउँथ्यौँ । चिसो बढ्दै गईरहेको थियो, एकदिन शिकारको खोजीमा अलिक पर गईएछ, एक्कासि एउटा कालो जनावरले हामीलाई जोरसँग कराएर पक्रन खोज्यो, तर कसो-कसो हामी भाग्यौं । तर, दाई कता गयो-गयो मैले निकै खोजें, अहँ भेटिन, भूगोलको ज्ञानमा म त्यति पोख्त भईसकेको थिइन, मैले घर जाने बाटो बिर्सें !
रात पर्यो, म जहिं को तहीं बसीरहें, दाई लिन आउला भन्ने आशामा म भोलि पल्ट पनि म त्यहीं वरपर डुली रहें। साँझ पर्यो, झिसमिस अन्ध्यारो भइसकेको थियो, कतै दाई आइरहेको होला कि भनेर जनाउ दिन म्याऊँ-म्याऊँ ग़रीरहेको थिएँ, सहसा एउटा बलिष्ठ पंजाले मेरो घुच्चुकमैं समातेर जुरूक्क उचाल्यो।
सेतो कुर्तासुरूवाल माथि कालो ज्याकेट लगाएको बूढो मान्छेले केहि समय हावामा तुरलुङ्ग झुण्डयाएर मेरो पुरै जिउ निरीक्षण गरेपछि आफ्नो छातीमा टाँसेर पाखुराले च्याप्यो र हिंडन थाल्यो। म उम्किनै सकिन, राम्ररी आँखा नखुल्दै आमासँगको बिछोड अनि हुर्किंदै गर्दा दाई-बहिनीहरु सँगको बिछोडले बलियो भइसकेको म, अब आउने परिस्थितिसँग पनि सामना गर्न तयार थिएँ। मलाई, बोक्ने मानिसका पाईला अब छिटो-छिटो चल्न थाले, मेरो जिउ पनि अब न्यानो हुँदै आयो र मैले पनि म्याऊँ-म्याऊँ गर्न छाडिदिएँ।
केहि समय पछि ति बूढामान्छेले एउटा घरमा लिएर गए, अनि सबैलाई, ‘ल आज यो घरमा नयाँ ‘कपिला’ (परिवार) आयो भनेर परिचय गराए। कसैले मलाई खासै वास्ता गरेन, तर ति बूढाकि बूढ़ीलाई म आएको मन परेन। मालिकनी (बुहारी)ले मलाई लगिन र भाँडामा केहि दिईन, त्यो त दूध रहेछ, मलाई कस्तो आमाको सम्झना आयो। बास्तवमा मैले त दूधको स्वादनै बिर्सिसकेको रैछु, मलाई त अब किरा-फट्यांग्राहरु मात्र खाने होला जस्तो लागेको थियो। बेलूकी पख खाना खानेबेलामा दुईजना केटा (बूढाका नातीहरु) आए, मलाई ‘म्याऊँ’ भने, मलाई त गिज्याएको जस्तो लाग्यो, मलाई रिस उठिरहेको थियो । यत्तिकैमा एउटाले मेरो घुच्चुकमा समात्न खोज्यो, मेरो पालो मैले पनि दायाँ पंजाले उसको हातैमा बजाईदिएँ, नातिकेटाहरु डरले त्राहिमाम भए। एउटाले कुचोले हान्न खोज्दै थियो, म फुर्तीसाथ भाँडा राख्ने आलमारीमाथि गएर बसें। उनीहरु आलमारी माथि पनि आक्रमण गर्न खोज्दै थिएँ, मालिकनीले कराएपछि उनीहरु पछि हटे। यसरी, पहिलो दिनमैं नातीकेटाहरुसँग मेरो दुश्मनी भयो।
