जिन्दगी

जसै छोट्का थारूको निकै कड़ा प्रहार मेरो टाउकोमा बज्रयो, मैले केहि पनि देखिन, निकै पर चम्किलो पंहेलो प्रकाश सिवाय मेरो वरीपरी केहि थिएन। एकसुरको ट्वाँssssssss  आवाज बाहेक मैले केहि सुनिरहेको थिईन, होईन मत बेहोश भएछु कि भनेर होशमा आउन प्रयत्न गरें। अहँ, प्रयास निरर्थक भयो, चलमलाउने कोशिश गरें, शरीर निकै हलूँगो लाग्यो, मानौं शून्यतामा पौड़ी खेलिरहेको जस्तो। एकपटक म्याऊँ गरें, आफ्नै आवाज आफैं सुनिन, हैन यो के भयो? एकैछिनमा दृश्यहरु देखिए, निकै गजबको दृश्य, म त उडिरहेको रहेछु, छोट्का थारूको बुकरा भित्र-भित्रै, छाना मुनि ! 

निकै रमाईलो लागिरहेको थियो, सोचें अब मलाई कसैले पक्रन सक्ने छैन, जिन्दगी झन गजबको हुने भयो। उसै त राजकुमारको जिन्दगी बाँचीरहेको थिएँ, अब त बादशाह नै भएँ। तर यो कल्पनाको उड़ान छिट्टै नै दुर्घटनाग्रस्त भयो, तल चूल्होको नजिक छोट्काले अचानोमा केहि ढवांग गर्दै केहि काट्यो, यता छोट्की निभिसकेको चूल्होलाई पुनः बाल्ने प्रयत्न गर्दै थिई। गौर गरेर हेर्दा त अचानोमा भर्खरै मेरै पाखुरालाई जिउबाट छिनाइएको रैछ। मलाई निकै अचम्म लाग्यो, यो के भैरहेछ? जब भुइँमा लडिरहेको मेरो जिउ, अनि टाउकोबाट रगत बगिरहेको देखें, तब लाग्यो….म त मरीसकेको रहेछु। त्यसपछि, मेरा दृश्यहरु फेरिन थाले, म त्यहीं पुगें, जहाँ हाम्री आमाले हामीलाई अनाथ बनाएर जानु भएको थियो।

 मानिसहरु बस्न छोडिसकेको घरको एउटा कुनामा हाम्रो पनि घर थियो। हामी भन्नाले म, दाई अनि साना-साना दुई बहिनी, सबैभन्दा सानी बहिनिको त अझै आँखा खुलिसकेका थिएनन भने दाई अलि-अलि हिड्ने भईसकेको थियो। म चाहिँ यसो घस्रेर, यता उता गर्ने भएको थिएँ। बुवा को हुनहुन्थ्यो, हामीलाई थाह थिएन, बास्तवमा बुवा भन्ने चीज हामीलाई थाह पनि थिएन। 

चिसो मौसम, एक साँझ आमा खानेकुरा जोहो गर्न अलिक उज्यालैमा निस्किनु भयो, हामी ४ भाई-बहिनी खेलेर बस्यौं। खाने समय हुन लाग्यो, भोक बढ़दै गयो तर आमा आउनु भएन, बहिनीहरु भोकले म्याऊँ-म्याऊँ गर्न थाले, आधा रात बित्यो, अहँ ! आमा आउनु भएन। म रून थालेँ, एकातिर बहिनीहरुको एकोहोरो रूवाई मिश्रित म्याऊँ-म्याऊँ अर्को तिर मेरो रूवाई देखेर दाई पनि रुन थाल्यो। तर, आमा आउनु भएन, बिहान भयो, हामी पर्खिरह्यौ, दिउँसो भयो, फेरि साँझ पर्यो, आमा आउनुभएन। आमा किन आउनुभएन वा आमालाई के भयो, हामीले केहि सोचेनौ, भोक निकै बढ्दै गयो, साना बहिनीहरु  कराउँदा-कराउँदा थाकेर सुतिसकेका थिए। रात पर्यो, अनि बिहान भयो, भोलिपल्ट पनि हामीले पर्खियौं, तर आमा आउनुभएन ! अर्को दिन बिहान हामीले बाहिर निस्किने निर्णय गर्यौं।

 सुरूमा दाई, अनि म निस्कियौं, बाहिर कोही नदेखेपछि बहिनीहरुलाई पनि घिसार्दै-तान्दै बाहिर ल्यायौं । दिन बढ्दै गयो, मान्छे हिंडेको चाल थाह पाएर होला, बहिनीहरुले आमा आउनुभयो सोचेर फेरि म्याऊँ-म्याऊँ गर्न थाले। बटुवाहरु हेर्थे अनि जान्थे, हामी दिनभरी घाममा पल्टीरह्यौ, आमा अझै आउनुभएन। साँझ पर्न थाल्यो, हामी बसेको नजिक किरा- फट्यांग्राहरु आउन थाले। हामीलाई त यिनीहरु हाम्रा खानेक़ुरा हुन भन्ने थाह थिएन। केहि फट्यांग्राहरु दाईको मुखभित्र पसेछन अनि चपाउँदा त थाह भयो कि यिनीहरु हाम्रा खाना रहेछन। त्यो साँझ, दाईले ७-८ वटा फट्यांग्राहरु पक्रयो, अनि पालै-पालो हामीलाई खुवायो। 

भोलि पल्ट देखी त, हाम्रो दिनभरीको काम भनेको फट्यांग्रा  समात्नु हुन थाल्यो। म बहिनिहरुलाई हेरेर बस्थें भने, दाई अलिक पर सम्म गएर किरा- फट्यांग्रा समातेर  ल्याउन थाल्यो। केहि हप्ता पछि त, बहिनीहरुका आँखा पनि खुलिसकेका थिए भने म दाई सँगै शिकारमा जाने भइसकेको थिएँ। हामी धेरै टाढा जादैन थियौं, नजिक-नजिक नै किरा समाउँथ्यौँ । चिसो बढ्दै गईरहेको थियो, एकदिन शिकारको खोजीमा अलिक पर गईएछ, एक्कासि एउटा कालो जनावरले हामीलाई जोरसँग कराएर पक्रन खोज्यो, तर कसो-कसो हामी भाग्यौं । तर, दाई कता गयो-गयो मैले निकै खोजें, अहँ भेटिन, भूगोलको ज्ञानमा म त्यति पोख्त भईसकेको थिइन, मैले घर जाने बाटो बिर्सें  !

