घोड़चढि अर्थात घोडाको सवारीको बारेमा प्राय: सबैलाई थाह नै होला! घोडा अनि घोडा चढ्ने कलाको बारेमा शायद थुप्रै पटक लेखिएका पनि छन। प्राय: सबैले आफ्नो जीवनकालमा घोडा नचढेपनि घोडचढी कला नितान्त नौलो कुरा होईन। तर, समयक्रमसंगै अब राँगो/भैँसीका पनि दिन आएका छन।
घोडा चढ़ने सरकारहरुका दिन गएसंगै एकाएक भैँसीको महत्व बढेर गएको छ। कुरोको चुरो के हो भने केहि समय पहिले हाम्रा सम्माननीय राष्ट्रपति डा. रामवरण महोदयले कुनै प्रसङ्गमा आफु आफ्नो बाल्यकालमा भैंसी चराउने र राँगा/भैंसी चढेर हुर्केको कुरा बताउनु भयो। त्यसैगरि केहि समय पहिले हाम्रा कम्युनिष्ट प्रधानमन्त्रीज्यूले पनि कता-कता भैंसी पुजा गरेको समेत सुन्नमा आयो। सो क्रममा मलाई के लाग्यो भने अब राँगो वा भैंसीको त निकै महत्व बढेको छ। राष्ट्राध्यक्षलेनै भनिसके पछि त मलाई त कस्तो लाग्यो भन्दाखेरि, पहिले राजा महाराजाले घोडा चढ़न तालीम लिनु पर्थ्यो भने अब राजा(राष्ट्रपति) बन्न भैँसी/राँगो चढ़न जानेको हुनुपर्ने अनिवार्य पो भएको हो कि? देशका ठुला-ठुला व्यक्तित्वहरुसँग जोडीई सकेपछि त मलाई पनि राँगा/भैंसी सम्बन्धि केहि लेखुं-लेखुं लागेर आयो, अझ आफुसँग पनि सानोमा राँगा चराएको अनि राँगा चढ्दै दाइँ गरेको अनि राँगाको सिङ्ग समातेर नदिमा राइड गरेको जस्ता रोचक अनुभव भएको हुनाले सर्वप्रथम त राँगानै कसरी चढ्ने वा राँगा चढ्ने कला सम्बन्धि लेख्न मन लाग्यो।

सर्वप्रथम त, सबैले भैँसी/राँगो चढ़न पनि नपाउने, तर यदि यदाकदा अवसर पाईहालेमा पनि राँगोचढि कलाको अभावमा दुर्घटना भई नाकमुख ध्वस्त भएर सपाट समेत हुनसक्ने र भएका भैँसी/राँगा जति सप्पै मो:मो: बन्न थालेकाले, भविष्यमा भैँसी/राँगाहरुसंगै यो कला पनि लोप हुने खतरा बढेकोले र भैँसी/राँगो चढ़ने कला सम्बन्धी कसैले पुस्तक नलेख्ने हुँदा यस सम्बन्धी आफ्नो थोरै अनुभव पोखिदिउँ जस्तो लाग्यो ।
सामान्यतया मेरो जन्मस्थलतिर मानिसहरु भैँसीको सवार गर्दैनन्, किनकि पहिलो कुरो त भैँसी स्त्रीजाती भएको हुनाले र अर्कोकुरा गाऊँ नजिकै बन-जङ्गल प्रसस्त छ भने प्राय:जसो भैंसीहरुलाई चराउन बनतिरनै पठाइने गरिन्छ। त्यसैले, सवारीको लागि भैंसी भन्दा राँगानै उपयुक्त हुन्छ। राँगा चढ्ने भन्दैमा जहिले पायो तहिले चढ्ने कुरा हुँदैन, बिशेष गरि दाईँ हाल्ने बेला अनि राँगाको खासै काम नभएको बेला खेतमा चराउँदा मात्र राँगोचढ़ीको अनुभव लिन सकिन्छ! राँगा सवारीको लागि ठाउँ, समय र परिस्थिति पनि महत्वपूर्ण हुन्छ, जस्तै: जङ्गलमा चरिरहँदा वरी-परि जवान भैंसीहरु छन् भने राँगाको सवार निकै खतरनाक हुनसक्छ, यस्तो अवस्थामा राँगाले आफ्नो ढाडमा को छ भन्ने कुराको वास्तै नगरी कुनैपनि बखत प्रजनन् प्रक्रिया आरम्भ गरिदिन सक्छ र ढाडमा सवार व्यक्ति मुख वा दाँतको भरमा जमिनमा बजारिन सक्छ।