नातीकेटाहरुले जस्तोसुकै ब्यवहार गरेपनि बूढाले मलाई माया गर्थे। बेलूकी रोटी खाने बेलामा बूढाको अगाडि बसेर दूधमा चोपेको रोटीको गिलो टुक्रा मलाई औधि मनपर्थ्यो । बूढीले मन नपराएपनि बूढाको लागि म परिवारको सदस्य थिएँ। बिस्तारै मेरो ज्यान भरिदैं आयो, नलका (चापाकल) निरको अम्बाको रुखको टुप्पो म एकै सासमा चढ़ने भईसकेको थिएँ। घरमा एउटा कालो कुकुर पनि थियो, निकै सोझो, तर एउटा कुकुरले मेरो सातो पहिलेनै खाईसकेको हुनाले यो घरको कुकुरसँग मेरो खासै दोस्ती बढेन। मेरा दाँत र नंग्रा अब निकै बलिया भईसकेका थिए, बिस्तारै अब मैले मूसाको शिकार गर्न शुरू गरें। मंगसिर महीना, मलाई निकै मन पर्ने महीना, धान काटिसकेको हुन्थ्यो, कुन्युको वरिपरि, खेतका कुनामा मूसाका दुला हुन्थे। जब छोट्का र उसका बच्चाहरु फरूवा लिएर दुला खन्न थालथे, म निकै चनाखो भएर बस्थें, जसै मुसो दूलोबाट बाहिर निस्किन्थ्यो, अनि, कर्याप्प ! कुनै दिन त ५ वटा मूसा खाएर दिलखुश पारेको रेकर्ड थियो। धान काट्ने, दाउने सिजनमा त मेरो बासै कुन्युमा वा छोट्काको बुकरामा हुन्थ्यो। छोट्काको चूल्होमा दिनहुँ मूसा पाक्थ्यो, झन मसाला हालेर पकाएको मासुको स्वाद त, आहा ! तर छोट्का नभएको दिन, छोट्कीले मासु दिन्नथी, त्यही भएर तलतल मेटाउन यसो मैले हात लम्काउँदा लम्काउँदै पेशेवर चोर कहिले बन्न पुगें पत्तै भएन। घन्टौ, मुसाको दुलाको अगाडि घोरिनु भन्दा टक्क हात लम्काएर पेट भर्ने काईदा मलाई निकै ग़ज़प लाग्यो।
बिस्तारै, मैले मेरो कला यता घरमा पनि प्रयोग गर्न थालें, मूसा त यता पाक्दैन थियो, तर दूध, मासु र अन्य खाना त यता झन सजिलो सँग उपलब्ध हुन थाल्यो। दुःख गरेर मूसा मार्न त मैले छोड़ीसकेको थिएँ। आवश्यक कसरत नभएर पनि होला, मेरो ज्यान त निकै बढ़न थाल्यो। २ घर पर एउटा बिरालो थियो, सेतो रङ्गको, निकै च्यासें, खानै नपाएजस्तो, कहिले काहीं आउँथ्यो गफसफ हुन्थ्यो। कसरी यस्तो मोटायौ भनेर सोधथ्यो, मैले हातको सफाई वाला आईडिया दिएँ, तर उ डरायो। एकदिन, यत्तिकै घरको छतमा घाममा भुँडी पल्टाएर सुतिरहेको थिएँ, अचानक सोझो कुकूर जोडले भुक्न थाल्यो, खोरमा रहेका हाँस र कुखुरा पनि कराउन थाले, एउटी कुखुरी निकै कराउँदै थिई । के भएछ भनेर यताउता हेर्दै थिएँ, एउटा बड़ेमानको बिरालो मुखमा कुखुराको चल्लो च्यापेर रगत चुहाउँदै मेरै अगाडि आएर खान थाल्यो। म त अक्क न बक्क भएँ, त्यसरी घरमा पालेका चल्ला पनि खान हुन्छ भनेर मलाई थाहै थिएन, मेरो मुखबाट अचानक -र्याल चुहियो। मेरो अगाडिको बिरालोलाई “हाम्रो घरको चल्लो किन खाईस” भनेर सोधेको, “चुप लाग, अहिले तँलाई पनि खाईदिन्छु भन्यो”। आवाज सुन्दा कता कता सुनेको जस्तो लाग्यो, अनुहार पनि देखे-देखे जस्तो लाग्यो, अनि खूब समझेपछि दाई हो भन्ने लाग्यो, अनि दाई भनेको, दाईले त बिर्सीसकेछ, तर निकै बेरसम्म पुराना क़ुरा समझाएपछि, अन्त्यमा दाईले, “हेर मैले तँलाई बिर्सिसकेको छु, तर पनि तैले दाई भनिस, ठीकै छ, म त ढाडे बिरालो