एन्जोय फुटबल , रेस्पेक्ट अल !”अ ब्युटिफुल गेम अन अर्थ”

-अशोक शर्मा, सिडनी

कोरोनाको कहरबीच प्रतियोगिता होला-नहोला भन्ने दुबिधा भैरहेको बेलामा साबिकको आयोजक अर्जेंटीनाले आयोजकबाट हात झिकेर निराश भएका फुटबल प्रेमिहरुलाई ब्राजीलले आयोजना गर्नेभएपछि निकै हर्षित बनाएको थियो। अन्ततः विश्वकप फुटबल प्रतियोगिताभन्दा पनि निकै लामो ईतिहास भएको कोपा अमेरिका फूटबल प्रतियोगिता सकिएको छ। निकै नै लामो समयको प्रतीक्षा पछि अर्जेन्टीना र लियोनल मेस्सीका प्रसंशकहरुमा खुशियाली संगै राहत पनि भएको छ। राहत यस कारण कि यो पुस्ताका दुई उत्कृष्ट खेलाडी रोनाल्डो र मेस्सी मध्ये रोनाल्डोले पहिले नै आफ्नो देश पोर्चुगलको तर्फबाट युरोकप जितिसकेका थिए भने मेस्सी ले सिनिएर खेल तर्फ आफ्नो देश अर्जेन्टिना बाट धेरै पटक फाइनल पुगेर पनि असफल भएका थिए। यी दुईमध्ये को महान खेलाडी भन्ने होडबाजीमा मेस्सी समर्थकलाई सोही उपलब्धिको आधारमा रोनाल्डो समर्थक द्वारा होच्याउने गरिएको थियो । अबउप्रान्त, यो कुरामा चाहिँ पूर्णविराम लागेको छ।

ब्यक्तिगत रुपमा भन्नुपर्दा, म यी दुबै महान खेलाडी लाई मन पराउछु, किनकी फुटबल खेल मेरो (धेरैको जस्तै) सानै देखिको प्यारो अनि आत्मिय खेल हो । पोर्चुगल युरोकपमा फ्रान्स विरुद्ध फाइनल खेल्दा, पोर्चुगलले जितोस भन्ने कामना मैले पनि गरेको थिएँ र पोर्चुगलले जित्यो पनि, सबै रोनाल्डो समर्थक सङ्गै म फुटबल प्रेमी पनि खुशी भएको थिएँ । तेस्तै आज म अर्जेन्टिना ले जित्दा मेस्सिको लागि खुशी भएँ। 
मेरो बिचारमा यी दुई समकालीन फुटबलका अब्बल खेलाडिहरुले आफ्नो देशबाट ठूलो प्रतियोगिता जित्नु भनेको फुटबल खेलकै जित हुनु हो।
अब कुरा गरौं केही सामाजिक सन्जाल मा ब्यक्त गरिएका कुराहरु । मेरा मनपर्ने साहित्यकार मध्यका एक बुद्धिसागर दाइको फेसबुक पेजमा देखेको केही पङ्क्तिहरु  :


खेलाडिको भागमा सबै खेल लेखिएको हुँदैन ।
र, सबै खेलको भाग्यमा मेस्सी लेखिएको हुँदैन ।।

कति मिठो प्रसंसा अनि सद्भाव झल्किन्छ उक्त पंक्तिहरुमा। उहाँ मेस्सिको ठूलो प्रसंसक हो भनेर जो कोहिले पनि बुझ्न सक्छ।
तेसैगरी सङ्गितकार/गायक काली प्रसाद बास्कोटाज्यु को फेसबुक पेजमा उहाँले मेस्सिले ट्रफी उचालेको भिडियो सेयर गर्दै बुद्धिसागर दाईलाई Mention पनि गर्नुभएको थियो।
यस्ता थुप्रै प्रसंसक हुनुहुन्छ तर उहाँहरु मेरो मनपर्ने अनि फेसबुकमा देखेर राखेको हु।
उहाँहरुले मेस्सी मनपर्ने भएर आफ्नो खुशी सङ्गै मेस्सिको तारिफ गर्नुभएको हो। तर बुझ्नुपर्ने कुरा के भने, यसमा रोनाल्डो अर्थात अरु कुनै खेलाडी प्रती नकारात्मकता अथवा घृणा छैन तैपनी बुझ्नेहरुले धेरै बुझ्दिन्छन पक्कै पनि ।
जस्तै: एउटा साबुनको बिज्ञापन गर्दा, तेसमा अर्को साबुनलाइ नराम्रो भन्न पाइदैन । पाइन्छ त केबल आफ्नो साबुनको सकेजती तारिफ गर्न।
त्यसैले आफुलाइ मेस्सी वा रोनाल्डो जो मनपर्छ खुलेर तारिफ गरौं तर अर्कोलाइ पनि सम्मान गरौं ।
आज यो लेख्दा कोपा अमेरिका को फाइनल भएर मैले मेस्सी लाई केन्द्रमा राखेको जस्तो लाग्न सक्छ। तर म के भन्न सक्छु भने, रोनाल्डो मात्र हैन पाएको मौकामा मेस्सिका फ्यानहरुले पनि खेदो खन्न छोड्दैनन।यसको मतलब सबै प्रशंसक त्यस्तै हुन्छ भन्न खोजेको होईन।
फुटबल जस्तो सन्सारमै धेरैको लोकप्रिय खेल, मनपराउने हामिजस्ता दर्शकहरुलाइ त एति मनपर्छ भने, एकपटक सोच्नुस मेस्सी/रोनाल्डो जस्ता थुप्रै खेलाडिहरु जसले आफ्नो सारा जीवन नै फुटबललाई दिएका हुन्छन । उनिहरुलाइ अझैकती माया अनि सद्भाव/लगाब होला यो खेलप्रती ।