रात पर्यो, म जहिं को तहीं बसीरहें, दाई लिन आउला भन्ने आशामा म भोलि पल्ट पनि म त्यहीं वरपर डुली रहें। साँझ पर्यो, झिसमिस अन्ध्यारो भइसकेको थियो, कतै दाई आइरहेको होला कि भनेर जनाउ दिन म्याऊँ-म्याऊँ ग़रीरहेको थिएँ, सहसा एउटा बलिष्ठ पंजाले मेरो घुच्चुकमैं समातेर जुरूक्क उचाल्यो। 

सेतो कुर्तासुरूवाल माथि कालो ज्याकेट लगाएको बूढो मान्छेले केहि समय हावामा तुरलुङ्ग झुण्डयाएर मेरो पुरै जिउ निरीक्षण गरेपछि आफ्नो छातीमा टाँसेर पाखुराले च्याप्यो र हिंडन थाल्यो। म उम्किनै सकिन, राम्ररी आँखा नखुल्दै आमासँगको बिछोड अनि हुर्किंदै गर्दा दाई-बहिनीहरु सँगको बिछोडले बलियो भइसकेको म, अब आउने परिस्थितिसँग पनि सामना गर्न तयार थिएँ। मलाई, बोक्ने मानिसका पाईला अब छिटो-छिटो चल्न  थाले, मेरो जिउ पनि अब न्यानो हुँदै आयो र मैले पनि म्याऊँ-म्याऊँ गर्न छाडिदिएँ। 

केहि समय पछि ति बूढामान्छेले एउटा घरमा लिएर गए, अनि सबैलाई, ‘ल आज यो घरमा नयाँ ‘कपिला’ (परिवार) आयो भनेर परिचय गराए। कसैले मलाई खासै वास्ता गरेन, तर ति बूढाकि बूढ़ीलाई म आएको मन परेन। मालिकनी (बुहारी)ले मलाई लगिन र भाँडामा केहि दिईन, त्यो त दूध रहेछ, मलाई कस्तो आमाको सम्झना आयो। बास्तवमा मैले त दूधको स्वादनै बिर्सिसकेको रैछु, मलाई त अब किरा-फट्यांग्राहरु मात्र खाने होला जस्तो लागेको थियो। बेलूकी पख खाना खानेबेलामा दुईजना केटा (बूढाका नातीहरु) आए, मलाई ‘म्याऊँ’ भने, मलाई त गिज्याएको जस्तो लाग्यो, मलाई रिस उठिरहेको थियो । यत्तिकैमा एउटाले मेरो घुच्चुकमा समात्न खोज्यो, मेरो पालो मैले पनि दायाँ पंजाले उसको हातैमा बजाईदिएँ, नातिकेटाहरु डरले त्राहिमाम भए। एउटाले कुचोले हान्न खोज्दै थियो, म फुर्तीसाथ भाँडा राख्ने आलमारीमाथि गएर बसें। उनीहरु आलमारी माथि पनि आक्रमण गर्न खोज्दै थिएँ, मालिकनीले कराएपछि उनीहरु पछि हटे। यसरी, पहिलो दिनमैं नातीकेटाहरुसँग मेरो दुश्मनी भयो।

नातीकेटाहरुले जस्तोसुकै ब्यवहार गरेपनि बूढाले मलाई माया गर्थे। बेलूकी रोटी खाने बेलामा बूढाको अगाडि बसेर दूधमा चोपेको रोटीको गिलो टुक्रा मलाई औधि मनपर्थ्यो । बूढीले मन नपराएपनि बूढाको लागि म परिवारको सदस्य थिएँ। बिस्तारै मेरो ज्यान भरिदैं आयो, नलका (चापाकल) निरको अम्बाको रुखको टुप्पो म एकै सासमा चढ़ने भईसकेको थिएँ। घरमा एउटा कालो कुकुर पनि थियो, निकै सोझो, तर एउटा कुकुरले मेरो सातो पहिलेनै खाईसकेको हुनाले यो घरको कुकुरसँग मेरो खासै दोस्ती बढेन। मेरा  दाँत र नंग्रा अब निकै बलिया भईसकेका थिए, बिस्तारै अब मैले मूसाको शिकार गर्न शुरू गरें। मंगसिर महीना, मलाई निकै मन पर्ने महीना, धान काटिसकेको हुन्थ्यो, कुन्युको वरिपरि, खेतका कुनामा मूसाका दुला हुन्थे। जब छोट्का र उसका बच्चाहरु फरूवा लिएर दुला खन्न थालथे, म निकै चनाखो भएर बस्थें, जसै मुसो दूलोबाट बाहिर निस्किन्थ्यो, अनि, कर्याप्प ! कुनै दिन त ५ वटा मूसा खाएर दिलखुश पारेको रेकर्ड थियो। धान काट्ने, दाउने सिजनमा त मेरो बासै कुन्युमा वा छोट्काको बुकरामा हुन्थ्यो। छोट्काको चूल्होमा दिनहुँ मूसा पाक्थ्यो, झन मसाला हालेर पकाएको मासुको स्वाद त, आहा ! तर छोट्का नभएको दिन, छोट्कीले मासु दिन्नथी, त्यही भएर तलतल मेटाउन यसो मैले हात लम्काउँदा लम्काउँदै पेशेवर चोर कहिले बन्न पुगें पत्तै भएन। घन्टौ, मुसाको दुलाको अगाडि घोरिनु भन्दा टक्क हात लम्काएर पेट भर्ने काईदा मलाई निकै ग़ज़प लाग्यो। 

बिस्तारै, मैले मेरो कला यता घरमा पनि प्रयोग गर्न थालें, मूसा त यता पाक्दैन थियो, तर दूध, मासु र अन्य खाना त यता झन सजिलो सँग उपलब्ध हुन थाल्यो। दुःख गरेर मूसा मार्न त मैले छोड़ीसकेको थिएँ। आवश्यक कसरत नभएर पनि होला, मेरो ज्यान त निकै बढ़न थाल्यो। २ घर पर एउटा बिरालो थियो, सेतो रङ्गको, निकै च्यासें, खानै नपाएजस्तो, कहिले काहीं आउँथ्यो गफसफ हुन्थ्यो। कसरी यस्तो मोटायौ भनेर सोधथ्यो, मैले हातको सफाई वाला आईडिया दिएँ, तर उ डरायो। एकदिन, यत्तिकै घरको छतमा घाममा भुँडी पल्टाएर सुतिरहेको थिएँ, अचानक सोझो कुकूर जोडले भुक्न थाल्यो, खोरमा रहेका हाँस र कुखुरा पनि कराउन थाले, एउटी कुखुरी निकै कराउँदै थिई । के भएछ भनेर यताउता हेर्दै थिएँ, एउटा बड़ेमानको बिरालो मुखमा कुखुराको चल्लो च्यापेर रगत चुहाउँदै मेरै अगाडि आएर खान थाल्यो। म त अक्क न बक्क भएँ, त्यसरी घरमा पालेका चल्ला पनि खान हुन्छ भनेर मलाई थाहै थिएन, मेरो मुखबाट अचानक -र्याल चुहियो। मेरो अगाडिको बिरालोलाई  “हाम्रो घरको चल्लो किन खाईस” भनेर सोधेको, “चुप लाग, अहिले तँलाई पनि खाईदिन्छु भन्यो”। आवाज सुन्दा कता कता सुनेको जस्तो लाग्यो, अनुहार पनि देखे-देखे जस्तो लाग्यो, अनि खूब समझेपछि दाई हो भन्ने लाग्यो, अनि दाई भनेको, दाईले त बिर्सीसकेछ, तर निकै बेरसम्म पुराना क़ुरा समझाएपछि, अन्त्यमा दाईले, “हेर मैले तँलाई बिर्सिसकेको छु, तर पनि तैले दाई भनिस, ठीकै छ, म त ढाडे बिरालो भईसक्या छु, कसैको घरमा पनि बस्तिन, जँगलमा बस्छु, जंगलको दादा मैं हूँ।  म सँग जान्छस भने हिंड तँलाई नयाँ-नयाँ शिकार र तरीका सिकाउँला” भनेर भन्यो। मैले खूब सोचें, मालिकले खाना दिएको समझें, छोट्काको घरको मूसाको मासु सम्झें, पट्टयाएर राखेका सिरक-डसनामा सुतेको सम्झेँ, दुधको स्वाद सम्झेँ, अनि मलाई घर नै प्यारो लाग्यो, दाईलाई जान्न भनें।