भईसक्या छु, कसैको घरमा पनि बस्तिन, जँगलमा बस्छु, जंगलको दादा मैं हूँ। म सँग जान्छस भने हिंड तँलाई नयाँ-नयाँ शिकार र तरीका सिकाउँला” भनेर भन्यो। मैले खूब सोचें, मालिकले खाना दिएको समझें, छोट्काको घरको मूसाको मासु सम्झें, पट्टयाएर राखेका सिरक-डसनामा सुतेको सम्झेँ, दुधको स्वाद सम्झेँ, अनि मलाई घर नै प्यारो लाग्यो, दाईलाई जान्न भनें।
म पनि दाई जस्तै घरको दादा भइसकेको थिएँ। मालिकनीले गोठबाट दूध दुहेर ल्याउने बेलामा दूध दिईनन भने खुट्टामा कोतरीदिन्थें। कुखुरोको चल्लोलाई कर्याप्प पार्न खूब कोशिश गरें, कहिले काले कुकूर त कहिले नाती केटाहरु, त कहिले को घरमा भईरहने हुनाले आँट गर्न सकिन। झ्याप्प बेपरवाह आक्रमण हान्न, दाई जतिको बलियो त म भईसकेको थिईन तैपनी खूब दाऊ हेरें,सकिन।
चल्लाको तलतल निकै बढेर आयो, एकमनले भन्यो, “एकपटक धावा बोल्दिउँ, जे पर्ला पर्ला”! अर्को मनले भन्छ, “होईन, एकपटक मात्रको लागि होईन नि, पहिलो चोटीमैं थाह पाए भनें त चौपट भैगो नि”! धेरै दिन सोचें, अहँ मिलेन। सोझो कुकुर घर कहिले छोड़ने होईन, ३-४ चल्ला छन, सोधखोज भयो भने त पत्ता लाईहाल्छन ! मलाई अहिले नै ढाडे बिरालो बन्न, वन पस्न मन थिएन ! अचानक, दिमागमा एउटा गजबको योजना फुर्यो, पल्लो घरका चल्ला उडाउने ! मैले यो योजना त्यही सेतो बिरालो लाई सुनाएँ, उ त खुसी हुनु त कहाँ हो, उल्टा डराएर झन्डै रोएन। उसको परिवार रे, त्यो कुखुरा र र चल्ला ! मलाई हाँसोले भाउन्न छुट्यो ! त्यो दिनबाट त्यो कायरको सँगत टुंग्यो ।
त्यसको ३ दिनपछि त्यस सेतो बिरालोका परिवारका २ चल्लालाई आक्रमण हानें, ३ दिन सम्म मोज गरेर सुतें !
मलाई त कहिलेकाहीं लाग्थयो, म नै घरको मालिक हूँ, मन लाग्यो घरमा बस्यो, मन नलागे डुल्न निस्कयो। खेतमा पनि काम गर्नुपरेन, भोक लाग्यो भने खाने बेलामा बूढाको ओछ्यानमा गएर बस्यो, मुखमैं दूध-रोटी! क्या बात ! मासु खाने मन लाग्यो, सेतेलाई यस्सो आँखा तर्यो, आक्रमण…बस ! जिन्दगी गजबको भैगो ! मलाई त पाइखाना जान अनि त्यसलाई माटो खोस्री-खोस्री पुर्न पनि अल्छी लाग्न थाल्यो। मेरो पालो घरकै कुनामा, भकारीमा पाहुनाका लागि राखेका सिरक-डसनामैं बिषट्याई दिन थाले। बिचाराहरु थाह नै पाऊंदैन थिए, बूढीलाई त शंका लागेर कर्के आँखाले हेर्थी, मेरो पालो म ङ्गुरर गार्दीनथे, मसँग कसको के चल्ने ?
मलाई त अब म त भगवान नै मैं हूँ जस्तो भयो, बिचारा घरका मानिसहरु मलाई पाल्नको लागि काम ग़रीरहेछन जस्तो पो लाग्न थाल्यो। मलाई कसैको डर थिएन, कसैको नियंत्रण थिएन, अब मेरो मालिक कोही थिएन, म नै मेरो मालिक, अनि मानिसहरूको पनि मैं मालिक !