फुटबल खेललाइ घृणा हैन, माया अनि सदभाबको खेल बनाउने काम गरौं । आउनुहोस सबै खेलाडिहरुलाई सम्मान गरौं , जसले गर्दा यो खेल यति रोमान्चक भएको छ ।
एन्जोइ फुटबल , रेस्पेक्ट अल ।अ ब्युटिफुल गेम अन अर्थ ।

१४ जुलाई २०२१ 

रेडियोमा फुटबल कमेन्ट्री सुन्दाका ति दिनहरु !

तिनताक, सारा गाउँमैं टीभी थिएन, बिजुलीनै थिएन त टीभी कसरी हुने? तदनुसार, १९९७ तिरको कुरो, बर्खाको समय थियो, धान रोपीसकिएको थियो, स्कूल पनि बिदा थियो क्यारे ! हंगकंगलाई चाईनाले फिर्ता लिईसकिएको थिएन, म त्यतिबेला ७ मा पढथें, फुटबलमा रुचि हुनुका साथै, फुटबल संबधि जानकारीहरुमा राम्रै चासो जागिसकेको थियो।

तराई तिर, धान रोपीसके पछि किसानको लागि गर्नुपर्ने खासै धेरै काम हुदैनन, त्यही हो धान बढ्दै गएको हेर्ने, धानको खेतमा पानी लगाउने, कुलो सफा गर्ने, अनि राँगा चराउन बन जाने !

यस्तै, बरखे मौसमको घमाइलो दिनमा काठमांडू मा आयोजना भैरहेको SAAF Football Championship को पहिलो म्याच रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने भयो। त्यस्तै, बेलूकी 3-4 बजे तिरको समयमा म्याच थियो। समय त प्रसस्त थियो, अब घरमैं कमैया भएका हुनाले काम त केहि गर्नुपरथेन, तैपनी कामनै गर्नुपर्ने ग़री म ठुलो भइसकेको पनि थिइन। सबै क़ुरा त मिल्यो तर रेडियोको जुगाड़मा अलिक सोच्नुपर्ने भयो। बाजेको रेडियो सुन्ने बिचार थियो, तर समाचार, बिबिसि र अन्य समाचारमूलक कार्यक्रम बाहेक अन्य कार्यक्रम झुक्केर पनि नसुन्ने बाजेले फुटबलको लाईभ कमेन्ट्री सुनलान र म पनि सुंनुला भन्ने सोच्नु कल्पनाभन्दा बाहिरको कुरो थियो। कहिलेकाहीं, बाजे आफ्नै सुरमा केहि कर्ममा ब्यस्त भएको बेला, रेडियोमा कुनै गीत-संगीत वाला कार्यक्रम बजीरहेको छ भने पनि, हामी रेडियो नजिक पुग्नासाथ रेडियो बन्द गरीदिने बाजेको बानी थियो।
तर मलाई फुटबल सुन्नु थियो। संयोगबश, बाजेको त्यो दिन दिउँसो कतै जाने काम परेछ, रेडियो सुन्न त पाइने भयो तर मामला गड़बड़ कहाँ हुन्छ भने, बाजे चाहिँ कतै जाने बेलामा रेडियो दराज भित्र राखेर ताला ठोकेर जाने ! तर, कसो-कसो बाजेको आँखा छलेर दराजभित्र राखिसकेको रेडियो निकालेर खाट मुनि लुकाई चाबी जस्ताको त्यस्तै बाजेको कोटको खलतीमा राखिदिएँ !

केहि छिनमा बाजे पुरै ठगलाईफ वाला स्टाइलमा रेडियो कसैले सुन्न नपाउने भए भन्ने सोचेर गए। तर, बाजे जाने बित्तिकै मैले महा-ठग लाईफ स्टाइलमा रेडियो निकालेर फुटबल सुन्न बसें।

केहिबेरमा फुटबल सुरु भयो, नेपाल र पाकिस्तान को बीच लीगचरणको पहिलो म्याच थियो। दीपक अमात्य, देवनारायण चौधरी, हरि खड्का, बालगोपाल महर्जन, राजू पुलामी, उपेन्द्रमान सिंह जस्ता स्टार खेलाड़ीले भरिएको टीमले स्वाभाविकत: पाकिस्तानी टिमलाई पुरै दबाबमा राखेर खेल्यो।