म पनि दाई जस्तै घरको दादा भइसकेको थिएँ। मालिकनीले गोठबाट दूध दुहेर ल्याउने बेलामा दूध दिईनन भने खुट्टामा कोतरीदिन्थें। कुखुरोको चल्लोलाई कर्याप्प पार्न खूब कोशिश गरें, कहिले काले कुकूर त कहिले नाती केटाहरु, त कहिले को घरमा भईरहने हुनाले आँट गर्न सकिन।  झ्याप्प बेपरवाह आक्रमण हान्न, दाई जतिको बलियो त म भईसकेको थिईन तैपनी खूब दाऊ हेरें,सकिन।

 चल्लाको तलतल निकै बढेर आयो, एकमनले भन्यो, “एकपटक धावा बोल्दिउँ, जे पर्ला पर्ला”! अर्को मनले भन्छ, “होईन, एकपटक मात्रको लागि होईन नि, पहिलो चोटीमैं थाह पाए भनें त चौपट भैगो नि”! धेरै दिन सोचें, अहँ मिलेन। सोझो कुकुर घर कहिले छोड़ने होईन, ३-४ चल्ला छन, सोधखोज भयो भने त पत्ता लाईहाल्छन ! मलाई अहिले नै ढाडे बिरालो बन्न, वन पस्न मन थिएन ! अचानक, दिमागमा एउटा गजबको योजना फुर्यो, पल्लो घरका चल्ला उडाउने ! मैले यो योजना त्यही सेतो बिरालो लाई सुनाएँ, उ त खुसी हुनु त कहाँ हो, उल्टा डराएर झन्डै रोएन। उसको परिवार रे, त्यो कुखुरा र र चल्ला ! मलाई हाँसोले भाउन्न छुट्यो ! त्यो दिनबाट त्यो कायरको सँगत टुंग्यो ।

त्यसको ३ दिनपछि त्यस सेतो बिरालोका परिवारका २ चल्लालाई आक्रमण हानें, ३ दिन सम्म मोज गरेर सुतें !

 मलाई त कहिलेकाहीं लाग्थयो, म नै घरको मालिक हूँ, मन लाग्यो घरमा बस्यो, मन नलागे डुल्न  निस्कयो। खेतमा पनि काम गर्नुपरेन, भोक लाग्यो भने खाने बेलामा बूढाको ओछ्यानमा गएर बस्यो, मुखमैं दूध-रोटी! क्या बात ! मासु खाने मन लाग्यो, सेतेलाई यस्सो आँखा तर्यो, आक्रमण…बस ! जिन्दगी गजबको भैगो ! मलाई त पाइखाना जान अनि त्यसलाई माटो खोस्री-खोस्री पुर्न पनि अल्छी लाग्न थाल्यो। मेरो पालो घरकै कुनामा, भकारीमा पाहुनाका लागि राखेका सिरक-डसनामैं बिषट्याई दिन थाले। बिचाराहरु थाह नै पाऊंदैन थिए, बूढीलाई त शंका लागेर कर्के आँखाले हेर्थी, मेरो पालो म ङ्गुरर गार्दीनथे, मसँग कसको के चल्ने ?

मलाई त अब म त भगवान नै मैं हूँ जस्तो भयो, बिचारा घरका मानिसहरु मलाई पाल्नको लागि काम ग़रीरहेछन जस्तो पो लाग्न थाल्यो। मलाई कसैको डर थिएन, कसैको नियंत्रण थिएन, अब मेरो मालिक कोही थिएन, म नै मेरो  मालिक, अनि मानिसहरूको पनि मैं मालिक ! 

बिदाको दिन थियों, नाती केटाहरु भकारीमा लुकीचोर खेल्दै थिए, मैले बिषट्याएको कुरोले नातीकेटाहरुको बिजोक बनाएछ, खूब रिसाउंदै, मलाई गाली गर्दै घर माथि आए । म आफ्नै धून सिरक माथि ध्यानमा थिएँ, नातीकेटा हरु त एकाएक कोठा भित्र छिरेर चुकुल लाएर मलाई हेर्छन बा ! एकजना ले त हातमा लठ्ठी  पनि लिईराखेको थियो।  यताउती हेरें, झ्यालमा जाली थियो, ढोकामा एउटा नातीकेटो उभ्भीराखेको ! डराउने कुरै थिएन, तर पनि यिनीहरुलाई पाठ नसिकाई भएन भन्ने मनमा आयो। 

लाठी समातेको नातिकेटोले आँखा झिमिक्क़ गर्न पाएको थिएन, सीधा एक झापु त्यसको घाँटीमा दिएँ, त्यो देख्ने बित्तिकै ढोकामा उभिएको नातीकेटो ढोका खोलेर टाप कस्यो। त्यसपछि, म पनि बाहिर निस्केर परालको कुन्युमाथि गएर फेरि ध्यानमा मग्न भएँ। तर, मेरो लागि यो अनपेक्षित चुनौती थियो। साँझपख भान्सा बाहिर म बसिरहेको बेला, नातिकेटाहरुले आफनी आमालाई क़ुरा लगाईरहेको सुनें। केटाहरुको क़ुरा सुनेर मालिक्नी पनि म सँग रिसाएको जस्तो मैले बूझें।
फेरि धान काट्ने मौसम आयो, खुसीका दिन आए। अब मेरो बास फेरि छोट्काको बुकरामा सरयो। दिन फेरि रमाईला हुन थाले, दिनहुँ मूसाको मासु, खान पाइन थाल्यो। एकदिन, घरमा नयाँ नातीकेटो देखा पर्यो, सहरबाट मिनपचासको बिदामा आएको रैछ ! छोरो आएको खुसीमा बाऊले कतैबाट ख़सीको मासु ल्याएर आएछन। ल, बाबु यो मासु उसिनी राख्नु, भरे पकाएर खानु पर्छ भनेर, मालिक मोटरसाईकलमा कतातिर  गए खै? तर मेरो मुखमा चाहिँ मासु देख्ने बित्तिकै पानी आईहाल्यो, खसिको  मासु त मैले कहिले खाएको थिइन, गनाउने मूसा कति खानु? मैले मुख मिठयाउदै योजना बनाउंन थालें। 

