राँगो/भैँसी महात्म्य (राँगो अथवा भैँसी सवार गर्ने कला)

घोड़चढि अर्थात घोडाको सवारीको बारेमा प्राय: सबैलाई थाह नै होला! घोडा अनि घोडा चढ्ने कलाको बारेमा शायद थुप्रै पटक लेखिएका पनि छन। प्राय: सबैले आफ्नो जीवनकालमा घोडा नचढेपनि घोडचढी कला नितान्त नौलो कुरा होईन। तर, समयक्रमसंगै अब राँगो/भैँसीका पनि दिन आएका छन। 

घोडा चढ़ने सरकारहरुका दिन गएसंगै एकाएक भैँसीको महत्व बढेर गएको छ। कुरोको चुरो के हो भने केहि समय पहिले हाम्रा सम्माननीय राष्ट्रपति डा. रामवरण महोदयले कुनै प्रसङ्गमा आफु आफ्नो बाल्यकालमा भैंसी चराउने र राँगा/भैंसी चढेर हुर्केको कुरा बताउनु भयो। त्यसैगरि केहि समय पहिले हाम्रा कम्युनिष्ट प्रधानमन्त्रीज्यूले पनि कता-कता भैंसी पुजा गरेको समेत सुन्नमा आयो। सो क्रममा मलाई के लाग्यो भने अब राँगो वा भैंसीको त निकै महत्व बढेको छ। राष्ट्राध्यक्षलेनै भनिसके पछि त मलाई त कस्तो लाग्यो भन्दाखेरि, पहिले राजा महाराजाले घोडा चढ़न तालीम लिनु पर्थ्यो भने अब राजा(राष्ट्रपति) बन्न भैँसी/राँगो चढ़न जानेको हुनुपर्ने अनिवार्य पो भएको हो कि? देशका ठुला-ठुला व्यक्तित्वहरुसँग जोडीई सकेपछि त मलाई पनि राँगा/भैंसी सम्बन्धि केहि लेखुं-लेखुं लागेर आयो, अझ आफुसँग पनि सानोमा राँगा चराएको अनि राँगा चढ्दै दाइँ गरेको अनि राँगाको सिङ्ग समातेर नदिमा राइड गरेको जस्ता रोचक अनुभव भएको हुनाले सर्वप्रथम त राँगानै कसरी चढ्ने वा राँगा चढ्ने कला सम्बन्धि लेख्न मन लाग्यो।

सर्वप्रथम त, सबैले भैँसी/राँगो चढ़न पनि नपाउने, तर यदि यदाकदा अवसर पाईहालेमा पनि राँगोचढि कलाको अभावमा दुर्घटना भई नाकमुख ध्वस्त भएर सपाट समेत हुनसक्ने र भएका भैँसी/राँगा जति सप्पै मो:मो: बन्न थालेकाले, भविष्यमा भैँसी/राँगाहरुसंगै यो कला पनि लोप हुने खतरा बढेकोले र  भैँसी/राँगो चढ़ने कला सम्बन्धी कसैले पुस्तक नलेख्ने हुँदा यस सम्बन्धी आफ्नो थोरै अनुभव पोखिदिउँ जस्तो लाग्यो ।

सामान्यतया मेरो जन्मस्थलतिर मानिसहरु भैँसीको सवार गर्दैनन्, किनकि पहिलो कुरो त भैँसी स्त्रीजाती भएको हुनाले र अर्कोकुरा गाऊँ नजिकै बन-जङ्गल प्रसस्त छ भने प्राय:जसो भैंसीहरुलाई चराउन बनतिरनै पठाइने गरिन्छ। त्यसैले, सवारीको लागि भैंसी भन्दा राँगानै उपयुक्त हुन्छ। राँगा चढ्ने भन्दैमा जहिले पायो तहिले चढ्ने कुरा हुँदैन, बिशेष गरि दाईँ हाल्ने बेला अनि राँगाको खासै काम नभएको बेला खेतमा चराउँदा मात्र राँगोचढ़ीको अनुभव लिन सकिन्छ! राँगा सवारीको लागि ठाउँ, समय र परिस्थिति पनि महत्वपूर्ण हुन्छ, जस्तै: जङ्गलमा चरिरहँदा वरी-परि जवान भैंसीहरु छन् भने राँगाको सवार निकै खतरनाक हुनसक्छ, यस्तो अवस्थामा राँगाले आफ्नो ढाडमा को छ भन्ने कुराको वास्तै नगरी कुनैपनि बखत प्रजनन् प्रक्रिया आरम्भ गरिदिन सक्छ र ढाडमा सवार व्यक्ति मुख वा दाँतको भरमा जमिनमा बजारिन सक्छ।