कमेन्ट्री दशरथ रंगशालाबाट स्व. पाण्डव सुनुवारले गरिरहेका थिए, नेपालले बल अगाडि बढाएको सुन्ना साथ जिउ सिरिंग हुन्थ्यो, गोल हुन्छ की जस्तो लाग्थयो। तर, हाफ टाईम भन्दा अगाडि नै, पाकिस्तानको खै के मोहम्मद भन्नेले गोल ठोक्यो।
त्यसपछि पनि नेपालले आफ्नो चिरपरिचित शैली अनुसार निकै पेल्यो, गोल हान्ने भरमगदुर प्रयास गर्यो, तर ति प्रयासहरु सबै ब्यर्थ साबित भए, 67 होकि 68 मिनटमा नेपालले अर्को गोल खायो। अब नजिते पनि, 1 गोल त गर्छ की भनेर कान ठाड़ा पारेर पुरै खेल सुनें तर, नेपाल पराजित भयो त्यो दिन। बिस्मातको मन भयो, पहिलो पटक फुटबल लाईभ सुनेको दिन थियो।

लीगचरणको अर्को खेलमा श्रीलंकासँग त नेपालले 3 गोल खायो, रोशन परेरा भन्नेले ह्याट्रिक गर्यो। मेरो बिचारमा राजू शाक्यले नेपालको कप्तानी छोडेपछि नेपालले दीपक अमात्यको कप्तानीमा खेलेका केहि सुरूवाती खेल हुनुपर्छ ति खेलहरु।
पछि, त्यो प्रतियोगितामा भारतका आई एम विजयन भन्ने खेलाडी निकै चमके। भाईचुंग भूटिया भन्ने युवा खेलाड़ी त्यतिबेलै चमके! नेपाली प्रष्ट बोल्ने नेपाली मूलका दार्जीलिंगे खेलाड़ी काठमांडूमा त सेलिब्रेटी नै भए।

पछि त्यो प्रतियोगिता भारतले मालदीव्सलाई हराएर जीत्यो। सेमीफाइनलमा मालदीव्स र श्रीलंकाका खेलाड़ीबीच खेल समाप्तिसँगै झड़प भयो, जून निकै दुःखद थियो।
नेपाल र पाकिस्तानबीच को फुटबल खेल पछि मैले कुनै पनि खेलको कमेंट्री सुनिन क्यारे ! १९९८ मा त टीभी आई सकेको थियो घरमा ब्याटरी चार्ज गरेर हेर्नुपर्ने, वर्ल्डकप त्यसैमा हेरियो।

धन्यबाद
दिनांक १८ मार्च, २०२१, सिडनी

कालापानी मुद्दा, मौसमी मुद्दा नबनोस !

बि. सं. ०५२/०५३ सालतिर नेपालको राष्ट्रीय राजनीति र संसदमा एउटा बिषयले निकै ठुलो गर्मागरम बहस चलेको थियो। बहसको बिषय थियो: महाकाली सन्धि ! काँग्रेस त सन्धिको प्रस्तावकनै भएकोले कांग्रेस भित्र यस सन्धिको बारेमा कुनै त्यस्तो मतान्तर वा बहस हुने कुरै भएन। तर, प्रमुख प्रतिपक्षी दल; तत्कालीन नेकपा (एमाले) भित्र चाहिँ यो सन्धिले खैलाबैला नै मच्चायो। एमाले नेताहरुका अमूर्त र उदेकलाग्दा भनाईले सञ्चारमाध्यम ब्यस्त हुन थाले। एमालेका तत्कालीन महासचिव माधव नेपालले त, महाकाली नदीको टनकपुर बांधबाट निस्केको बिजली satelite बाट चाईनालाई बेच्ने सम्मको भनाई राखेको कुरा पनि सुन्नमा आयो।
बहसले उग्र रूप लियो, फलस्वरूप एमालेको पाँचौ महाधिबेशन (नेपालगंज महाधिबेशन)मा बहसको भौतिक नतीजा देखा पर्यो। एमालेको विद्यार्थी संगठन अखिलका तत्कालीन अध्यक्ष रूपनारायण श्रेष्ठ र महासचिव योगेश भट्टराईमाथि भौतिक आक्रमण भयो। तुष् बढ्दै गयो, अंततगोत्वा अल्पमत पक्षधरका सहाना प्रधान, बामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतका १० जना मुख्य नेताहरुलाई एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि नेकपा एमाले फुट्यो। त्यसपछि, झन्डै ४४-४५ संसद लिएर सहाना प्रधानको अध्यक्षतामा संख्यात्मक रुपमा माउ पार्टीभन्दा ठुलो पार्टी बन्दै नेकपा माले राष्ट्रीय राजनीतिमा आयो।
नेकपा माले आइसकेपछि यसले संसद देखी सड़कसम्म उल्कै हुने ग़री उपस्थिति देखाउन थाल्यो। कहिले, ६ बाम, ७ बाम र ९ बाम हुंदै मालेले राष्ट्रीय राजनीति तताउँदै गर्दा मालेको विद्यार्थी संगठन अखिलले बिभिन्न मुद्दाहरुमा देशब्यापि प्रदर्शन गर्न थाल्यो। ति मध्ये, विद्यार्थीहरुलाई सार्बजनिक सवारीसाधनहरुमा ३३% छूट, प्रवीण गुरूंगका हत्यारालाई कारबाहीको माग गर्दै दरबारमा हस्ताक्षर बुझाउने काम जस्ता थुप्रै कुरा हरु भए। यी मध्ये सबै भन्दा हिम्मतिलो र ऐतिहासिक काम थियो: बहुचर्चित कालापानी मार्च !
स्व. रबिन्द्र अधिकारी र योगेश भट्टराईहरुको नेतृत्वमा गएको टोली भलै कालापानी सम्म त पुग्न पाएन (भारतीय फौजको अबरोधको कारणले) तर यसले राजनीतिमा छुट्टै तरङ्ग ल्याइदियो ।धेरै जसो जनतालाई कालापानीमा भारतले अतिक्रमण गरेको कुरा थाहै थिएन, र त्यो मार्चपासले नेपालीहरुलाई नेपाल माथि भारतको नाङ्गो हस्तक्षेपलाई उदांगों पारीदियो। हो, त्यतिनै बेला हो, बिधान श्रेष्ठको, ‘माछी मार्न जाऊँन दाजै कालापानीमा’ भन्ने गीत आएको, जो अहिले प्रतिबंधित छ। तर, दुर्भाग्य कालापानी अतिक्रमणको बिषय तत्कालीन सत्ताधारी काँग्रेस र भारतीय सत्ताको प्राथमिकतामा कहिले परेन। त्यतिखेर, अहिलेका जस्तो यूटुबे र फेसबूके पत्रकारको बिगबिगी थिएन, बिरलै पाइने केहि साप्ताहिक र मासिक पत्रिकाको भरमा समाचार थाह पाइन्थ्यो।