घरमा कोही थिएनन, सबै खेतमा गएका थिए। सहरिया केटोले आगो फुक्न  थाल्यो, आगो मरीगए बलेन, केटो रन्थनियो।  केटोको नाक बाट सिंगान र आँखा बाट आँसू सरोबरी बहन थाल्यो। अत्ति भएपछि, केटो मत्तीतेल लिन घरको बुइंगल तिर गयो, त्यही मौकामा मैले सुटूक्क २ टुक्रा लिएर  सुईंकुच्चा ठोकें ! केटोले छनक सम्म पनि पाएन, मासु त मेरी आमोई, आहा कति स्वादिष्ट हो, कति रसिलो हो मेरा बाबै ! मलाई त झन तलतल लागेर खपिनसक्नु भयो। नातीकेटोले आगो बाल्यो, ताउलोमा पानी उमाल्यो अनि त्यसमा मासु खन्याएर थालको ढक्कन लगायो अनि पल्लो कोठामा गएर टीभी हेर्न थाल्यो। मलाई छटपटाहट हुन थाल्यो, मुखबाट -र्याल चुहिन थाल्यो, एकदूई चोटी थाल सार्न पनि खोजें तर निकै तातो रैछ, प्रयास निरर्थक भयो, तैपनी धैर्य गरेर बसीरहें, नयाँ नातीकेटो हो, १-२ टुक्रा हड्डी भएपनि कसो नदेला भनेर आश मानेर पर्खिरहें। नभन्दै, आधी घण्टा पछि, नातीकेटो आयो, भाँडामा हेर्यो, अनि एकटुक्रा हातमा लिएर चाख्यो, तर म तिर त हेर्दा पनि हेरेन। मलाई रिस उठ्यो, तर थामें। एक्छिन कुरेर, नातिकेटोले एक कचौरा भरी मासु निकालयो अनि, अगेनोबाट दाउरा झिकेर आगो मन्द पारेर फेरि थालले ढाकेर गयो। मलाई त के गरुं-गरुं भएर आयो, भक्कानो छोडेर रुन मन लाग्यो। तर, अहं म जस्तो भगवान भएर पनि २ टुक्रा मासुको लागि रुन हुन्न भन्ने लाग्यो, बरु मासुमा अट्याक हान्नुपर्छ जस्तो लाग्यो। 

तैपनी, नातीकेटो आएर हड्डी दिन्छ की भनेर कुरें, ढोका बाहिर गएर म्याऊँ गरें, अहं मासु लुछ्दै टीभीमा डुबेको केटोले मलाई बाल दिएन। फेरि भन्सामा आएँ, आगो निभिसकेछ। बिस्तारै-बिस्तारै, थाल सार्दै-सार्दै भाँडामा एउटा हात छिर्ने जति बाटो बनाएँ। पानी सेलाउन केहि बेर अझै लाग्यो, अहिले सम्म कोही पनि घरमा आईपुगेका थिएनन, सहरिया नातीकेटो मेरो उपद्रवको बारेमा अंजान थियो, त्यही भएर उसलाई ममा कुनै चासो थिएन। त्यसपछि, त्यो दिन, मैले धित मर्ने ग़री खसीको मासु बजाएँ। जब, नातीकेटो कचौरा लिएर अर्को लट थप्न आयो, तब बिचारोको हँसले ठाउँ छोड्यो। उसले, रिसले गर्दा के गर्ने सोच्नै  सकेन, त्यही नजिकको ठेल्नो (आगो फुक्ने बाँसको वा फलामको पाइप) ले मलाई झटारो हान्यो। त्यस्ता त मलाई, “आछयूँ खाएँ, बच्छयूँ खाएँ, झुसे बारूलो” भन्या जस्तो भयो। मलाई हाँसो लाग्यो, मेरो पालो घरमुनि गएर भकारी मुनि लुकेँ। 

नातीकेटो हातमा ठेल्नो लिएर यताउती गर्दै थियो, त्यही बेला अरु दुई नातिकेटाहरु आए। सहरियाले घटनाको बेलिबिस्तार लायो, अनि मलाई सिध्याउने षड्यन्त्र बनायो। त्यसको षड्यन्त्रलाई  ति दुई केटाहरुले  हाँसेर उडाईदिए, अनि पहिलाको कोठा भित्रको कथा सुनाए, अनि खै कता तिर लागे, तर सहरिया एक्लै मलाई खोज्न लागि रह्यो। 

बेलूकी, मालिक-मालिक्नी आए, मासु निकै कम रहेकोमा सोधखोज भयो, सहरियाले आफ्नो सफाई दियो। मालिक-मालिक्नी दुबै रिसाए, धन्न सहरिया भर्खर घर आएको भएर मालिकको रिस बाट बच्यो। म त्यो दिन बहिरै बसें, आज मलाई बूढाले पनि दूध-रोटी खान बोलाएनन। मलाई निकै रिस उठ्यो, अनि त्यही रिसको झोंकमा राती चूल्होमा बिषट्याएर खरानीले पुरीदिएँ। 

त्यसको दुई दिनपछि, एकसाँझ छोट्का को घर गएर, चूल्होको छेउ बसेको मात्र के थिएँ, एकैचोटी ड़याँङ्ग टाउकमा फलामको ठेल्नो बज्रीगयो। के भयो केहि मेसो पाइन, अब मेरो सास चल्न छोडेको थियो, मुटुको धड्कन बिस्तारै सुस्त हुँदै थियो। प्रारब्धको भोग त्यतिनै रैछ, अब पछूतो गर्न पनि पाईन . . . . . . . . . 

 छोट्काको चूल्होमा म पाकीरहेको थिएँ, शायद छोट्का-छोट्कीको मुखमा पनि त्यसैगरी पानी आइरहेको होला, जस्तो ख़सिको मासु देख्दा मेरो मुखमा आएको थियो।

आमालाई सम्झें, अहो कस्तो अद्भुत !  मैले आमालाई देखें, हरियो नाइलनको डोरीको पासोमा उहाँ छटपटीरहनु भएको थियो, अनि उहाँको मुखमा हाम्रो लागि ल्याउनु भएको पाउरोटीको टुक्रा अझै पनि च्यापीएको थियो। हेर्दा-हेर्दै आमा म नीर आउनुभयो, मैले भनें “आमा….”। आमाले भन्नुभयो, “छोरो मेरो त बाध्यता थियो, तिमीहरुलाई खुवाउनु, तर तिमिलाई त नपुग्दो केहि थिएन…”
चोर्नु राम्रो होईन बाबू….भन्दै आमा बिलाउनु भयो। 

तल हेरें, छोट्का-छोट्की अनि तिनका छोरा-छोरीहरु मेरो मासु निकै मिठो मांदै खाईरहेछन। तर, मलाई दुखेको छैन, दृश्य धमिलो हुदै गयो, सोचें म राम्रो बिरालो पनि त हुनसक्थें नि, तर अब कुनै फाइदा थिएन। त्यो कायर बिरालोलाई देखें, मालिकको काखमा बसी कचौरामा दूध-भात खाईरहेको थियो। तर, म त्यो कायर जस्तो पनि हुन सकिन, शायद कहिले चाहिन पनि !…… आँखा अगाडी अंध्यारो छाइरहेको थियो, बिस्तारै पुरै अन्धकार भयो, अनि त्यसपछि  शुन्यता ……… 