यसैगरी, जंगलमा राँगो चरिरहेको बखत वरिपरी अरु कुनै राँगाहरु छन् कि छैनन भन्ने कुरा ख्याल नगरी  राँगोचढ़ी को प्रयास गर्नु घातक पनि हुन सक्छ। किनकी जंगलमा कुनै पनि बखत दुश्मन राँगोसँग युद्द हुन सक्छ,अथवा कुनै कारणवश राँगोको मुड़ अचानक परिवर्तन भई स्वयं राँगो एक धावक मा परिवर्तन भईदिन सक्छ। त्यस्तोबेलामा सवारले चलाखिपूर्ण तरिकाले हाम फालिहाल्नु पर्छ नत्रता सवारको नाकमुखनै जमिनमा लोप हुन सक्छ । 

सवारको लागी उपयुक्त राँगो कसरी चिन्ने ?:

मुख्यतया: राँगा दुई प्रकारका हुन्छन:

  • चालू-राँगो (एकदम काउकुती मान्ने  खालको )

यस्तो किसिमको राँगो छुना-साथ उफ्रिने हुनाले यसको सवार गर्नु लगभग असंभवप्राय: नै हुन्छ, दाँई गर्दा बाहिरी परिधिमा रहने अनि छिटो-छिटो हिँड्नु पर्ने हुनाले पनि यो किसिमको राँगो, प्राय:दाहिने तिर जोतिन्छ। वास्तबमा, यो किसिमको राँगो स्ट्राइकरजस्तै हो, दुश्मनसँगको युद्धमा होस या जुवामा नार्दा होस, यो किसिमको राँगो सधैँ पहिलो हुन्छ, तर बलको कुरामा भने यो अर्को किसिमको राँगोभन्दा कमजोर हुन्छ ।

  • गध्याह-राँगो  (अल्छी,सुस्त तर बलियो)

यो किसिमको राँगो एकदम मजाको हुन्छ, र राँगोचढिको लागी पनि यही किसिमको राँगो उपयुक्त हुन्छ । गध्याह-राँगोले हतपत्ति दुश्मनसँग युद्ध गर्दैन तर आफ्नो जोड़ी चालू-राँगोले हार्ने अवस्था आएमा मात्र यो किसिमको राँगोले युद्धमा भाग लिन्छ। यो राँगो डिफेन्डर जस्तै हो, कतै गाडा फंस्यो वा गरुङ्गो सामान बोकिरहँदा चालू-राँगोले गाडा तान्न नसकेर थुचुक्क बस्यो भने अरुकै भएपनि गध्याह राँगोनै प्राथमिकतामा पर्दछ। यो राँगो अल्छी जरुर हुन्छ तर धैर्यवान हुन्छ, राँगोचढ़ी गर्दा पनि यसको मुड हत्पति बिग्रिदैन!

राँगा बाहेक चढ्न त गोरु पनि सकिन्छ तर केहि बिशेष अवसरमा मात्र जस्तै: जेठ महिनामा गाईहरुको पछि-पछि लागेर गोठ सम्मै आउने र धपाउन खोज्दा टेर-पुछार नलाउने गोरुहरुको औषधि भनेकै गोरु-सवार हो। त्यस्ता पागलप्रेमी गोरुहरुलाई अनेक प्रकारले जसोतसो बाटो छेक्दै, लखेट्दै नदिमा पस्न बाध्य बनाउने अनि आफु पनि नदिमा हाम्फालने अनि गोरु-सवार सुरु गर्ने। हुनत, गोरुको जातै पानी देख्यो की पुच्छर ठाडो पारेर उफ़्रने हो, तर नदीमा त सकेपो उफ्रोस, अनि त्यसका सिङ्गलाई स्टेयरिङ्ग बनायर टन्न OX-Ridingको आनन्द लिने। तर गोरु किनारमा पुग्नु भन्दा पहिलेनै साबधानीपुर्बक गोरुलाई छोड़ीदिने, नत्र गोरुले Back -Kick  हान्नपायो भने नल्ठा (नलिखुट्टा) चूर पार्दीन सक्छ, र कथंकदाचित अगाडीबाट भेट्यो भने सिङ्गले भूँडिमा हानेर शहीद बनाई दिनसक्छ ! यसैगरि, सोहि प्रकारले नदिमा चाहिं चालु-राँगाको सवार पनि गर्नसकिन्छ ।