०५५ सालमा चुनाव भयो, कालापानी मार्च गरेको बापत तत्कालीन मालेले राम्रै पुरुस्कार पायो, चुनावमा माले निल भयो, नेपालका नेता मात्र होईन, जनता पनि भेड़ा रहेछन भन्ने फेरि एकपटक प्रमाणित भयो। चुनावमा माले निल भएको फाइदा माओबादीले भरपूर उपयोग गर्यो। त्यसपछि देशको राजनीति कहाँ पुग्यो, सबैलाई थाह छ। तर, कालापानी मार्चमा देशको झण्डा बोकेर ज्यान हत्केलामा राखेको परिणाम अझै पनि केहि नेताहरु भोगीरहेछन। योगेश भट्टराईले काठमांडुबाट कहिले चुनाव जितेनन, बामदेव गौतम बारम्बार बर्दियाबाट हारीरहन्छन, संसदमा सबैभन्दा पहिले कालापानी को मुद्दा उठाउने दार्चुलाका सांसद प्रेमसिंह धामीको दुर्घटनामा मृत्यु हुनु, सहाना प्रधान जस्ता नेता लाई राष्ट्रपति को लोभ देखाएर गुमनाम मृत्युबरण गर्न बाध्य बनाइयो। धेरै कुरा लेख्नै परदैन, सर्टकटमा भन्दा नेपाली जनताले सही कुरा र सही नेतालाई सही मूल्यांकन गर्नै सकेन । नभए, केहि समय अघि फेसबुकमा भाइरल भएको, ‘महाकाली सन्धिको बखत पक्ष र बिपक्षमा रहेका’ एमाले नेताहरुको आजको हैसियत र पद हेरे पुग्छ।
तरै पनि, हरेक बादलको किनारामा चाँदीको घेरा हुन्छ भनेजस्तै, नक्सामा नै सही ओली सरकारले लिम्पियाधुरालाई पनि आफ्नो नेपालको नक्सामा समेटेको कदम एकदमै सराहाननिय छ। केपी ओलीको यो हिम्मतको प्रसंसा गर्नै पर्छ। यसका साथै, विपक्षी दल काँग्रेशको आधिकारिक भनाई केहि नआएपनि मेरा गुरु (एपेक्स कलेज पढ्दाताका) तथा काँग्रेश नेता डा. मिनेन्द्र रिजालले भारतीय समाचार च्यानललाई दिनुभएको जवाफ र प्रधानमन्त्रीको काम प्रति जनाउनु भएको एकयबद्दतालाई सलाम गर्नै पर्छ।
अन्त्यमा, बिगत जस्तो कालापानी मुद्दा मौसमी मुद्दा नबनोस, प्रतिपक्षी काँग्रेश पनि चुप नलागोस, दुई-तिहाईको सरकार छ, सरकारले दरो जवाफ दिनैपर्छ। महान विश्लेषक ‘सौरभ’को शब्द सापटी लिएर भन्नुपर्दा, ‘नेपालले एकपटक सानो नै सही, फौजी धक्का त दिनै पर्छ!

नोट: देशभक्ति एक भावना हो, र यसको कुनै भौगोलिक सिमाना हुँदैन।
धन्यबाद!