अस्तु

सुखलाल६ अप्रिल, २०२१, सिडनी

जितु

साना, चिम्सा आँखाले पुरै हेर्न खोज्दा हुन शायद, तर सकस जति जम्मै उसको निधारलाई परेको देखिन्थ्यो। जतिखेर पनि आँखिभौ उचाली-उचाली हेर्नु पर्दा उसको निधार जहिले पनि मुजा परेको हुन्थ्यो। अनुहारलाई सामान्य बनाउननै यत्रो घमासान परेकोले होला उसको रूपनै झोंकी देखिन्थ्यो। कटांसे बजारको टुप्पोमा रहेको पुलको आडैमा उनीहरुको होटल थियो। कहिलेकाँही आकल-झुक्कल देखा-देख हुनुबाहेक उसङ्ग म बजारको बिचतिरको केटोको खासै दोस्ती थिएन। नियमित खेलिने फुटबलमा उसको रूचि थिएन। कहिलेकाँही खेलीहाल्यो भने पनि उसलाई आँखा खोलनै गाह्रो देखिन्थ्यो, खेल्नु त परै जावोस ।
यो निकै पहिलेको कुरा हो, त्यतिबेला कटांसे बजार अझै प्रौढ़ावस्थामा पुगीसकेको थिएन, डूंडेझरि बाट कटांसे जोड्ने ग्रावेल बाटो बनेकै थिएन, कटांसेको नयाँ फिल्महल बनेकै थिएन, गोरे मामाले ‘गोबिन्द आर्ट’ भन्ने साइन ठोकेर उसको होटेलमा ‘जितु होटेल’ नामको साइनबोर्ड झुंडयाएकै थिएनन। बुद्दिसागरको नाम रेडियोमा आउन सुरूनै भाको थिएन। हाम्री बैनी जन्मेकी थिइन, र त्यो कति साल थ्यो, अहिले याद भएन। तर मुख्य कुरा, एकदिन हाम्रो घर मा साईकल आयो, र यो त्यतिबेलाको कुरा हो, मैले साईकल चलाउन सिकिसकेको थिइन, सिक्ने उमेर आइसकेको थियो। 
कटांसेको माथिल्लो पुल भन्दा अगाडि केहि झुप्रा होटलहरु पछि केहि कटेराहरु थिए अनि त्यसभन्दा उता चौर थियो, र स्कूल सकेपछि म साईकल लिएर त्यहिं जान्थें। किनकी त्यहाँ जाँदा चिनेका मान्छे भेटिने सम्भावना कम थियो। नत्र, चिनारुहरुले साईकल सिकाउने बहानामा आफु मात्र चलाउने अनि मेरो काम पछाडि कैरियरमा बस्ने मात्र हुने भएकाले, साईकल चाँडो सिक्नकै निमित्त पनि मैले यो चौर रोजेको थिएँ। 
सुरुमा, एक्लै साईकल सिक्न निकै गाह्रो हुन्छ। मलाई शूरुमा कसैले थामिदिएर धकेलीदिएपछि, नरोकियून्जेल सम्म एकोहोरो चलाउन सकथें। तर, एकपटक रोकेर ओर्लीसकेपछि पुनः चलाउन मलाई मान्छे चाहिन्थ्यो। एकदिन, त्यो चौरमा मलाई त्यही समस्या आइपर्यो, साईकल स्टार्ट गर्नै सकीन, मूढोको छेउमा लगेर, चलाउन खोज्दा पनि सकिन। अनेक उपाय गरिरहेकै थिएँ, अचानक उ प्रकट भयो। मलाई संशय उत्पन्न हुँदै थियो, हेर्दै झोंकी देखिने, बेग्लै लवज मा ठाडो बोली भएको उ, मलाई नम्र बोल्दै मदत गर्न आयो। उसले, त्यसपछि कतिपटक साईकल थामिदियो, पर सम्म धकेली दियो, झमक्क सांझ नहुंजेलसम्म पनि उसले मलाई साईकल सिक्नमा मदत गरीरह्यो तापनि उसले आफुलाई साईकल चलाउन मागेन। त्यसकारणले पनि मलाई उ राम्रो मान्छे लाग्यो।
दोस्ती बढ्दै गयो, उ आफुले साईकल सिक्दाका पीड़ा सुनाउँथ्यो,२४ इंचको साईकलको कैंचीबाट सिकेर डंडीबाट चलाउंदा लडेर घुंड़ामा बसेको खत देखाउंदा, उसलाई निकै बहादुरी गरेझैँ लाग्थ्यो। उसको कुरा गर्ने तरीका र लवजनै खतरा थियो। उ नियमित जसो बेलुकी मलाई साईकल सिकाउन आउँथ्यो, अब त म आफैं पनि उसलाई आफ्नो साईकल चलाउन दिन्थें। मेरो २० इंचको नयाँ लेडीज साईकल उ निकै होशियारी साथ चलाउँथ्यो। न त उ एउटै कक्षाको थियो, न त उसको घर मेरो नजिकै थियो, त्यहीपनि निकै छिटो उ मेरो दोस्त बनिसकेको थियो।
एकदिन, उसले मलाई दाउरा लिन वन जाम भनी प्रस्ताव राख्यो, मैले जसोतसो मम्मी लाई मनाएँ। यतिंजेल, उसँग मेरो दोस्ती खूब गजबले जमीसकेको थियो, तसर्थ म पनि सहजै उ सँग वनतिर लागें। अलिक बेर पछि उसकै सहपाठी, उसको होटेलभन्दा अलिक तल अर्को होटेल (नाम बिंर्से) भाको विष्णु भन्ने केटो अनि अरु २ जना केटिहरु भेट भए। विष्णुसंग त कहिलेकाँही फुटबल खेल्दा भेट हुने भएकाले घनिष्ट त होईन, तर अपरिचित चाही थिएन।
बिष्णु र ति केटिहरु दाउरा बटुली रहेका थिए, उनीहरु आफ्नै धुनमा थिए, तर मेरो साथी आएको जितुको ध्याउन्न चाहिँ दाउरा खोज्नमा भन्दा बिष्णुसँग निहुँ खोज्नेमा जान थाल्यो। मैले कुरा बुझिन, उनीहरु सबै एकै ठाउँमा घर भएका, खेल्दाखेरी के के भएका, नानाथरी कुरा निकालेर बाझ्न थाले। जितुले बिष्णुलाई कुटुंलाझै गर्न थाल्यो, बिष्णु अलिक कमजोर झैँ थियो, उसले भिड़ने आँट गरेन, रूँलाझै गर्यो, यो देखेर बिष्णुसँग आएका २ टी केटि मध्य एउटीले जितुलाई गाली गरी। यसपछि त झन अचम्म भयो, जितु त उसंग पो निकै आक्रामक देखियो, उनीहरु निकै चर्को तरीकाले बाझन थाले। मैले जितुको यो रूप देखेको थिइन, मलाई डर लाग्यो। झगड़ाले चरम रूप लियो, जितुले त्यो केटीलाई मुख छाड्यो, बिष्णु र म हेर्या हेर्यै भयौ। बरु, अर्की केटिले आफ्नी साथीलाई थामि। बिष्णु त पहिले नै रोइसकेको थियो, त्यो केटि पनि रोई, झगड़ा सकियो। हामी सबै जना सँगै फर्कियौ, बिच बिचमा उनीहरु फेरी बाझ्थे, फेरी चुप लाग्थे। झगड़ा हुनुभन्दा अघिनै उनीहरुले आवश्यक दाउरा बटुलीसकेका थिए, जितू को उद्देश्यनै अर्कै रैछ, मैले पनि दुईटा लट्ठी जस्ता दाउरा खोजेको थिएँ, तिनैलाई बाटोभरी कोर्दै ल्याएं। 
बजार आयो, मलाई ति दुईटा लट्ठीजस्ता दाउरा घर लिन मन लागेन, पुल नपुग्दै वरै फालीदिएँ। दिउँसोको घटना मनमा आइरहयो, केटाले केटिलाई मुख छाडेर गाली गरेको कुराले अचम्म लागिरह्यो। केटि राम्री थी, जितु उसलाई मन पराउँदो रैछ, तर केटिको बिष्णुसँगको दोस्ती जितुलाई मन परेको रहेनछ, बिष्णु र म त केवल रमिते थियौं। 
साईकल पनि सिकिसकेको थिएँ, दाउरा अनि जितुसँगको दोस्ती दुबै घर पुगेनन। 
साईकल पनि सिकिसकेको थिएँ, दाउरा अनि जितुसँगको दोस्ती दुबै घर पुगेनन। दोस्ती सकियो, तर यो कुरा कसैलाई भनिन। बिष्णु र जितु धेरै पछिसम्म नबोलेको कुरा याद गरेको थिएँ। 
कटांसे बजार रित्तियो, तैपनि माथिल्लो पुलको आड़ मा रहेको जितु होटेल रही रह्यो। बच्चाका कुरा बच्चा मै सकिए। धेरै पछि, जितु फेरी दृश्यमा आयो, उ ‘कमरेड’ भएछ। भूमिगत अवस्थाको जितुको साननै छूटै भएछ, कता-कता माइकिंग पनि गर्दै हिडेछ, भनेपछि केटोले ज्यान हत्केलामा राखेछ भन्ने भयो। एकदिन, त्यही बनको बाटो साईकलमा कटांसे आउँदै थिएँ, राजमार्ग छेउ बनमा एक जत्था सेना बसिरहेको देखेँ, म आफ्नै सुरमा बाटो लागें, अलिक तल पुगेपछि उताबाट जितु साईकलमा आउँदै गरेको देखें। साईकलको गति अलिक कम गरें, अनि उसले सुन्ने गरी, ‘माथि सेना बसी राछ’ भनें, उसले कुनै प्रतिक्रिया दिएन, सुन्यो की सुनेन, मलाई थकथक लाग्यो।