यसैगरी, जंगलमा राँगो चरिरहेको बखत वरिपरी अरु कुनै राँगाहरु छन् कि छैनन भन्ने कुरा ख्याल नगरी राँगोचढ़ी को प्रयास गर्नु घातक पनि हुन सक्छ। किनकी जंगलमा कुनै पनि बखत दुश्मन राँगोसँग युद्द हुन सक्छ,अथवा कुनै कारणवश राँगोको मुड़ अचानक परिवर्तन भई स्वयं राँगो एक धावक मा परिवर्तन भईदिन सक्छ। त्यस्तोबेलामा सवारले चलाखिपूर्ण तरिकाले हाम फालिहाल्नु पर्छ नत्रता सवारको नाकमुखनै जमिनमा लोप हुन सक्छ ।
सवारको लागी उपयुक्त राँगो कसरी चिन्ने ?:
मुख्यतया: राँगा दुई प्रकारका हुन्छन:
- चालू-राँगो (एकदम काउकुती मान्ने खालको )
यस्तो किसिमको राँगो छुना-साथ उफ्रिने हुनाले यसको सवार गर्नु लगभग असंभवप्राय: नै हुन्छ, दाँई गर्दा बाहिरी परिधिमा रहने अनि छिटो-छिटो हिँड्नु पर्ने हुनाले पनि यो किसिमको राँगो, प्राय:दाहिने तिर जोतिन्छ। वास्तबमा, यो किसिमको राँगो स्ट्राइकरजस्तै हो, दुश्मनसँगको युद्धमा होस या जुवामा नार्दा होस, यो किसिमको राँगो सधैँ पहिलो हुन्छ, तर बलको कुरामा भने यो अर्को किसिमको राँगोभन्दा कमजोर हुन्छ ।
- गध्याह-राँगो (अल्छी,सुस्त तर बलियो)
यो किसिमको राँगो एकदम मजाको हुन्छ, र राँगोचढिको लागी पनि यही किसिमको राँगो उपयुक्त हुन्छ । गध्याह-राँगोले हतपत्ति दुश्मनसँग युद्ध गर्दैन तर आफ्नो जोड़ी चालू-राँगोले हार्ने अवस्था आएमा मात्र यो किसिमको राँगोले युद्धमा भाग लिन्छ। यो राँगो डिफेन्डर जस्तै हो, कतै गाडा फंस्यो वा गरुङ्गो सामान बोकिरहँदा चालू-राँगोले गाडा तान्न नसकेर थुचुक्क बस्यो भने अरुकै भएपनि गध्याह राँगोनै प्राथमिकतामा पर्दछ। यो राँगो अल्छी जरुर हुन्छ तर धैर्यवान हुन्छ, राँगोचढ़ी गर्दा पनि यसको मुड हत्पति बिग्रिदैन!
राँगा बाहेक चढ्न त गोरु पनि सकिन्छ तर केहि बिशेष अवसरमा मात्र जस्तै: जेठ महिनामा गाईहरुको पछि-पछि लागेर गोठ सम्मै आउने र धपाउन खोज्दा टेर-पुछार नलाउने गोरुहरुको औषधि भनेकै गोरु-सवार हो। त्यस्ता पागलप्रेमी गोरुहरुलाई अनेक प्रकारले जसोतसो बाटो छेक्दै, लखेट्दै नदिमा पस्न बाध्य बनाउने अनि आफु पनि नदिमा हाम्फालने अनि गोरु-सवार सुरु गर्ने। हुनत, गोरुको जातै पानी देख्यो की पुच्छर ठाडो पारेर उफ़्रने हो, तर नदीमा त सकेपो उफ्रोस, अनि त्यसका सिङ्गलाई स्टेयरिङ्ग बनायर टन्न OX-Ridingको आनन्द लिने। तर गोरु किनारमा पुग्नु भन्दा पहिलेनै साबधानीपुर्बक गोरुलाई छोड़ीदिने, नत्र गोरुले Back -Kick हान्नपायो भने नल्ठा (नलिखुट्टा) चूर पार्दीन सक्छ, र कथंकदाचित अगाडीबाट भेट्यो भने सिङ्गले भूँडिमा हानेर शहीद बनाई दिनसक्छ ! यसैगरि, सोहि प्रकारले नदिमा चाहिं चालु-राँगाको सवार पनि गर्नसकिन्छ ।
अस्तु !!
सुखलाल, मार्च २०१६, सिड्नी