विकासको अवधारणा र स्थिरताको चिन्तन

२०७६ सालको धान दिवसलाई विविध रमाइला कार्यक्रमहरूको आयोजनासँगै बिदा गरियो । सामाजिक सञ्जालमा कतिले यसलाई उत्सवका रूपमा मनाए त कसैले हातमा पञ्जा लगाएर धान रोपे । कसैले धानको बिऊका माला लगाएर धान दिवसका दिन कृषक र कृषिप्रति ऐक्यबद्धता जनाएको कुरो क्षापक्षाप्ति सामाजिक सञ्जालमा पैmलाए । यस्ता क्रियाकलापले आम सर्वसाधारणलाई खुशी बनाउनुको सट्टा मानो रोपेर मुरी फलाउने महत्त्वपूर्ण कामको उपहास गरेको महसुस गरायो । किनकि यो एकदिनको रमाइलो होइन । कुनै समय कुल ग्राहस्थ्य उत्पादनको एक तिहाइ बढी अंश कृषिले योगदान गरेको हाम्रो मुलुकमा २०७५ मा आइपुग्दा यो एक चौथाइमा सीमित भएको छ । हाम्रो नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषि भनेर हामीले बच्चाबेला पढेको कुरा अहिलेका पुस्ताले कृषि र विप्रेषण भनेर पढ्दैछन् जसको कुल ग्राहस्थ्य उत्पादनमा क्रमशः २७ प्रतिशत र २६ प्रतिशतको योगदान छ ।
अब असार १६ गते र त्यसपछिका दिनहरु कसरी अघि बढ्छन्, ती रमाइलो गर्ने व्यक्तित्वहरूका ध्यानमा पर्ने विषय रहेनन् । उनीहरूले १५ गतेका दिन छोएको हिलो अनि खाएको दही, चिउरा र केराका फोटा अनि भिडिया सामाजिक सञ्जालमा सबैलाई देखाएपछि उनीहरूको काम सक्कियो । कुनै किसानलाई मकै भाँचिसकेपछि कहिले पानी पर्छ र खेत रोपम्ला भन्ने चिन्ता छ अझै । कसैले मल समयमा नपाएर बसेका छन्, धान धेरै नफल्ने भो भन्ने चिन्ता छ अर्कातिर । अनि अझ अर्को ठूलो चिन्ता त खेतालाको छ जुन सबै परिपाट मिल्दा पनि भेटिएनन् भने बिऊ छिप्पिएर अर्को समस्या आइपर्छ । 
मध्य असार कटिसक्दा पनि आकाशबाट पानी नपरेर अछाम जिल्लाका ७५ प्रतिशत खेतमा रोपाइ हुने मेलोमेसो छैन । सिंचाइको सुविधा कस्ले गर्दिने हो । यता हामी जग्गा बाँझो राखे जरिवाना असुल्ने नीति कस्दै छौं । एकातिर हामी स्वदेशमै काम गर्न पाउने वातावरणको सिर्जना गर्ने कुरा गर्छौं, अर्कातर्फ हामी तयारी गरिञ्जेललाई रोजगारीको अस्थायी पूर्ति गर्ने नाममा भटाभट विकासशील र विकसित राष्ट्रहरुसँग श्रम सम्झौता गर्न व्यस्त छौं । कुनै पनि राजनीतिक पार्टीका घोषणापत्र चुनावका बेला सबैका हातहातमा हुन्थे; तर अहिले त्यसमा के थियो भन्ने स्वयं ति नेताले घोषणापत्रका पाना नहेरी भन्न सक्दैनन् । सस्तो श्रमको बिक्रि गरेर, वैदेशिक रोजगारीको प्रबद्र्धन गरेर आएको विप्रेषणले देश कहिले सम्म चल्ने हो थाहा छैन । एउटा धेरै कामदार खपत गर्ने देशमा कामदार पठाउन ठप्प भयो भने देशको आर्थिक सर्वेक्षणले रातो धर्को देखाउने मुलुकको आर्थिक दीगोपना कसरी बलियो छ भनेर ढुक्क हुने हामी<
विरोधका लागि विरोध गर्ने र कसरी सरकारको बदख्वाईं गर्न सकिन्छ भनेर आँखा झिमिक्क नगरी बसेको प्रतिपक्षले न त आफ्नो आन्तरिक व्यवस्थापन गर्न सकेको छ न त रचनात्मक प्रतिपक्षको भुमिका खेल्न सकेको छ । बहुमत प्राप्त सरकारबाट अपेक्षाकृत उपलब्धि हासिल भएको अवस्था दृष्टिगोचर नहुँदा सत्तापक्षभित्रैका नेता कार्यकर्ता तर् मार्ने खेलमा लागेको अनुभुति भइरहँदा, हामी सर्वसाधारणलाई छोप्ने एउटै कुराले हो । त्यो हो निराशा । सक्ने र क्षमता भएका बाउआमाले राम्रा निजी विद्यालयमा पढाउँछन् भनेर आम नागरिकको धरातलीय यथार्थलाई नजरअन्दाज गरिदिने सरकारका कारण समाजवादतिर उन्मुख भएको महसुस कसैले गरेको देखिंदैन । आफ्ना सन्तति पढाउन, बिरामी हुँदा उपचार र औषधीमुलो गराउन एउटा नागरिक ऋणको खाडलमा जाकिंदै जाने कहिले सम्म< वर्षको दश महिना योजनामात्र बन्ने अनि बाँकी दुई महिनामा असारे भेलमा दैनिक २ देखि ४ अर्बको विकास बगाउने हो भने हामी कहिले माथि उठौंला< यो बुझ्ने कस्ले< अर्कोतर्पm मूलधारका राजनीतिक पार्टीले परिणाम देखाउन सकेनन् भन्दै खुलेका नयाँ र बैकल्पिक भनिएका पाटीहरूले पनि कुनै नयाँ आशाको सञ्चार गर्न सकेको देखिंदैन । 