केहि पर पुगेर सोचें, होईन उसलाई फर्काउनै पर्छ, पछाडि फर्केर हेरें, उ साईकल रोक्दै रैछ, फर्केर हेरीरहें, उसले साईकल फर्कायो, मेरो कुरा सुनेछ। मन ढुक्क भयो, उसलाई पर्खिन, म आफ्नो बाटो लागें। केहि समय पछि त गणतंत्र नै आईहाल्यो। तर आज अचानक, त्यो कसैलाई नभनेको बाल्यकालको घटना याद आयो।

साङ्गलाको कथा

‘हैन, छोराहरु त अझै आईपुगेनन त?’, प्याजका सुकेका पत्रहरुको बीचमा घुस्रेको बाऊ-साङ्गलो  फेरी फुसफुसायो। झिसमिसे नहुँदै निद्रा खराब गरिदिएकोमा आमा-साङ्गलीको रिसको पारो निकै माथि चढीसकेको थियो, तर यसपाली उसले अद्भुत संयमता प्रदर्शन गरी र भनी, ‘यसो परसम्म हेरेर आउँछौ कि बूढ़ा?’ बाउ-साङ्गलो  एकछिन घोरियो अनि सम्झने कोसिस गर्यो, ‘होईन, अहिलेसम्म त कोही उठेका छैनन’, उ निश्चिन्त भयो अनि मनमनै बोल्यो ‘एकै छिनमा आइहाल्लान नि’, अनि वरपर छरिएका लसुनका सुकेका पत्र सोहोरेर सुत्ने प्रयास गर्यो।

बाउ-साङ्गलो निदाउन सकेन, जवान भएका दुई भाई छोरा खानाको खोजीमा बेलुकै निस्केका, बिहान हुन आँटिसक्दा पनि नफर्के पछि उसको छटपटाहट बढेको थियो। उसो त अचेल यो घरमा साङ्गलाहरुको लागि त्यति खतरा त थिएन। त्यही पनि बेला-बखत उसको माईलो छोरोलाई स्वाँ-स्वाँ यन्त्र (भ्याकुम क्लीनर)ले निलेर बेपत्ता भएको घटना सम्झेर उ बेचैन भईदिन्छ। हुनत यसमा छोरोकै सोझोपनको कमजोरी थियो। घर सफा गर्ने दिन शनिबार हो भन्नेमा ढुक्क हुनु अनि भ्याकुम क्लीनरको आवाज सुन्दा-सुन्दै पनि ‘लाटो न बाठो जस्तै’ भएर निसफ़िक्री डुलेर हिड्नु माइलोको कमजोरी थियो। तैबिसेक, भ्याकुम चलाउने ब्यक्ति मालिक भएको भए उसको छोरो बाँच्ने थियो कि भन्ने उसलाई झिनो आश रहन्थ्यो। के गर्नु, त्यो दिन भ्याकुम चलाउने घर-मालिकनी परिछ, छोरोको माया मार्नु परिगो। उसो त, भ्याकुम क्लीनरभित्र पसेर पनि बांचेका साङ्गला हरु पनि थिए। पल्लाघरे काकाले त आफ्नो अनुभवलाई समेटेर यात्रा-बृतांत लेखे। भ्याकुमभित्र हावाले फनफनी घुमाउँदा पनि आफुले होश नगुमाएको अनि, कालो अँध्यारो पाईपभित्रको बाटोमा हिंड्दा पनि आफू नआत्तिएको कुराहरु लेखिएको किताब हात-हातै बिक्री भयो। अचेल त, ति काका अरु अपार्टमेंटमा पनि किताब बिक्री गर्न मार्केटिंग गर्न थालिसके। हुन पनि, त्यो किताबले धेरै साङ्गलाहरुलाई सचेत पनि गराएको छ ।

साङ्गला  समुदायको नजरमा घर-मालिक निकै दयालु छ, कुना-काप्चा खोजी-खोजी साङ्गला  सोंस्न उसले भ्याकुम चलाउदैन, चलायो भनेपनि सकेसम्म साङ्गलाहरुलाई उसले भाग्न दिन्छ। बाउ-साङ्गलो आफैं पनि  २  पटकसम्म स्वां- स्वाँ यन्त्रको मुखैबाट फुत्केको छ। यसको बिपरीत घर-मालिकनी निकै क्रूर लाग्छे उसलाई। उसको अगाडि पर्नु भनेको काललाई निम्त्याउनु बराबर हो। साङ्गला  देख्नासाथ साङ्गला  मार्ने बिष किन नल्याको भनेर मालिकलाई कराईहाल्छे। पहिले एकपटक त मालिक ले बिष पनि ल्यायो, तर आफुहरुले त्यसको असर पचाईसकेको हुनाले यसो भूरा-भूरीहरु र केहि मर्न आँटेका बूढा-बूढीहरु बाहेक अरुलाई खासै असर गरेन। त्यसमाथि मालिकनीले  सबैले सुन्ने गरी त्यत्रो चिच्च्याएर बिष हाल्नुलगाएकोले सम्पूर्ण साङ्गला समुदायले पहिलेनै १ हप्ताको लागि आवश्यक खाद्यान्न भंडारण गरिसकेका हुनाले खासै क्षति भएन। त्यही भएर फेरी-फेरी मालिकनीले साङ्गला  देखेर बिष ल्याउ भन्दा, मालिक ले वास्तै गर्न  छोड्यो, ‘साङ्गला मर्ने होइनन, बेकारमा किन ल्याउनु’?