अस्तु !!

सुखलाल, मार्च २०१६, सिड्नी 

साङ्गलाको कथा

‘हैन, छोराहरु त अझै आईपुगेनन त?’, प्याजका सुकेका पत्रहरुको बीचमा घुस्रेको बाऊ-साङ्गलो  फेरी फुसफुसायो। झिसमिसे नहुँदै निद्रा खराब गरिदिएकोमा आमा-साङ्गलीको रिसको पारो निकै माथि चढीसकेको थियो, तर यसपाली उसले अद्भुत संयमता प्रदर्शन गरी र भनी, ‘यसो परसम्म हेरेर आउँछौ कि बूढ़ा?’ बाउ-साङ्गलो  एकछिन घोरियो अनि सम्झने कोसिस गर्यो, ‘होईन, अहिलेसम्म त कोही उठेका छैनन’, उ निश्चिन्त भयो अनि मनमनै बोल्यो ‘एकै छिनमा आइहाल्लान नि’, अनि वरपर छरिएका लसुनका सुकेका पत्र सोहोरेर सुत्ने प्रयास गर्यो।

बाउ-साङ्गलो निदाउन सकेन, जवान भएका दुई भाई छोरा खानाको खोजीमा बेलुकै निस्केका, बिहान हुन आँटिसक्दा पनि नफर्के पछि उसको छटपटाहट बढेको थियो। उसो त अचेल यो घरमा साङ्गलाहरुको लागि त्यति खतरा त थिएन। त्यही पनि बेला-बखत उसको माईलो छोरोलाई स्वाँ-स्वाँ यन्त्र (भ्याकुम क्लीनर)ले निलेर बेपत्ता भएको घटना सम्झेर उ बेचैन भईदिन्छ। हुनत यसमा छोरोकै सोझोपनको कमजोरी थियो। घर सफा गर्ने दिन शनिबार हो भन्नेमा ढुक्क हुनु अनि भ्याकुम क्लीनरको आवाज सुन्दा-सुन्दै पनि ‘लाटो न बाठो जस्तै’ भएर निसफ़िक्री डुलेर हिड्नु माइलोको कमजोरी थियो। तैबिसेक, भ्याकुम चलाउने ब्यक्ति मालिक भएको भए उसको छोरो बाँच्ने थियो कि भन्ने उसलाई झिनो आश रहन्थ्यो। के गर्नु, त्यो दिन भ्याकुम चलाउने घर-मालिकनी परिछ, छोरोको माया मार्नु परिगो। उसो त, भ्याकुम क्लीनरभित्र पसेर पनि बांचेका साङ्गला हरु पनि थिए। पल्लाघरे काकाले त आफ्नो अनुभवलाई समेटेर यात्रा-बृतांत लेखे। भ्याकुमभित्र हावाले फनफनी घुमाउँदा पनि आफुले होश नगुमाएको अनि, कालो अँध्यारो पाईपभित्रको बाटोमा हिंड्दा पनि आफू नआत्तिएको कुराहरु लेखिएको किताब हात-हातै बिक्री भयो। अचेल त, ति काका अरु अपार्टमेंटमा पनि किताब बिक्री गर्न मार्केटिंग गर्न थालिसके। हुन पनि, त्यो किताबले धेरै साङ्गलाहरुलाई सचेत पनि गराएको छ ।