यसरी वर्तमान अवस्थाका नकारात्मक पक्ष केलाईरहँदा हामी स्वयं नागरिकले पनि के आफ्ना कर्तव्य इमान्दारिताका साथ निभाउँदै छौं त< भन्ने प्रश्न आफैंलाई पनि गर्नुपर्ने देखिन्छ । पहिलेको जस्तो छ महिना मिहिनेत गरेर छ महिना गरिने ठीकैको मिहिनेतले अब चल्नेवाला छैन । पैसा धेरै भएको धनी मान्छेलाई निसन्देह सम्मानको पात्र बनाउने तर उसको अस्वाभाविक प्रगति कसरी भयो त्यसको हेक्का नराख्ने बानी घातक छ हाम्रो । जबसम्म हामी सातपुस्तासम्मलाई सम्पत्ति जोड्ने सोचले अघि बढीरहन्छौं तबसम्म हामीले नै सत्तामा पु¥याएका हाम्रा प्रतिनिधी त्यसबाट अछुत रहलान भन्ने नसोचे हुन्छ । अरुबेला पार्टी र नेताको सत्तोसराप गरिहिंड्ने मान्छेले जबसम्म निर्वाचनमा भूmठा आश्वासन र गुलिया कुरा गर्नेका पछाडी हिंड्न छाडेर प्रतिबद्ध मान्छे चुन्दैन तबसम्म हामीले पठाउने मान्छेले हाम्रै छद्म प्रवृत्तिको प्रतिनिधीत्व गर्छ भन्ने बिर्सन हुँदैन ।
दुई ठूला उदाउँदा अर्थतन्त्रका बीच फल्नेफूल्ने आशामा रहेको हाम्रो अर्थतन्त्र, जबसम्म हामीले उत्पादन बढाउन सक्दैनौं तबसम्म ठींगुरिएरै बस्नपर्छ । व्यापार घाटा बढिरहन्छ । छिमेकी राष्ट्रमा निर्वाचन हुँदा केही दिन बन्द हुने नाका र त्यसबेला दोब्बर तेब्बर महङ्गो हुने हाम्रो तरकारीको मूल्यले हाम्रो यथार्थ राम्रैसँग चेतना गराइदिन्छ । यता भएका उत्पादन बजारमा पुग्दा मुल्य आकाशिन्छ । कतै यातायातको असुविधाले त कतै बजारको अभावले अवमूल्यन भइरहेका छन् हाम्रा मिहिनेतहरू।
कालीकोट जिल्लाको पलाँसा गाउँपालिकाले २०७५ मा गठन गरेको कार्यदलको समाचार पढ्दा अब चाहिं संघियताले केही गर्ला है भन्ने निकै आशा जागेको हो । आफ्नो गाउँका कुनैपनि विकास निर्माणका काम गर्न, खेति किसानी र उब्जनीका काम गर्न गठन गरिएको यो कार्यदलले रोजगारीका लागि छ महिना गाउँ र छ महिना भारत पस्ने ठूलो युवा जमातलाई रोक्ने राम्रो योजना गरेको हो । गाउँपालिकाले मासिक २४ हजार तलब दिने यो दस्ताका सदस्यले महिनामा तीन दिन सरसफाई, तीनदिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गर्छन् । थाहा छैन अहिले यो दस्ताको स्थिति के छ? यस्तो राम्रो कामको अनुसरण अन्य गाउँ तथा नगरपालिकाले गरे गरेनन् सञ्चारमाध्यममा त्यति आएनन् तर यसप्रकारका अवधारणा वास्तवमै महत्त्वपूर्ण हुन्छन्, तलैदेखि विकासको मूल फुटाउन ।
यी यावत् परिस्थितिबाट हामीले सिक्ने कहिले । ती पाठ पढेपछि लागुगर्ने कहिले । आपूmलाई पर्दा केही नबोल्ने, नियम कानुन मिच्ने र अर्काले गर्यो भने समाज र सामाजिक सञ्जालमा रोइलो गर्ने प्रवृत्ति हामीले सुधार्न पर्छ । एकदिन रमाएर हँुदैन, त्यो खुशीलाई दीगो बनाउन रातदिन खटिनुपर्छ, आप्mना कर्तव्यको पालना गर्नुपर्छ, अधिकारको रक्षा र नपाए लडेर भएपनि माग गर्नुपर्छ । तर यो विचार आद्योपान्त पढ्नुहुनेमध्ये प्रायःले सोच्नुहुनेछ, भन्न सजिलो छ तर गर्न गाह«««ो । तर यसो भनेर यथास्थितिमा हामी कहिलेसम्म रुमल्लिइरहने<
praman.adhikari@gmail.com@pramanunique