एकपटक घरमालिकको भाई बिदेशबाट आउने भयो, घरमालिक्नीले फेरी उतातिर खुब चल्तीमा रहेको साङ्गला मार्ने चक ल्याउन भनेर देवरलाई आग्रह गरी। साङ्गला  समुदाय सतर्क भयो, हुन पनि, देवर आएकै रात पुरा भान्सामा घेरो लाग्यो। केहि उरण्ठेउला ठिटा-साङ्गला हरु चम्केर घेरो हेर्न गए। घेरो गुलियो र निकै बासनादार थियो, मन थाम्न नसक्नेहरुले चाखेर आएछन, रातभरि उँधै र उँभै भएर झन्डै सुंईकेनन। कसो, रोग-प्रतिरोधक क्षमता बलियो रैछ, पहिलो विश्वका साङ्गला  परेर हो कि, जेहोस बाँचे। त्यसपछि, साङ्गला  समुदाय १  हप्तासम्म बाहिर निस्केन। हप्तादिनपछि, मालिकले भाईको चक र चकको क्षमतालाई उडाउनु उड़ायो।

त्यसपछि मालिकनी चुप लागी, उसो त घरमा मालिकका जोइपोई बाहेक अरु २ जनापनि बस्ने गर्छन, तर उनीहरु मालिक भन्दापनि बिंदास छन। सके त उनीहरुलाई घरमा साङ्गला छन भन्ने कुरा पनि थाहा पनि छैन होला, थाह नै भएपनि साङ्गला हरु प्रति उनीहरुको गुनासो बाउ- साङ्गलोले आज सम्म सुनेको छैन। तैपनी, उनीहरु प्रति साङ्गला  समुदाय बिस्वस्त छैन। उनीहरुले घर-सफा गर्दा घरमालिकले झैँ साङ्गला लाई भाग्ने मौका दिदैनन। धन्न, ऊनिहरुले आफ्नो पालो बाहेक अरुबेला सरसफाई पनि नगर्ने अनि उनीहरुको पालो सम्पूर्ण साङ्गला समुदायलाई थाह भएको हुनाले निकै सजिलो भएको बाउ-साङ्गलोको ठम्याई रहेको छ।

बाउ-साङ्गलो को नजरमा घर-मालिक मानव हैन, महा-मानव लाग्छ। कता-कता, घरमालिक पूर्ब-जन्ममा साङ्गलोनै थियो की भन्ने बिचार पनि उसको मनमा आउँछ। घर-मालिक प्रतीको उसको अतिबिश्वास उसकी स्वास्नी आमा-साङ्गलीलाई पटक्कै मन परेको छैन। हुनपनि एकपटक अचम्म भयो, बेलूकी सधैंझैँ ६ बजेतिर मालिक घर आयो, कान्छो छोरो आफ्ना साथीहरुसँगै गुरुरुरु दौडीदै ढोकासम्म पुग्यो, मालिकलाई हेर्ने भनेर। पूरा साङ्गलो समुदाय मालिकलाई बिस्वास गर्ने हुनाले मालिकको डर मांदैनथिए। तर, एकैछिनमा कानै खाने आवाजले पुरा साङ्गला  समुदाय त्राहि-त्राहि भयो। निकै ठुलो अनि एकोहोरो टूँsssss आवाजले राती सुत्न त के एक-अर्कासँग बोल्न र सुन्न समेत नसकिने भयो। आमा-साङ्गलीले ईशाराले खुच्चिंग भनी, बाउ-साङ्गलो रनभुल्लमा पर्यो, ‘हैन, मालिकले आज यो के यन्त्र ल्याएछन?, मालिकका जोइपोई त केहि नभएजस्तो भएर बसिराका छन त !’ समुदायमा ठुलो खैलाबैला भयो, साना नानीसाङ्गलाहरुको रूवाई एकातिर अनि, ‘सप्ताहको माईकको ढ़वाँगमा कान राखेझैँ’ गरी सुनिएको चर्को आवाज, केहि मेसो पाइएन। रातिनै बूढा-पाकाहरुको भेला बस्यो र तुरुन्त छिमेकी चाइनीजको घरमा बस्ने साङ्गलाहरुसँग सहायता माग्ने निधो भयो। आवाज त छिमेकमा पनि उस्तै रैछ, तर हरेक चेपे (चिनियाँ) साङ्गलाहरु निसफ़िक्री आफ्नै धंदामा छन त ! साङ्गलो टोली छक्क पर्यो, चेपेसाङ्गलाहरुको नेता आयो अनि एउटा एयरफोन जस्तो यन्त्र ५-६ जनालाई बांड्यो। बाउ-साङ्गलोले पनि यन्त्र लगाई हेर्यो, उसले ताज्जुब खायो, पूरा शान्त छ त ! गौर गरेर हेर्दा त जम्मै चेपेसाङ्गलाहरु त त्यही यन्त्र लगाईरहेका रहेछन। उनीहरुले प्रविधिमा गरेको चमत्कार देखेर बाउ-साङ्गलो जिल पर्यो।

चेपेसाङ्गलाहरुको नेताले धेरै कुरा नगरी सीधा क्याल्कुलेटर थिचेर यन्त्रको यति पैसा भनेर देखायो। यता टोलीले सम्पूर्ण साङ्गलाहरुको संख्या र जम्मा लाग्ने रकमको हिसाब गर्यो। 
अर्को बिकल्प थिएन, टोलीले सबैको लागि त्यो यन्त्र किन्यो। समुदायका केहि साङ्गलाहरुले चेपेसाङ्गली बिहे गरेका थिए, उनीहरुले यन्त्रको बट्टामा भएका अक्षरको अर्थ लाए। त्यो, हाई-फ्रीक्वेन्सीमा प्रबाहित  ध्वनि तरंगहरुलाई फिल्टर गरेर श्रवणयोग्य ध्वनि-तरंग हरु मात्र प्रबाह हुन दिने यन्त्र रैछ। घर-मालिक इंजीनियरिंग पढेको मानिस हो भन्ने उसले पटक पटक घरमालिकनीले आफ्ना साथीहरुलाई भनेको बाउ-साङ्गलोले सुनेको थियो। यसपटक घरमालिकलेनै साङ्गला  पनि नमार्ने तर उनीहरुलाई भगाउने रणनीति अख्तियार गरेको साङ्गला  समुदायले ठहर गर्यो। तर यो रणनीति एकैरातमा बिफल पारीदिएकोमा साङ्गला  समुदायले दीपावली मनायो।

यो घटना पछि पनि घरमालिक प्रति उसको प्रेम र बिस्वास घटेन। झन यो यन्त्र ल्याएदेखी त मालिकबाट आफूहरुलाई कुनै खतरा छैन भन्नेमा पूरा साङ्गला  समुदाय विश्वस्त भयो। बाउ-साङ्गलोलाई मालिकप्रति कृतज्ञता ब्यक्त गर्न मन लाग्यो, तर गर्ने पो कसरी? नभन्दै एकदिन मौका आयो, मालिकनीले माकुराहरु देखेर कराईरहेकि उसले सुन्यो। मालिक्नीको आक्रोशमा हांसदै मालिकले भन्यो ‘घरमा माकुराले जालो लाउनु भनेको दरिद्रता लाग्नु हो’ मालिकको कुरा सुनिरहेको घरमा बस्ने अर्को मान्छे ले थप्यो: ‘हो दाई, जताततै ऋण नै ऋण छ, आएदेखि घरमा पैसा पठाउन सक्या होइन, माकुराले बुझेरै जालो लाएछन’। मालिक हांस्यो, मालिक्नीले त्यति वास्ता गरिन। तर बाउ-साङ्गलोको अनुहारमा मुस्कान दौड़ियो। उसको लागि यो सुवर्ण अवसर थ्यो, मालिकप्रति कृतज्ञता जनाउने।