साङ्गला  समुदायको नजरमा घर-मालिक निकै दयालु छ, कुना-काप्चा खोजी-खोजी साङ्गला  सोंस्न उसले भ्याकुम चलाउदैन, चलायो भनेपनि सकेसम्म साङ्गलाहरुलाई उसले भाग्न दिन्छ। बाउ-साङ्गलो आफैं पनि  २  पटकसम्म स्वां- स्वाँ यन्त्रको मुखैबाट फुत्केको छ। यसको बिपरीत घर-मालिकनी निकै क्रूर लाग्छे उसलाई। उसको अगाडि पर्नु भनेको काललाई निम्त्याउनु बराबर हो। साङ्गला  देख्नासाथ साङ्गला  मार्ने बिष किन नल्याको भनेर मालिकलाई कराईहाल्छे। पहिले एकपटक त मालिक ले बिष पनि ल्यायो, तर आफुहरुले त्यसको असर पचाईसकेको हुनाले यसो भूरा-भूरीहरु र केहि मर्न आँटेका बूढा-बूढीहरु बाहेक अरुलाई खासै असर गरेन। त्यसमाथि मालिकनीले  सबैले सुन्ने गरी त्यत्रो चिच्च्याएर बिष हाल्नुलगाएकोले सम्पूर्ण साङ्गला समुदायले पहिलेनै १ हप्ताको लागि आवश्यक खाद्यान्न भंडारण गरिसकेका हुनाले खासै क्षति भएन। त्यही भएर फेरी-फेरी मालिकनीले साङ्गला  देखेर बिष ल्याउ भन्दा, मालिक ले वास्तै गर्न  छोड्यो, ‘साङ्गला मर्ने होइनन, बेकारमा किन ल्याउनु’?

एकपटक घरमालिकको भाई बिदेशबाट आउने भयो, घरमालिक्नीले फेरी उतातिर खुब चल्तीमा रहेको साङ्गला मार्ने चक ल्याउन भनेर देवरलाई आग्रह गरी। साङ्गला  समुदाय सतर्क भयो, हुन पनि, देवर आएकै रात पुरा भान्सामा घेरो लाग्यो। केहि उरण्ठेउला ठिटा-साङ्गला हरु चम्केर घेरो हेर्न गए। घेरो गुलियो र निकै बासनादार थियो, मन थाम्न नसक्नेहरुले चाखेर आएछन, रातभरि उँधै र उँभै भएर झन्डै सुंईकेनन। कसो, रोग-प्रतिरोधक क्षमता बलियो रैछ, पहिलो विश्वका साङ्गला  परेर हो कि, जेहोस बाँचे। त्यसपछि, साङ्गला  समुदाय १  हप्तासम्म बाहिर निस्केन। हप्तादिनपछि, मालिकले भाईको चक र चकको क्षमतालाई उडाउनु उड़ायो।

त्यसपछि मालिकनी चुप लागी, उसो त घरमा मालिकका जोइपोई बाहेक अरु २ जनापनि बस्ने गर्छन, तर उनीहरु मालिक भन्दापनि बिंदास छन। सके त उनीहरुलाई घरमा साङ्गला छन भन्ने कुरा पनि थाहा पनि छैन होला, थाह नै भएपनि साङ्गला हरु प्रति उनीहरुको गुनासो बाउ- साङ्गलोले आज सम्म सुनेको छैन। तैपनी, उनीहरु प्रति साङ्गला  समुदाय बिस्वस्त छैन। उनीहरुले घर-सफा गर्दा घरमालिकले झैँ साङ्गला लाई भाग्ने मौका दिदैनन। धन्न, ऊनिहरुले आफ्नो पालो बाहेक अरुबेला सरसफाई पनि नगर्ने अनि उनीहरुको पालो सम्पूर्ण साङ्गला समुदायलाई थाह भएको हुनाले निकै सजिलो भएको बाउ-साङ्गलोको ठम्याई रहेको छ।

