साना, चिम्सा आँखाले पुरै हेर्न खोज्दा हुन शायद, तर सकस जति जम्मै उसको निधारलाई परेको देखिन्थ्यो। जतिखेर पनि आँखिभौ उचाली-उचाली हेर्नु पर्दा उसको निधार जहिले पनि मुजा परेको हुन्थ्यो। अनुहारलाई सामान्य बनाउननै यत्रो घमासान परेकोले होला उसको रूपनै झोंकी देखिन्थ्यो। कटांसे बजारको टुप्पोमा रहेको पुलको आडैमा उनीहरुको होटल थियो। कहिलेकाँही आकल-झुक्कल देखा-देख हुनुबाहेक उसङ्ग म बजारको बिचतिरको केटोको खासै दोस्ती थिएन। नियमित खेलिने फुटबलमा उसको रूचि थिएन। कहिलेकाँही खेलीहाल्यो भने पनि उसलाई आँखा खोलनै गाह्रो देखिन्थ्यो, खेल्नु त परै जावोस ।
यो निकै पहिलेको कुरा हो, त्यतिबेला कटांसे बजार अझै प्रौढ़ावस्थामा पुगीसकेको थिएन, डूंडेझरि बाट कटांसे जोड्ने ग्रावेल बाटो बनेकै थिएन, कटांसेको नयाँ फिल्महल बनेकै थिएन, गोरे मामाले ‘गोबिन्द आर्ट’ भन्ने साइन ठोकेर उसको होटेलमा ‘जितु होटेल’ नामको साइनबोर्ड झुंडयाएकै थिएनन। बुद्दिसागरको नाम रेडियोमा आउन सुरूनै भाको थिएन। हाम्री बैनी जन्मेकी थिइन, र त्यो कति साल थ्यो, अहिले याद भएन। तर मुख्य कुरा, एकदिन हाम्रो घर मा साईकल आयो, र यो त्यतिबेलाको कुरा हो, मैले साईकल चलाउन सिकिसकेको थिइन, सिक्ने उमेर आइसकेको थियो।
कटांसेको माथिल्लो पुल भन्दा अगाडि केहि झुप्रा होटलहरु पछि केहि कटेराहरु थिए अनि त्यसभन्दा उता चौर थियो, र स्कूल सकेपछि म साईकल लिएर त्यहिं जान्थें। किनकी त्यहाँ जाँदा चिनेका मान्छे भेटिने सम्भावना कम थियो। नत्र, चिनारुहरुले साईकल सिकाउने बहानामा आफु मात्र चलाउने अनि मेरो काम पछाडि कैरियरमा बस्ने मात्र हुने भएकाले, साईकल चाँडो सिक्नकै निमित्त पनि मैले यो चौर रोजेको थिएँ।
सुरुमा, एक्लै साईकल सिक्न निकै गाह्रो हुन्छ। मलाई शूरुमा कसैले थामिदिएर धकेलीदिएपछि, नरोकियून्जेल सम्म एकोहोरो चलाउन सकथें। तर, एकपटक रोकेर ओर्लीसकेपछि पुनः चलाउन मलाई मान्छे चाहिन्थ्यो। एकदिन, त्यो चौरमा मलाई त्यही समस्या आइपर्यो, साईकल स्टार्ट गर्नै सकीन, मूढोको छेउमा लगेर, चलाउन खोज्दा पनि सकिन। अनेक उपाय गरिरहेकै थिएँ, अचानक उ प्रकट भयो। मलाई संशय उत्पन्न हुँदै थियो, हेर्दै झोंकी देखिने, बेग्लै लवज मा ठाडो बोली भएको उ, मलाई नम्र बोल्दै मदत गर्न आयो। उसले, त्यसपछि कतिपटक साईकल थामिदियो, पर सम्म धकेली दियो, झमक्क सांझ नहुंजेलसम्म पनि उसले मलाई साईकल सिक्नमा मदत गरीरह्यो तापनि उसले आफुलाई साईकल चलाउन मागेन। त्यसकारणले पनि मलाई उ राम्रो मान्छे लाग्यो।
दोस्ती बढ्दै गयो, उ आफुले साईकल सिक्दाका पीड़ा सुनाउँथ्यो,२४ इंचको साईकलको कैंचीबाट सिकेर डंडीबाट चलाउंदा लडेर घुंड़ामा बसेको खत देखाउंदा, उसलाई निकै बहादुरी गरेझैँ लाग्थ्यो। उसको कुरा गर्ने तरीका र लवजनै खतरा थियो। उ नियमित जसो बेलुकी मलाई साईकल सिकाउन आउँथ्यो, अब त म आफैं पनि उसलाई आफ्नो साईकल चलाउन दिन्थें। मेरो २० इंचको नयाँ लेडीज साईकल उ निकै होशियारी साथ चलाउँथ्यो। न त उ एउटै कक्षाको थियो, न त उसको घर मेरो नजिकै थियो, त्यहीपनि निकै छिटो उ मेरो दोस्त बनिसकेको थियो।