बिदाको दिन थियों, नाती केटाहरु भकारीमा लुकीचोर खेल्दै थिए, मैले बिषट्याएको कुरोले नातीकेटाहरुको बिजोक बनाएछ, खूब रिसाउंदै, मलाई गाली गर्दै घर माथि आए । म आफ्नै धून सिरक माथि ध्यानमा थिएँ, नातीकेटा हरु त एकाएक कोठा भित्र छिरेर चुकुल लाएर मलाई हेर्छन बा ! एकजना ले त हातमा लठ्ठी पनि लिईराखेको थियो। यताउती हेरें, झ्यालमा जाली थियो, ढोकामा एउटा नातीकेटो उभ्भीराखेको ! डराउने कुरै थिएन, तर पनि यिनीहरुलाई पाठ नसिकाई भएन भन्ने मनमा आयो।
लाठी समातेको नातिकेटोले आँखा झिमिक्क़ गर्न पाएको थिएन, सीधा एक झापु त्यसको घाँटीमा दिएँ, त्यो देख्ने बित्तिकै ढोकामा उभिएको नातीकेटो ढोका खोलेर टाप कस्यो। त्यसपछि, म पनि बाहिर निस्केर परालको कुन्युमाथि गएर फेरि ध्यानमा मग्न भएँ। तर, मेरो लागि यो अनपेक्षित चुनौती थियो। साँझपख भान्सा बाहिर म बसिरहेको बेला, नातिकेटाहरुले आफनी आमालाई क़ुरा लगाईरहेको सुनें। केटाहरुको क़ुरा सुनेर मालिक्नी पनि म सँग रिसाएको जस्तो मैले बूझें।
फेरि धान काट्ने मौसम आयो, खुसीका दिन आए। अब मेरो बास फेरि छोट्काको बुकरामा सरयो। दिन फेरि रमाईला हुन थाले, दिनहुँ मूसाको मासु, खान पाइन थाल्यो। एकदिन, घरमा नयाँ नातीकेटो देखा पर्यो, सहरबाट मिनपचासको बिदामा आएको रैछ ! छोरो आएको खुसीमा बाऊले कतैबाट ख़सीको मासु ल्याएर आएछन। ल, बाबु यो मासु उसिनी राख्नु, भरे पकाएर खानु पर्छ भनेर, मालिक मोटरसाईकलमा कतातिर गए खै? तर मेरो मुखमा चाहिँ मासु देख्ने बित्तिकै पानी आईहाल्यो, खसिको मासु त मैले कहिले खाएको थिइन, गनाउने मूसा कति खानु? मैले मुख मिठयाउदै योजना बनाउंन थालें।
घरमा कोही थिएनन, सबै खेतमा गएका थिए। सहरिया केटोले आगो फुक्न थाल्यो, आगो मरीगए बलेन, केटो रन्थनियो। केटोको नाक बाट सिंगान र आँखा बाट आँसू सरोबरी बहन थाल्यो। अत्ति भएपछि, केटो मत्तीतेल लिन घरको बुइंगल तिर गयो, त्यही मौकामा मैले सुटूक्क २ टुक्रा लिएर सुईंकुच्चा ठोकें ! केटोले छनक सम्म पनि पाएन, मासु त मेरी आमोई, आहा कति स्वादिष्ट हो, कति रसिलो हो मेरा बाबै ! मलाई त झन तलतल लागेर खपिनसक्नु भयो। नातीकेटोले आगो बाल्यो, ताउलोमा पानी उमाल्यो अनि त्यसमा मासु खन्याएर थालको ढक्कन लगायो अनि पल्लो कोठामा गएर टीभी हेर्न थाल्यो। मलाई छटपटाहट हुन थाल्यो, मुखबाट -र्याल चुहिन थाल्यो, एकदूई चोटी थाल सार्न पनि खोजें तर निकै तातो रैछ, प्रयास निरर्थक भयो, तैपनी धैर्य गरेर बसीरहें, नयाँ नातीकेटो हो, १-२ टुक्रा हड्डी भएपनि कसो नदेला भनेर आश मानेर पर्खिरहें। नभन्दै, आधी घण्टा पछि, नातीकेटो आयो, भाँडामा हेर्यो, अनि एकटुक्रा हातमा लिएर चाख्यो, तर म तिर त हेर्दा पनि हेरेन। मलाई रिस उठ्यो, तर थामें। एक्छिन कुरेर, नातिकेटोले एक कचौरा भरी मासु निकालयो अनि, अगेनोबाट दाउरा झिकेर आगो मन्द पारेर फेरि थालले ढाकेर गयो। मलाई त के गरुं-गरुं भएर आयो, भक्कानो छोडेर रुन मन लाग्यो। तर, अहं म जस्तो भगवान भएर पनि २ टुक्रा मासुको लागि रुन हुन्न भन्ने लाग्यो, बरु मासुमा अट्याक हान्नुपर्छ जस्तो लाग्यो।