बाउ-साङ्गलो को नजरमा घर-मालिक मानव हैन, महा-मानव लाग्छ। कता-कता, घरमालिक पूर्ब-जन्ममा साङ्गलोनै थियो की भन्ने बिचार पनि उसको मनमा आउँछ। घर-मालिक प्रतीको उसको अतिबिश्वास उसकी स्वास्नी आमा-साङ्गलीलाई पटक्कै मन परेको छैन। हुनपनि एकपटक अचम्म भयो, बेलूकी सधैंझैँ ६ बजेतिर मालिक घर आयो, कान्छो छोरो आफ्ना साथीहरुसँगै गुरुरुरु दौडीदै ढोकासम्म पुग्यो, मालिकलाई हेर्ने भनेर। पूरा साङ्गलो समुदाय मालिकलाई बिस्वास गर्ने हुनाले मालिकको डर मांदैनथिए। तर, एकैछिनमा कानै खाने आवाजले पुरा साङ्गला  समुदाय त्राहि-त्राहि भयो। निकै ठुलो अनि एकोहोरो टूँsssss आवाजले राती सुत्न त के एक-अर्कासँग बोल्न र सुन्न समेत नसकिने भयो। आमा-साङ्गलीले ईशाराले खुच्चिंग भनी, बाउ-साङ्गलो रनभुल्लमा पर्यो, ‘हैन, मालिकले आज यो के यन्त्र ल्याएछन?, मालिकका जोइपोई त केहि नभएजस्तो भएर बसिराका छन त !’ समुदायमा ठुलो खैलाबैला भयो, साना नानीसाङ्गलाहरुको रूवाई एकातिर अनि, ‘सप्ताहको माईकको ढ़वाँगमा कान राखेझैँ’ गरी सुनिएको चर्को आवाज, केहि मेसो पाइएन। रातिनै बूढा-पाकाहरुको भेला बस्यो र तुरुन्त छिमेकी चाइनीजको घरमा बस्ने साङ्गलाहरुसँग सहायता माग्ने निधो भयो। आवाज त छिमेकमा पनि उस्तै रैछ, तर हरेक चेपे (चिनियाँ) साङ्गलाहरु निसफ़िक्री आफ्नै धंदामा छन त ! साङ्गलो टोली छक्क पर्यो, चेपेसाङ्गलाहरुको नेता आयो अनि एउटा एयरफोन जस्तो यन्त्र ५-६ जनालाई बांड्यो। बाउ-साङ्गलोले पनि यन्त्र लगाई हेर्यो, उसले ताज्जुब खायो, पूरा शान्त छ त ! गौर गरेर हेर्दा त जम्मै चेपेसाङ्गलाहरु त त्यही यन्त्र लगाईरहेका रहेछन। उनीहरुले प्रविधिमा गरेको चमत्कार देखेर बाउ-साङ्गलो जिल पर्यो।

चेपेसाङ्गलाहरुको नेताले धेरै कुरा नगरी सीधा क्याल्कुलेटर थिचेर यन्त्रको यति पैसा भनेर देखायो। यता टोलीले सम्पूर्ण साङ्गलाहरुको संख्या र जम्मा लाग्ने रकमको हिसाब गर्यो। 
अर्को बिकल्प थिएन, टोलीले सबैको लागि त्यो यन्त्र किन्यो। समुदायका केहि साङ्गलाहरुले चेपेसाङ्गली बिहे गरेका थिए, उनीहरुले यन्त्रको बट्टामा भएका अक्षरको अर्थ लाए। त्यो, हाई-फ्रीक्वेन्सीमा प्रबाहित  ध्वनि तरंगहरुलाई फिल्टर गरेर श्रवणयोग्य ध्वनि-तरंग हरु मात्र प्रबाह हुन दिने यन्त्र रैछ। घर-मालिक इंजीनियरिंग पढेको मानिस हो भन्ने उसले पटक पटक घरमालिकनीले आफ्ना साथीहरुलाई भनेको बाउ-साङ्गलोले सुनेको थियो। यसपटक घरमालिकलेनै साङ्गला  पनि नमार्ने तर उनीहरुलाई भगाउने रणनीति अख्तियार गरेको साङ्गला  समुदायले ठहर गर्यो। तर यो रणनीति एकैरातमा बिफल पारीदिएकोमा साङ्गला  समुदायले दीपावली मनायो।