राँगो/भैँसी महात्म्य (राँगो अथवा भैँसी सवार गर्ने कला)

घोड़चढि अर्थात घोडाको सवारीको बारेमा प्राय: सबैलाई थाह नै होला! घोडा अनि घोडा चढ्ने कलाको बारेमा शायद थुप्रै पटक लेखिएका पनि छन। प्राय: सबैले आफ्नो जीवनकालमा घोडा नचढेपनि घोडचढी कला नितान्त नौलो कुरा होईन। तर, समयक्रमसंगै अब राँगो/भैँसीका पनि दिन आएका छन। 

घोडा चढ़ने सरकारहरुका दिन गएसंगै एकाएक भैँसीको महत्व बढेर गएको छ। कुरोको चुरो के हो भने केहि समय पहिले हाम्रा सम्माननीय राष्ट्रपति डा. रामवरण महोदयले कुनै प्रसङ्गमा आफु आफ्नो बाल्यकालमा भैंसी चराउने र राँगा/भैंसी चढेर हुर्केको कुरा बताउनु भयो। त्यसैगरि केहि समय पहिले हाम्रा कम्युनिष्ट प्रधानमन्त्रीज्यूले पनि कता-कता भैंसी पुजा गरेको समेत सुन्नमा आयो। सो क्रममा मलाई के लाग्यो भने अब राँगो वा भैंसीको त निकै महत्व बढेको छ। राष्ट्राध्यक्षलेनै भनिसके पछि त मलाई त कस्तो लाग्यो भन्दाखेरि, पहिले राजा महाराजाले घोडा चढ़न तालीम लिनु पर्थ्यो भने अब राजा(राष्ट्रपति) बन्न भैँसी/राँगो चढ़न जानेको हुनुपर्ने अनिवार्य पो भएको हो कि? देशका ठुला-ठुला व्यक्तित्वहरुसँग जोडीई सकेपछि त मलाई पनि राँगा/भैंसी सम्बन्धि केहि लेखुं-लेखुं लागेर आयो, अझ आफुसँग पनि सानोमा राँगा चराएको अनि राँगा चढ्दै दाइँ गरेको अनि राँगाको सिङ्ग समातेर नदिमा राइड गरेको जस्ता रोचक अनुभव भएको हुनाले सर्वप्रथम त राँगानै कसरी चढ्ने वा राँगा चढ्ने कला सम्बन्धि लेख्न मन लाग्यो।

सर्वप्रथम त, सबैले भैँसी/राँगो चढ़न पनि नपाउने, तर यदि यदाकदा अवसर पाईहालेमा पनि राँगोचढि कलाको अभावमा दुर्घटना भई नाकमुख ध्वस्त भएर सपाट समेत हुनसक्ने र भएका भैँसी/राँगा जति सप्पै मो:मो: बन्न थालेकाले, भविष्यमा भैँसी/राँगाहरुसंगै यो कला पनि लोप हुने खतरा बढेकोले र  भैँसी/राँगो चढ़ने कला सम्बन्धी कसैले पुस्तक नलेख्ने हुँदा यस सम्बन्धी आफ्नो थोरै अनुभव पोखिदिउँ जस्तो लाग्यो ।

सामान्यतया मेरो जन्मस्थलतिर मानिसहरु भैँसीको सवार गर्दैनन्, किनकि पहिलो कुरो त भैँसी स्त्रीजाती भएको हुनाले र अर्कोकुरा गाऊँ नजिकै बन-जङ्गल प्रसस्त छ भने प्राय:जसो भैंसीहरुलाई चराउन बनतिरनै पठाइने गरिन्छ। त्यसैले, सवारीको लागि भैंसी भन्दा राँगानै उपयुक्त हुन्छ। राँगा चढ्ने भन्दैमा जहिले पायो तहिले चढ्ने कुरा हुँदैन, बिशेष गरि दाईँ हाल्ने बेला अनि राँगाको खासै काम नभएको बेला खेतमा चराउँदा मात्र राँगोचढ़ीको अनुभव लिन सकिन्छ! राँगा सवारीको लागि ठाउँ, समय र परिस्थिति पनि महत्वपूर्ण हुन्छ, जस्तै: जङ्गलमा चरिरहँदा वरी-परि जवान भैंसीहरु छन् भने राँगाको सवार निकै खतरनाक हुनसक्छ, यस्तो अवस्थामा राँगाले आफ्नो ढाडमा को छ भन्ने कुराको वास्तै नगरी कुनैपनि बखत प्रजनन् प्रक्रिया आरम्भ गरिदिन सक्छ र ढाडमा सवार व्यक्ति मुख वा दाँतको भरमा जमिनमा बजारिन सक्छ।