तैपनी, नातीकेटो आएर हड्डी दिन्छ की भनेर कुरें, ढोका बाहिर गएर म्याऊँ गरें, अहं मासु लुछ्दै टीभीमा डुबेको केटोले मलाई बाल दिएन। फेरि भन्सामा आएँ, आगो निभिसकेछ। बिस्तारै-बिस्तारै, थाल सार्दै-सार्दै भाँडामा एउटा हात छिर्ने जति बाटो बनाएँ। पानी सेलाउन केहि बेर अझै लाग्यो, अहिले सम्म कोही पनि घरमा आईपुगेका थिएनन, सहरिया नातीकेटो मेरो उपद्रवको बारेमा अंजान थियो, त्यही भएर उसलाई ममा कुनै चासो थिएन। त्यसपछि, त्यो दिन, मैले धित मर्ने ग़री खसीको मासु बजाएँ। जब, नातीकेटो कचौरा लिएर अर्को लट थप्न आयो, तब बिचारोको हँसले ठाउँ छोड्यो। उसले, रिसले गर्दा के गर्ने सोच्नै सकेन, त्यही नजिकको ठेल्नो (आगो फुक्ने बाँसको वा फलामको पाइप) ले मलाई झटारो हान्यो। त्यस्ता त मलाई, “आछयूँ खाएँ, बच्छयूँ खाएँ, झुसे बारूलो” भन्या जस्तो भयो। मलाई हाँसो लाग्यो, मेरो पालो घरमुनि गएर भकारी मुनि लुकेँ।
नातीकेटो हातमा ठेल्नो लिएर यताउती गर्दै थियो, त्यही बेला अरु दुई नातिकेटाहरु आए। सहरियाले घटनाको बेलिबिस्तार लायो, अनि मलाई सिध्याउने षड्यन्त्र बनायो। त्यसको षड्यन्त्रलाई ति दुई केटाहरुले हाँसेर उडाईदिए, अनि पहिलाको कोठा भित्रको कथा सुनाए, अनि खै कता तिर लागे, तर सहरिया एक्लै मलाई खोज्न लागि रह्यो।
बेलूकी, मालिक-मालिक्नी आए, मासु निकै कम रहेकोमा सोधखोज भयो, सहरियाले आफ्नो सफाई दियो। मालिक-मालिक्नी दुबै रिसाए, धन्न सहरिया भर्खर घर आएको भएर मालिकको रिस बाट बच्यो। म त्यो दिन बहिरै बसें, आज मलाई बूढाले पनि दूध-रोटी खान बोलाएनन। मलाई निकै रिस उठ्यो, अनि त्यही रिसको झोंकमा राती चूल्होमा बिषट्याएर खरानीले पुरीदिएँ।
त्यसको दुई दिनपछि, एकसाँझ छोट्का को घर गएर, चूल्होको छेउ बसेको मात्र के थिएँ, एकैचोटी ड़याँङ्ग टाउकमा फलामको ठेल्नो बज्रीगयो। के भयो केहि मेसो पाइन, अब मेरो सास चल्न छोडेको थियो, मुटुको धड्कन बिस्तारै सुस्त हुँदै थियो। प्रारब्धको भोग त्यतिनै रैछ, अब पछूतो गर्न पनि पाईन . . . . . . . . .
छोट्काको चूल्होमा म पाकीरहेको थिएँ, शायद छोट्का-छोट्कीको मुखमा पनि त्यसैगरी पानी आइरहेको होला, जस्तो ख़सिको मासु देख्दा मेरो मुखमा आएको थियो।
आमालाई सम्झें, अहो कस्तो अद्भुत ! मैले आमालाई देखें, हरियो नाइलनको डोरीको पासोमा उहाँ छटपटीरहनु भएको थियो, अनि उहाँको मुखमा हाम्रो लागि ल्याउनु भएको पाउरोटीको टुक्रा अझै पनि च्यापीएको थियो। हेर्दा-हेर्दै आमा म नीर आउनुभयो, मैले भनें “आमा….”। आमाले भन्नुभयो, “छोरो मेरो त बाध्यता थियो, तिमीहरुलाई खुवाउनु, तर तिमिलाई त नपुग्दो केहि थिएन…”
चोर्नु राम्रो होईन बाबू….भन्दै आमा बिलाउनु भयो।
तल हेरें, छोट्का-छोट्की अनि तिनका छोरा-छोरीहरु मेरो मासु निकै मिठो मांदै खाईरहेछन। तर, मलाई दुखेको छैन, दृश्य धमिलो हुदै गयो, सोचें म राम्रो बिरालो पनि त हुनसक्थें नि, तर अब कुनै फाइदा थिएन। त्यो कायर बिरालोलाई देखें, मालिकको काखमा बसी कचौरामा दूध-भात खाईरहेको थियो। तर, म त्यो कायर जस्तो पनि हुन सकिन, शायद कहिले चाहिन पनि !…… आँखा अगाडी अंध्यारो छाइरहेको थियो, बिस्तारै पुरै अन्धकार भयो, अनि त्यसपछि शुन्यता ………
अस्तु
सुखलाल६ अप्रिल, २०२१, सिडनी