रेडियोमा फुटबल कमेन्ट्री सुन्दाका ति दिनहरु !

तिनताक, सारा गाउँमैं टीभी थिएन, बिजुलीनै थिएन त टीभी कसरी हुने? तदनुसार, १९९७ तिरको कुरो, बर्खाको समय थियो, धान रोपीसकिएको थियो, स्कूल पनि बिदा थियो क्यारे ! हंगकंगलाई चाईनाले फिर्ता लिईसकिएको थिएन, म त्यतिबेला ७ मा पढथें, फुटबलमा रुचि हुनुका साथै, फुटबल संबधि जानकारीहरुमा राम्रै चासो जागिसकेको थियो।

तराई तिर, धान रोपीसके पछि किसानको लागि गर्नुपर्ने खासै धेरै काम हुदैनन, त्यही हो धान बढ्दै गएको हेर्ने, धानको खेतमा पानी लगाउने, कुलो सफा गर्ने, अनि राँगा चराउन बन जाने !

यस्तै, बरखे मौसमको घमाइलो दिनमा काठमांडू मा आयोजना भैरहेको SAAF Football Championship को पहिलो म्याच रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने भयो। त्यस्तै, बेलूकी 3-4 बजे तिरको समयमा म्याच थियो। समय त प्रसस्त थियो, अब घरमैं कमैया भएका हुनाले काम त केहि गर्नुपरथेन, तैपनी कामनै गर्नुपर्ने ग़री म ठुलो भइसकेको पनि थिइन। सबै क़ुरा त मिल्यो तर रेडियोको जुगाड़मा अलिक सोच्नुपर्ने भयो। बाजेको रेडियो सुन्ने बिचार थियो, तर समाचार, बिबिसि र अन्य समाचारमूलक कार्यक्रम बाहेक अन्य कार्यक्रम झुक्केर पनि नसुन्ने बाजेले फुटबलको लाईभ कमेन्ट्री सुनलान र म पनि सुंनुला भन्ने सोच्नु कल्पनाभन्दा बाहिरको कुरो थियो। कहिलेकाहीं, बाजे आफ्नै सुरमा केहि कर्ममा ब्यस्त भएको बेला, रेडियोमा कुनै गीत-संगीत वाला कार्यक्रम बजीरहेको छ भने पनि, हामी रेडियो नजिक पुग्नासाथ रेडियो बन्द गरीदिने बाजेको बानी थियो।
तर मलाई फुटबल सुन्नु थियो। संयोगबश, बाजेको त्यो दिन दिउँसो कतै जाने काम परेछ, रेडियो सुन्न त पाइने भयो तर मामला गड़बड़ कहाँ हुन्छ भने, बाजे चाहिँ कतै जाने बेलामा रेडियो दराज भित्र राखेर ताला ठोकेर जाने ! तर, कसो-कसो बाजेको आँखा छलेर दराजभित्र राखिसकेको रेडियो निकालेर खाट मुनि लुकाई चाबी जस्ताको त्यस्तै बाजेको कोटको खलतीमा राखिदिएँ !

केहि छिनमा बाजे पुरै ठगलाईफ वाला स्टाइलमा रेडियो कसैले सुन्न नपाउने भए भन्ने सोचेर गए। तर, बाजे जाने बित्तिकै मैले महा-ठग लाईफ स्टाइलमा रेडियो निकालेर फुटबल सुन्न बसें।

केहिबेरमा फुटबल सुरु भयो, नेपाल र पाकिस्तान को बीच लीगचरणको पहिलो म्याच थियो। दीपक अमात्य, देवनारायण चौधरी, हरि खड्का, बालगोपाल महर्जन, राजू पुलामी, उपेन्द्रमान सिंह जस्ता स्टार खेलाड़ीले भरिएको टीमले स्वाभाविकत: पाकिस्तानी टिमलाई पुरै दबाबमा राखेर खेल्यो।

कमेन्ट्री दशरथ रंगशालाबाट स्व. पाण्डव सुनुवारले गरिरहेका थिए, नेपालले बल अगाडि बढाएको सुन्ना साथ जिउ सिरिंग हुन्थ्यो, गोल हुन्छ की जस्तो लाग्थयो। तर, हाफ टाईम भन्दा अगाडि नै, पाकिस्तानको खै के मोहम्मद भन्नेले गोल ठोक्यो।
त्यसपछि पनि नेपालले आफ्नो चिरपरिचित शैली अनुसार निकै पेल्यो, गोल हान्ने भरमगदुर प्रयास गर्यो, तर ति प्रयासहरु सबै ब्यर्थ साबित भए, 67 होकि 68 मिनटमा नेपालले अर्को गोल खायो। अब नजिते पनि, 1 गोल त गर्छ की भनेर कान ठाड़ा पारेर पुरै खेल सुनें तर, नेपाल पराजित भयो त्यो दिन। बिस्मातको मन भयो, पहिलो पटक फुटबल लाईभ सुनेको दिन थियो।

लीगचरणको अर्को खेलमा श्रीलंकासँग त नेपालले 3 गोल खायो, रोशन परेरा भन्नेले ह्याट्रिक गर्यो। मेरो बिचारमा राजू शाक्यले नेपालको कप्तानी छोडेपछि नेपालले दीपक अमात्यको कप्तानीमा खेलेका केहि सुरूवाती खेल हुनुपर्छ ति खेलहरु।
पछि, त्यो प्रतियोगितामा भारतका आई एम विजयन भन्ने खेलाडी निकै चमके। भाईचुंग भूटिया भन्ने युवा खेलाड़ी त्यतिबेलै चमके! नेपाली प्रष्ट बोल्ने नेपाली मूलका दार्जीलिंगे खेलाड़ी काठमांडूमा त सेलिब्रेटी नै भए।

पछि त्यो प्रतियोगिता भारतले मालदीव्सलाई हराएर जीत्यो। सेमीफाइनलमा मालदीव्स र श्रीलंकाका खेलाड़ीबीच खेल समाप्तिसँगै झड़प भयो, जून निकै दुःखद थियो।
नेपाल र पाकिस्तानबीच को फुटबल खेल पछि मैले कुनै पनि खेलको कमेंट्री सुनिन क्यारे ! १९९८ मा त टीभी आई सकेको थियो घरमा ब्याटरी चार्ज गरेर हेर्नुपर्ने, वर्ल्डकप त्यसैमा हेरियो।

धन्यबाद
दिनांक १८ मार्च, २०२१, सिडनी

One thought on “रेडियोमा फुटबल कमेन्ट्री सुन्दाका ति दिनहरु !”

Leave a comment