एकदिन, उसले मलाई दाउरा लिन वन जाम भनी प्रस्ताव राख्यो, मैले जसोतसो मम्मी लाई मनाएँ। यतिंजेल, उसँग मेरो दोस्ती खूब गजबले जमीसकेको थियो, तसर्थ म पनि सहजै उ सँग वनतिर लागें। अलिक बेर पछि उसकै सहपाठी, उसको होटेलभन्दा अलिक तल अर्को होटेल (नाम बिंर्से) भाको विष्णु भन्ने केटो अनि अरु २ जना केटिहरु भेट भए। विष्णुसंग त कहिलेकाँही फुटबल खेल्दा भेट हुने भएकाले घनिष्ट त होईन, तर अपरिचित चाही थिएन।
बिष्णु र ति केटिहरु दाउरा बटुली रहेका थिए, उनीहरु आफ्नै धुनमा थिए, तर मेरो साथी आएको जितुको ध्याउन्न चाहिँ दाउरा खोज्नमा भन्दा बिष्णुसँग निहुँ खोज्नेमा जान थाल्यो। मैले कुरा बुझिन, उनीहरु सबै एकै ठाउँमा घर भएका, खेल्दाखेरी के के भएका, नानाथरी कुरा निकालेर बाझ्न थाले। जितुले बिष्णुलाई कुटुंलाझै गर्न थाल्यो, बिष्णु अलिक कमजोर झैँ थियो, उसले भिड़ने आँट गरेन, रूँलाझै गर्यो, यो देखेर बिष्णुसँग आएका २ टी केटि मध्य एउटीले जितुलाई गाली गरी। यसपछि त झन अचम्म भयो, जितु त उसंग पो निकै आक्रामक देखियो, उनीहरु निकै चर्को तरीकाले बाझन थाले। मैले जितुको यो रूप देखेको थिइन, मलाई डर लाग्यो। झगड़ाले चरम रूप लियो, जितुले त्यो केटीलाई मुख छाड्यो, बिष्णु र म हेर्या हेर्यै भयौ। बरु, अर्की केटिले आफ्नी साथीलाई थामि। बिष्णु त पहिले नै रोइसकेको थियो, त्यो केटि पनि रोई, झगड़ा सकियो। हामी सबै जना सँगै फर्कियौ, बिच बिचमा उनीहरु फेरी बाझ्थे, फेरी चुप लाग्थे। झगड़ा हुनुभन्दा अघिनै उनीहरुले आवश्यक दाउरा बटुलीसकेका थिए, जितू को उद्देश्यनै अर्कै रैछ, मैले पनि दुईटा लट्ठी जस्ता दाउरा खोजेको थिएँ, तिनैलाई बाटोभरी कोर्दै ल्याएं।
बजार आयो, मलाई ति दुईटा लट्ठीजस्ता दाउरा घर लिन मन लागेन, पुल नपुग्दै वरै फालीदिएँ। दिउँसोको घटना मनमा आइरहयो, केटाले केटिलाई मुख छाडेर गाली गरेको कुराले अचम्म लागिरह्यो। केटि राम्री थी, जितु उसलाई मन पराउँदो रैछ, तर केटिको बिष्णुसँगको दोस्ती जितुलाई मन परेको रहेनछ, बिष्णु र म त केवल रमिते थियौं।
साईकल पनि सिकिसकेको थिएँ, दाउरा अनि जितुसँगको दोस्ती दुबै घर पुगेनन।
साईकल पनि सिकिसकेको थिएँ, दाउरा अनि जितुसँगको दोस्ती दुबै घर पुगेनन। दोस्ती सकियो, तर यो कुरा कसैलाई भनिन। बिष्णु र जितु धेरै पछिसम्म नबोलेको कुरा याद गरेको थिएँ।
कटांसे बजार रित्तियो, तैपनि माथिल्लो पुलको आड़ मा रहेको जितु होटेल रही रह्यो। बच्चाका कुरा बच्चा मै सकिए। धेरै पछि, जितु फेरी दृश्यमा आयो, उ ‘कमरेड’ भएछ। भूमिगत अवस्थाको जितुको साननै छूटै भएछ, कता-कता माइकिंग पनि गर्दै हिडेछ, भनेपछि केटोले ज्यान हत्केलामा राखेछ भन्ने भयो। एकदिन, त्यही बनको बाटो साईकलमा कटांसे आउँदै थिएँ, राजमार्ग छेउ बनमा एक जत्था सेना बसिरहेको देखेँ, म आफ्नै सुरमा बाटो लागें, अलिक तल पुगेपछि उताबाट जितु साईकलमा आउँदै गरेको देखें। साईकलको गति अलिक कम गरें, अनि उसले सुन्ने गरी, ‘माथि सेना बसी राछ’ भनें, उसले कुनै प्रतिक्रिया दिएन, सुन्यो की सुनेन, मलाई थकथक लाग्यो।
केहि पर पुगेर सोचें, होईन उसलाई फर्काउनै पर्छ, पछाडि फर्केर हेरें, उ साईकल रोक्दै रैछ, फर्केर हेरीरहें, उसले साईकल फर्कायो, मेरो कुरा सुनेछ। मन ढुक्क भयो, उसलाई पर्खिन, म आफ्नो बाटो लागें। केहि समय पछि त गणतंत्र नै आईहाल्यो। तर आज अचानक, त्यो कसैलाई नभनेको बाल्यकालको घटना याद आयो।