त्यो बेलुकी साङ्गला समुदायको भेला बस्यो, उर्दी जारी गर्नै परेन, त्यो रात सम्पूर्ण साङ्गला समुदायले माकुराका झुण्डहरुमाथि धावा बोल्यो। घमासान युद्ध भयो, माकुराहरु सित हतियार पनि कम थियो, अनि साङ्गलाहरुसँगको यो युद्ध अप्रत्याशित थियो। बिचाराहरुले एक त तयारी नै गर्न पाएनन, अनि यो घरमा भर्खर बसाईं सरेको हुनाले भूगोलको ज्ञान नहुनुले पनि माकुराहरुको हार भयो। माकुराहरुको भागाभाग भयो। यो घटना पछि साङ्गलो समुदाय खुसी भयो। त्यो घट्नापछि बाउ-साङ्गलो चाही आफुहरुले गरेको योगदान मालिकले थाह पाए कि पाएनन भनेर उत्सुकतापूर्वक घरमा हुने हरेक वार्तालाप कान थापेर सुन्ने गर्थ्यो।नभन्दै आज दिउँसो घर-मालिक र उसका साथीहरु बीच भएको बार्तालापले गर्दा उसको खुसी ठेगानमा थिएन।

दिउँसो मालिकका अरु दुई साथीहरु घरमा आएका थिए, कुरै-कुरामा साङ्गलाको कुरा निस्किहाल्यो। बाउ-साङ्गलोले एन्टेनारुपी जुँगा ठाडा बनायो, ‘टिभीमा चित्र प्रस्ट पार्न  एन्टेना घुमाएर सिग्नल टिपेजस्तै’ आफ्ना जुँगा सुइँ-सुइँ दायाँ-बायाँ घुमायो, अनि कुरा सुन्न थाल्यो। दुईजना मध्ये, एकजना ठाडा कपाल भएकाले ‘दाई, साङ्गलाले सारै सताए, केहि उपाय छैन’? भनि सोध्यो। मालिकले जवाफ दियो: ‘छ नि, एउटा बिष पाइन्छ, उ त्यहाँ अफगानीको पसलमा’!, तर, औषधि प्रयोग नगर यार, साङ्गला मार्नु हुँदैन’, मालिकले अझै थप्यो ‘मसँग बिष अझै छ तर अब साङ्गला त नमार्ने यार ‘। कुरा सकिएको थिएन, ठाडा कपाल भएकाले तुरुन्त  भन्यो: ‘त्यसो भए त्यो बिष मलाई दिनुस दाई म लिएर मेरो घरमा हाल्छु’। तर, मालिकले प्रतिवाद गर्यो, हुँदैन म त दिन्न, बिचारा उनीहरु पनि हाम्रा परिवार हुन, उनीहरुलाई कसले खान दिन्छ? आफूहरु प्रति आश्रित प्राणीलाई मार्नु हुन्छ?’ मालिकको कुरा सुनेर, अर्को चिम्सा आँखा भएको साथी विस्मयमिश्रित हाँसो हांस्यो, तर ‘ह्या दाई, त्यस्तो पनि हुन्छ?’ भन्यो अनि मोबाइलमा मुख गाडिहाल्यो । मालिकले गफ लडायो, ‘हेर भाई, साङ्गलाको मन हुन्छ, उनीहरुका पनि छोरा-छोरी हुन्छन, आफ्नो जीवनभरी उनीहरु हामी सँग बसिराख्या हुन्छन, हामीले छोडेको, खसेको जुठो खाने त हुन, थोडै उनीहरुलाई अलग्गै खाना पकाउनु पर्ने हो र?’ मालिकले पारिस्थितिक प्रणालीका कुरा गर्यो, सम्पूर्ण खाद्यान्न उत्पादनमा माहुरीको भूमिकाको बयान गर्यो, थुप्रै उदाहरणहरु प्रस्तुत गर्यो। त्यसमाथि, साङ्गलाको कारणले माकुराहरु हराएको कुरा पनि मालिकले उनीहरुलाई बताईरहँदा बाउ-साङ्गलालाई खुसीले झन्डै हृदयघात भयो। मालिकका तर्क सुनेर ठाडा कपालवालाले सहमतिमा टाउको हल्लायो। मालिक दंग पर्यो, ‘त्यसो भए अब साङ्गला मार्ने हैन नि?’ मालिकले दुबैलाई सोध्यो, चिम्सा आँखावालाले मालिकका तर्कलाई हाँसोमा उडाउँदै, ‘ह्या दाई, तपाईं लास्ट गफाडी यार?’ भन्यो। तर, ठाडा कपालवाला चाहिँ गम्भीर मुखाकृतिका साथ मालिकका तर्कमा सहमत देखियो, यता बाउ-साङ्गलो निकै प्रफुल्ल थियो। अब, चाहिँ उ पुरै प्रष्ट भयो कि, मालिक मानिस नै होइन, उ या त देउता हुनुपर्छ या त पूर्व-जन्मको साङ्गलो हुनुपर्छ ।

कल्पनामा डुबीरहेको बाउ-साङ्गलो घरमा मच्चिएको  हल्लाले झसंग भयो, छोराहरु आएछन । किन, ढिलो आएको भनेर बाउ-साङ्गलोले छोराहरुलाई हप्कायो, तर मायालु पाराले मालिकले मालिक्नीलाई हप्काएझैँ। छोराहरु निकै व्यस्त बनेछन रातभरि, खानेकुराको ठुलै पोको तयार पारेर ल्याएका रैछन। हिजो राति निकै अबेरसम्म  गाइंगुइं र भजन किर्तन हो कि के हो चलेको थियो, मालिक-मालिक्नीले भान्सा सरसफाई गर्न नभ्याएर केहि भाँडा माँझ्न बाँकीनै राखेर सुत्न गएछन। साङ्गलाका दुई-भाई छोराहरुलाई दशैं आएछ, दालको भाँडोमा पौडी नै खेल्न भ्याएछ कान्छोले, पुरै पहेंलपुर भएर आएको रहेछ। छोराहरुलाई सकुशल भेट्दा बाउ-साङ्गलोको मुटुको गति बिस्तारै सामान्य हुदैं आयो। ‘डाँकाहरु’…..रातभरी तिमेरुको चिन्ताले सुतेको छैन’ भन्दै बाउ-साङ्गलोले यसो पिटुँला झैँ गर्यो। साङ्गलाका छोराहरु टाप कसे ! जेजसो भएपनि आज, बाउ-साङ्गलो निकै खुसी छ र मालिक प्रति निकै अनुगृहित पनि, आफूहरुको पनि महत्व मानिसले बुझिदिएकोमा, भलै एकजना नै किन नहोस !

-सुखलाल २५ मे, २०१९