अस्ट्रेलियामा संघर्षका कथाहरु ! “पेट्रोलपम्पको कथा”

“ल भाई! मेरो चिनेको भाईलाई भन्देको छु, फोन गर्छ होला, यदि गरेन भने मैले दिएको नम्बरमा मेसेज गर्नु” भनेर घरबेटी दाईले भने। “काम चाहिँ पेट्रोल पम्पमा कस्टमर सर्भीस हो, सकिहाल्छौ होला, तर अलिक टाढा छ, हिंडेर आधी घण्टा होला, तर बसमा त ५ मिनेट मात्र हो” भनेर दाईले भन्दै गर्दा भाउजुले शंका ब्यक्त गरिन: “के साँच्चि त्यो भाईले काम देला त? सबै शिफ्ट प्याकड़ होला, कसको शिफ्ट काटेर देला र”? तर दाई ढुक्क देखिए, “होईन, मैले भनेपछि दिन्छ, मैले आफैले आफ्नो शिफ्ट काटेर त्यसलाई दिएको हो, मेरो लागि त त्यसले यत्ति नगर्ला र”?

मैले दाईको सदाशयतालाई हृदय देखी नै नमन गरें, म ढुक्क भएँ। सन २०१५ को कुरो, अस्ट्रेलिया आईपुगेको एक हप्तापनि पुगेको थिएन। काम पाएमा घण्टाको त्यस्तै १६ हो कि १७ डलर थियो। आएको १ हप्तामैं काम शुरू गर्न सकियो भनें त, यूनिभर्सिटीको फि तिर्न सकिएला कि भनेर मनमनै गुन्दै, १ सेमेस्टरको जम्मा ‘फि’ लाई जम्मा हप्ताले भाग गरेर हप्तामा कमाउनै पर्ने रकम कति हुने रैछ भनेर मनमनै हिसाब गरें। विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टाको दरले हिसाब गर्दा पनि, फि तिर्न अझै ७-८ हजार अपुग देखियो, तैपनी म काम पाउने खुसीले पुलकित थिएँ।


बेलूकी सम्म कुरें, कुनै फोन आएन। काम पाउने शतप्रतिशत पक्का भएकाले गमट्री (काम खोज्न प्रयोग हुने वेबसाइट/एप) हेर्न पनि छोडिसकेको थिएँ। काम पछिको अर्को मुख्य कुरा भनेेको रूम थियो। म त कामको सट्टामा रूम खोजिरहेको थिएँ ।

मनमनै रमाईरहेको थिएँ, काम पाउन गारहो हुन्छ भंथे तर खै! मलाई त धेरै कुरनुनै परेन भनेर मक्ख थिएँ। बेलूकीतिर सिडनीमा यसो भर्खरै चिनजान भएका अर्का एक दाईलाई मैले काम पाएको भनेर सुनाएँ। दाई खुसी भएर बधाई देलान सोचेको त दाईको भावभंगिमा हठात परिवर्तन पो देखियो, साउतीको स्वरमा उनले हप्काए: “कहाँ भाई, यसरी काम पाएको क़ुरा अरुलाई सुनाउनु हुन्न नि, यहाँ त अरूले तपाईले काम पाएको सुने पछि “काम नपावोस” भनेर प्रार्थना पो गर्न सक्छन भाई”! म त छक्क परें, छक्क भन्दापनि मलाई त निकै डर लाग्यो, एकैचोटी मेरो पढ़ाई को १ सेमेस्टर को फि १५,८०० धरापमा परे जस्तो लाग्यो।

तैपनी यस्ता बकम्फुसे र अन्धविश्वासका क़ुरा देखी डराउँदीन भनेर मन दरिलो बनाएँ। दाईले अझै सोधे, “भाई तपाईंलाई कामको कुरो गर्दा अरु कोही पनि नजिक थियो कि एक्लै हुनुहुन्थ्यो?” मैले संकेत बुझिसकेको थिएँ, त्यसैले कोही थिएनन दाई भनेर भनें।

बिहान भयो, कुनै फोन आएन, ठुलो आशाका साथ, घरबेटी दाईले दिएको नम्बरमा मेसेज गरें, अँग्रेजीमा! नम्बर दिनेको नाम र काम दिलाइदिन अनुनय सहित!
भोलिपल्ट बिहान भयो, मेसेजको रिप्लाई आयो, “हाललाई काम नभएको” बेहोरा सहितको ! मलाई १५,८०० भोल्टको झड़का लाग्यो, करेन्टको झड़काले मान्छे ढलाउँछ तर यो झड़काले मलाई दर्होग़री उभ्यायो। अस्ट्रेलियाका संघर्षका कथाहरु मध्ये यो पहिलो झड़का थियो, जसले पछि खानुपर्ने अनेकौं हन्डरहरुका निम्ति ऊर्जा दिएको थियो।

अन्त्यमा, यस्ता थुप्रै कथाहरुको भुक्तभोगी भइसकेपछि आज पनि म रनभुल्लमा छु कि “के सांच्ची नै ति घरबेटी दाईले पेट्रोलपम्प को म्यानेजरलाई मेरो निम्ति काम भनिदिएका थिए त?” या त केवल औपचारिकता मात्र पूरा गरेका थिए, जुन अक्सर यहाँ हुने गर्छ। वा कतै अर्का दाई ले भनेझैँ भित्ताका पनि कान थिए, जसले मेरो काम चोरे!

अब त यस्ता क़ुरा नयाँ लाग्दैनन यहाँ !

अस्तु !!

-सुखलाल

१३ सेप्टेम्बर २०२१

Leave a comment