यो घटना पछि पनि घरमालिक प्रति उसको प्रेम र बिस्वास घटेन। झन यो यन्त्र ल्याएदेखी त मालिकबाट आफूहरुलाई कुनै खतरा छैन भन्नेमा पूरा साङ्गला  समुदाय विश्वस्त भयो। बाउ-साङ्गलोलाई मालिकप्रति कृतज्ञता ब्यक्त गर्न मन लाग्यो, तर गर्ने पो कसरी? नभन्दै एकदिन मौका आयो, मालिकनीले माकुराहरु देखेर कराईरहेकि उसले सुन्यो। मालिक्नीको आक्रोशमा हांसदै मालिकले भन्यो ‘घरमा माकुराले जालो लाउनु भनेको दरिद्रता लाग्नु हो’ मालिकको कुरा सुनिरहेको घरमा बस्ने अर्को मान्छे ले थप्यो: ‘हो दाई, जताततै ऋण नै ऋण छ, आएदेखि घरमा पैसा पठाउन सक्या होइन, माकुराले बुझेरै जालो लाएछन’। मालिक हांस्यो, मालिक्नीले त्यति वास्ता गरिन। तर बाउ-साङ्गलोको अनुहारमा मुस्कान दौड़ियो। उसको लागि यो सुवर्ण अवसर थ्यो, मालिकप्रति कृतज्ञता जनाउने।

त्यो बेलुकी साङ्गला समुदायको भेला बस्यो, उर्दी जारी गर्नै परेन, त्यो रात सम्पूर्ण साङ्गला समुदायले माकुराका झुण्डहरुमाथि धावा बोल्यो। घमासान युद्ध भयो, माकुराहरु सित हतियार पनि कम थियो, अनि साङ्गलाहरुसँगको यो युद्ध अप्रत्याशित थियो। बिचाराहरुले एक त तयारी नै गर्न पाएनन, अनि यो घरमा भर्खर बसाईं सरेको हुनाले भूगोलको ज्ञान नहुनुले पनि माकुराहरुको हार भयो। माकुराहरुको भागाभाग भयो। यो घटना पछि साङ्गलो समुदाय खुसी भयो। त्यो घट्नापछि बाउ-साङ्गलो चाही आफुहरुले गरेको योगदान मालिकले थाह पाए कि पाएनन भनेर उत्सुकतापूर्वक घरमा हुने हरेक वार्तालाप कान थापेर सुन्ने गर्थ्यो।नभन्दै आज दिउँसो घर-मालिक र उसका साथीहरु बीच भएको बार्तालापले गर्दा उसको खुसी ठेगानमा थिएन।

दिउँसो मालिकका अरु दुई साथीहरु घरमा आएका थिए, कुरै-कुरामा साङ्गलाको कुरा निस्किहाल्यो। बाउ-साङ्गलोले एन्टेनारुपी जुँगा ठाडा बनायो, ‘टिभीमा चित्र प्रस्ट पार्न  एन्टेना घुमाएर सिग्नल टिपेजस्तै’ आफ्ना जुँगा सुइँ-सुइँ दायाँ-बायाँ घुमायो, अनि कुरा सुन्न थाल्यो। दुईजना मध्ये, एकजना ठाडा कपाल भएकाले ‘दाई, साङ्गलाले सारै सताए, केहि उपाय छैन’? भनि सोध्यो। मालिकले जवाफ दियो: ‘छ नि, एउटा बिष पाइन्छ, उ त्यहाँ अफगानीको पसलमा’!, तर, औषधि प्रयोग नगर यार, साङ्गला मार्नु हुँदैन’, मालिकले अझै थप्यो ‘मसँग बिष अझै छ तर अब साङ्गला त नमार्ने यार ‘। कुरा सकिएको थिएन, ठाडा कपाल भएकाले तुरुन्त  भन्यो: ‘त्यसो भए त्यो बिष मलाई दिनुस दाई म लिएर मेरो घरमा हाल्छु’। तर, मालिकले प्रतिवाद गर्यो, हुँदैन म त दिन्न, बिचारा उनीहरु पनि हाम्रा परिवार हुन, उनीहरुलाई कसले खान दिन्छ? आफूहरु प्रति आश्रित प्राणीलाई मार्नु हुन्छ?’ मालिकको कुरा सुनेर, अर्को चिम्सा आँखा भएको साथी विस्मयमिश्रित हाँसो हांस्यो, तर ‘ह्या दाई, त्यस्तो पनि हुन्छ?’ भन्यो अनि मोबाइलमा मुख गाडिहाल्यो । मालिकले गफ लडायो, ‘हेर भाई, साङ्गलाको मन हुन्छ, उनीहरुका पनि छोरा-छोरी हुन्छन, आफ्नो जीवनभरी उनीहरु हामी सँग बसिराख्या हुन्छन, हामीले छोडेको, खसेको जुठो खाने त हुन, थोडै उनीहरुलाई अलग्गै खाना पकाउनु पर्ने हो र?’ मालिकले पारिस्थितिक प्रणालीका कुरा गर्यो, सम्पूर्ण खाद्यान्न उत्पादनमा माहुरीको भूमिकाको बयान गर्यो, थुप्रै उदाहरणहरु प्रस्तुत गर्यो। त्यसमाथि, साङ्गलाको कारणले माकुराहरु हराएको कुरा पनि मालिकले उनीहरुलाई बताईरहँदा बाउ-साङ्गलालाई खुसीले झन्डै हृदयघात भयो। मालिकका तर्क सुनेर ठाडा कपालवालाले सहमतिमा टाउको हल्लायो। मालिक दंग पर्यो, ‘त्यसो भए अब साङ्गला मार्ने हैन नि?’ मालिकले दुबैलाई सोध्यो, चिम्सा आँखावालाले मालिकका तर्कलाई हाँसोमा उडाउँदै, ‘ह्या दाई, तपाईं लास्ट गफाडी यार?’ भन्यो। तर, ठाडा कपालवाला चाहिँ गम्भीर मुखाकृतिका साथ मालिकका तर्कमा सहमत देखियो, यता बाउ-साङ्गलो निकै प्रफुल्ल थियो। अब, चाहिँ उ पुरै प्रष्ट भयो कि, मालिक मानिस नै होइन, उ या त देउता हुनुपर्छ या त पूर्व-जन्मको साङ्गलो हुनुपर्छ ।