यसैगरी, जंगलमा राँगो चरिरहेको बखत वरिपरी अरु कुनै राँगाहरु छन् कि छैनन भन्ने कुरा ख्याल नगरी  राँगोचढ़ी को प्रयास गर्नु घातक पनि हुन सक्छ। किनकी जंगलमा कुनै पनि बखत दुश्मन राँगोसँग युद्द हुन सक्छ,अथवा कुनै कारणवश राँगोको मुड़ अचानक परिवर्तन भई स्वयं राँगो एक धावक मा परिवर्तन भईदिन सक्छ। त्यस्तोबेलामा सवारले चलाखिपूर्ण तरिकाले हाम फालिहाल्नु पर्छ नत्रता सवारको नाकमुखनै जमिनमा लोप हुन सक्छ । 

सवारको लागी उपयुक्त राँगो कसरी चिन्ने ?:

मुख्यतया: राँगा दुई प्रकारका हुन्छन:

  • चालू-राँगो (एकदम काउकुती मान्ने  खालको )

यस्तो किसिमको राँगो छुना-साथ उफ्रिने हुनाले यसको सवार गर्नु लगभग असंभवप्राय: नै हुन्छ, दाँई गर्दा बाहिरी परिधिमा रहने अनि छिटो-छिटो हिँड्नु पर्ने हुनाले पनि यो किसिमको राँगो, प्राय:दाहिने तिर जोतिन्छ। वास्तबमा, यो किसिमको राँगो स्ट्राइकरजस्तै हो, दुश्मनसँगको युद्धमा होस या जुवामा नार्दा होस, यो किसिमको राँगो सधैँ पहिलो हुन्छ, तर बलको कुरामा भने यो अर्को किसिमको राँगोभन्दा कमजोर हुन्छ ।

  • गध्याह-राँगो  (अल्छी,सुस्त तर बलियो)

यो किसिमको राँगो एकदम मजाको हुन्छ, र राँगोचढिको लागी पनि यही किसिमको राँगो उपयुक्त हुन्छ । गध्याह-राँगोले हतपत्ति दुश्मनसँग युद्ध गर्दैन तर आफ्नो जोड़ी चालू-राँगोले हार्ने अवस्था आएमा मात्र यो किसिमको राँगोले युद्धमा भाग लिन्छ। यो राँगो डिफेन्डर जस्तै हो, कतै गाडा फंस्यो वा गरुङ्गो सामान बोकिरहँदा चालू-राँगोले गाडा तान्न नसकेर थुचुक्क बस्यो भने अरुकै भएपनि गध्याह राँगोनै प्राथमिकतामा पर्दछ। यो राँगो अल्छी जरुर हुन्छ तर धैर्यवान हुन्छ, राँगोचढ़ी गर्दा पनि यसको मुड हत्पति बिग्रिदैन!

राँगा बाहेक चढ्न त गोरु पनि सकिन्छ तर केहि बिशेष अवसरमा मात्र जस्तै: जेठ महिनामा गाईहरुको पछि-पछि लागेर गोठ सम्मै आउने र धपाउन खोज्दा टेर-पुछार नलाउने गोरुहरुको औषधि भनेकै गोरु-सवार हो। त्यस्ता पागलप्रेमी गोरुहरुलाई अनेक प्रकारले जसोतसो बाटो छेक्दै, लखेट्दै नदिमा पस्न बाध्य बनाउने अनि आफु पनि नदिमा हाम्फालने अनि गोरु-सवार सुरु गर्ने। हुनत, गोरुको जातै पानी देख्यो की पुच्छर ठाडो पारेर उफ़्रने हो, तर नदीमा त सकेपो उफ्रोस, अनि त्यसका सिङ्गलाई स्टेयरिङ्ग बनायर टन्न OX-Ridingको आनन्द लिने। तर गोरु किनारमा पुग्नु भन्दा पहिलेनै साबधानीपुर्बक गोरुलाई छोड़ीदिने, नत्र गोरुले Back -Kick  हान्नपायो भने नल्ठा (नलिखुट्टा) चूर पार्दीन सक्छ, र कथंकदाचित अगाडीबाट भेट्यो भने सिङ्गले भूँडिमा हानेर शहीद बनाई दिनसक्छ ! यसैगरि, सोहि प्रकारले नदिमा चाहिं चालु-राँगाको सवार पनि गर्नसकिन्छ ।

अस्तु !!

सुखलाल, मार्च २०१६, सिड्नी 

छेपारोको घर

ढिलै भएपनि आफ्ना मनका कुरा लेख्ने प्लेटफर्म बनाउन पाउँदा खुसि लागेको छ। 

What you do today can improve your Tomorrow !

-Ralph Marston

हुन त म लेखनमा पोख्त नभएपनि लेख-पढ गर्नमा रुचि भएको हुनाले, आफ्नै ब्लग खोल्ने अनि मनका कुराहरु लेख्ने योजना पुरानै हो।  तर जे गर्नु छ गरिहाल्नु पर्ने रैछ, नत्र त पछि गर्छु भन्दा भन्दै ‘छेपारोको घर’ भन्ने कथाको छेपारोझैं भएको पत्तै नहुने।