कल्पनामा डुबीरहेको बाउ-साङ्गलो घरमा मच्चिएको  हल्लाले झसंग भयो, छोराहरु आएछन । किन, ढिलो आएको भनेर बाउ-साङ्गलोले छोराहरुलाई हप्कायो, तर मायालु पाराले मालिकले मालिक्नीलाई हप्काएझैँ। छोराहरु निकै व्यस्त बनेछन रातभरि, खानेकुराको ठुलै पोको तयार पारेर ल्याएका रैछन। हिजो राति निकै अबेरसम्म  गाइंगुइं र भजन किर्तन हो कि के हो चलेको थियो, मालिक-मालिक्नीले भान्सा सरसफाई गर्न नभ्याएर केहि भाँडा माँझ्न बाँकीनै राखेर सुत्न गएछन। साङ्गलाका दुई-भाई छोराहरुलाई दशैं आएछ, दालको भाँडोमा पौडी नै खेल्न भ्याएछ कान्छोले, पुरै पहेंलपुर भएर आएको रहेछ। छोराहरुलाई सकुशल भेट्दा बाउ-साङ्गलोको मुटुको गति बिस्तारै सामान्य हुदैं आयो। ‘डाँकाहरु’…..रातभरी तिमेरुको चिन्ताले सुतेको छैन’ भन्दै बाउ-साङ्गलोले यसो पिटुँला झैँ गर्यो। साङ्गलाका छोराहरु टाप कसे ! जेजसो भएपनि आज, बाउ-साङ्गलो निकै खुसी छ र मालिक प्रति निकै अनुगृहित पनि, आफूहरुको पनि महत्व मानिसले बुझिदिएकोमा, भलै एकजना नै किन नहोस !

-सुखलाल २५ मे, २०१९ 

छेपारोको घर

ढिलै भएपनि आफ्ना मनका कुरा लेख्ने प्लेटफर्म बनाउन पाउँदा खुसि लागेको छ। 

What you do today can improve your Tomorrow !

-Ralph Marston

हुन त म लेखनमा पोख्त नभएपनि लेख-पढ गर्नमा रुचि भएको हुनाले, आफ्नै ब्लग खोल्ने अनि मनका कुराहरु लेख्ने योजना पुरानै हो।  तर जे गर्नु छ गरिहाल्नु पर्ने रैछ, नत्र त पछि गर्छु भन्दा भन्दै ‘छेपारोको घर’ भन्ने कथाको छेपारोझैं भएको पत्तै नहुने।